site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विद्युतीय सवारीसाधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीँ खपत बढाउनका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली आयोजना गरेको छ ।

आफ्नो ३८औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारीसाधनको प्रयोग र प्रवर्द्धनका लागि जनचेतनामूलक र्‍याली गरेको हो ।

Argakhachi Cement Island Ad

प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कबाट सुरु भएको विद्युतीय सवारीसाधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चाबेल, महाराजगन्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी सम्पन्न भएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामग्री तथा सवारीसाधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने सरकारको नीति रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारीसाधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।

प्राधिकरणले विद्युत् खपत अझ बढाउन र विद्युतीय सवारीसाधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीतिअनुरूप देशका विभिन्न ठाउँमा १०० भन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् ।

चार्जिङ स्टेसनको महसुलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २०० केभीएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्