शरद प्रधान नेपाली पत्रकारिता र साहित्य सेवामा सक्रिय व्यक्तित्व हुन् । लामो समय काठमाण्डु पोेस्टमा काम गरेका प्रधानले पर्यटन बोर्डमा कार्यरत रहँदा विश्वका विभिन्न मुलुकका भ्रमण गरेका छन् ।
नेपाली साहित्यका विभिन्न वरिष्ठ व्यक्तित्वहरूको सामीप्यमा रही साहित्यको खोज तथा अन्वेषण गरेका प्रधानले भारतीय नेपाली साहित्यकारहरूको योगदानलाई समेटिएको पुस्तक ‘स्मृति बिम्ब’ प्रकाशनमा ल्याएका छन् ।
नेपाली भाषा–साहित्यमा कलम चलाउने व्यक्तित्व देशभित्र वा देशबाहिर कति छन् भनेर कसैले यकिनका साथ भन्न सकेका छैनन् । लाग्छ, सबैका बारेमा राज्यसँग आँकडा नै छैन ।
त्यसमाथि मोफसल वा प्रवासमा बसेर उनीहरूले नेपाली साहित्यमा गरेको योगदानको चर्चा नगन्य नै देखिन्छ । कतिपय साहित्यकारहरूका कृति समेत प्राप्य छैनन् । र, उनीहरूको योगदान के कस्तो छ भन्ने विषयमा न साहित्यका श्रीवृद्धिमा खुलेका संस्थाले खोज्छन् न लेखक संघ वा संगठनका आँखा पुगेका छन् ।
अझ विडम्बनाका कुरा त ती बाँचिरहँदा कसैले वास्ता गर्दैनन् । तर, मृत्युपछि तिनका गुनगान गाउन कोही पछि पर्दैनन् !
गजबको कुरो के छ भने बिरामी भएर अस्पतालमा उपचार गरिरहेको अवस्थामा परिवारसँग भलाकुसारी नै नगरी मृत घोषित गरिदिन्छन् र लाखौँ श्रद्धाञ्जली क्षणभरमै जम्मा भइदिन्छ ।
कथंकदाचित दूरदराजका लेखक वा साहित्यकार भेटे पनि केही आशा गरिहाल्लान् भनेर पदमा पुगेकाहरूमा पन्छाउने प्रवृत्ति देखिन्छ ।
यस्ता चिरपरिचतभन्दा पनि लोकप्रियताका आधारमा कसैले टापनटिपन गरेर केही लेखिएता पनि बृहत् रूपमा लेखेका देखिन्न । नेपाली साहित्यको इतिहास नेपाल र नेपालबाहिर भारतमा नलेखिएको होइन, तर ती पुस्तकहरूमा सीमित साहित्यकारहरू चर्चा–परिचर्चा मात्र भएको पाइन्छ र अरू केही साहित्यकारहरू पाद–टिप्पणी (फुटनोट)मा मात्र सीमित छन् ।
पाद–टिप्पणीमा पनि नअटाएका साहित्यकारहरूको फेहरिस्त निकै लामो छ । सबै साहित्यकारहरूको चर्चा नहुनुको मुख्य कारण हो, सम्बन्धित निकायहरूको उदासीनता र त्यी निकाय हाँक्ने व्यक्तिहरूले यस विषयमा कुनै चासो नदिनु । मात्र जागिरका लागि पुगेकाहरू समय कटाउने मात्र काम गर्छन् ।
केही पुराना साहित्यिक पत्रिकाहरू जस्तै– उदय, प्रभात, शारदा, भारती आदिका पाना पल्टाएर हेरे मात्रै थाहा हुन्छ, नेपाली साहित्यलाई विश्व साहित्यको स्तरमा उभ्याउन तथा सबैमाझ लोकप्रिय बनाउन कति साहित्यकारहरूले योगदान दिएका थिए । तर, उनीहरू अहिले गुमनाम छन्, नेपाली साहित्यका पानाहरूमा ।
भारतीय नेपाली साहित्यमा पनि गुमनाम हुनेहरूको संख्या बढ्दै गएको छ । भारतीय नेपाली साहित्यको इतिहास निकै पुरानो भए पनि केही नाम चलेको साहित्यकारहरूबाहेक अरूलाई बृहत् नेपाली साहित्यका पाठकले चिन्दैनन् ।
ती भारतीय नेपाली साहित्यकारहरूको लेख, रचना र कविताहरू पछिल्लो समयमा साझा प्रकाशन, नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित हुने कविता, निबन्ध, समालोचना र कथासंग्रहहरूमा कहीँ पाइँदैन । अझ कतिका कृतिको नाम समेत थाहा नपाइएका ज्वलन्त उदाहरण नै छ ।
ईश्वर बराल, भैरव अर्याल, चूडामणि बन्धु कृष्णचन्द्रसिंह प्रधानले सम्पादन गरेका झ्यालबाट, हिमालचुली, साझा निबन्ध, साझा कथा, साझा कविता, साझा समालोचनामा भारतीय नेपाली साहित्यकारहरूको लेखरचना र कविताहरूले यथेष्ट स्थान पाउन सके पनि त्यसपछिका संग्रहहरूमा उनीहरूको उपस्थिति शून्य प्रायः नै दखिन्छ ।
यसरी नेपाली साहित्यबाट भारतीय नेपाली साहित्य किनाराकृत हुँदा सिंगो नेपाली साहित्य नै अपांग भएको अनुभूति हुनु स्वाभाविक हो । कतिपय भारतीय साहित्यकारहरू भारतबाट प्रकाशित हुने संग्रहहरूमै अटाउन सकिरहेका छैनन् ।
उनीहरू विस्मृत भइरहेको विषय निकै चिन्ताजनक छ । यही विषयलाई मध्यनजर गर्दै साहित्यकार शरद प्रधानले भारतीय नेपाली साहित्यमा योगदान दिएका साहित्यकारहरूसँग भएको भेट र संवादलाई आधार मानेर ‘स्मृति बिम्ब’ नामक पुस्तक प्रकाशनमा ल्याएका छन् ।
कति साहित्यकारहरू बितिसकेका र दोस्रो पुस्तामा त्यसको कुनै विवरण सञ्चय नरहेकाले कतिका योगदानका बारेमा केही थाहा पाइएको छैन । अथक प्रयास गर्दा पनि साहित्यकारहरूको सामान्य जानकारी समेत पाइएको छैन ।
कुनै समय नाम चलेका साहित्यकारहरू पनि अहिले ओझेलमा परिरहेका छन् भन्ने देखिन्छ । उनीहरूको जीवनी कृतिहरू उपलब्ध भए आगामी दिनमा तिनका बारेमा कसैले लेख्नेछन्, खोज्नेछन् भन्ने आशा राख्न सकिन्छ । यसका लागि सम्बन्धित निकाय, संस्था, प्रबुद्ध पाठक, समालोचक तथा साहित्यानुरागीहरूले प्रयत्न गर्नेछन् भन्ने विश्वास रहेको छ ।
यस पुस्तक स्मृति बिम्बमा समेटिएका साहित्यकारहरूका यी लेखहरू नेपाली साहित्यका सामान्य पाठकहरूको निम्ति हो । यो कुनै साहित्यकारहरूको पूर्ण जीवनी होइन । यहाँ लेखिएका लेख समीक्षात्मक जीवनी मात्र हो ।
ओझेलमा परेका केहीलाई कसैले नसम्झेका वा धेरै विस्मृतमा परेका साहित्यकारहरूलाई यस पुस्तकमा शरद प्रधानले समेटेका छन् । समेटिएका ४२ जनामा – स्वर्णिम औ नयाँ गवैया: सन्की कवि–चित्रकारको गुप्त गाथा, कलम र कुचीमा बाङ्देलको उचाइ र गहिराइ, आइबी दाजु र कुमार दाजुले मलाई हेप्नुहुन्छ, साहित्यकार मान्नु हुन्न, इन्द्रबहादुर राईको तेस्रो लीला, कुमार प्रधान: अब्बल इतिहासकार, सशक्त लेख, प्रतिभाशाली पक्षी अस्थिर राजको दार्जीलिङ नेपाल उडान, प्रकाश कोविद: जसले किताब छरेर आँसु बटुले, जगत् छेत्री: साहित्य र शिक्षाका अमूल्य सेतु, एम.एम. गुरूङ: बिर्सिएको संस्कृतिलाई मूलधारमा ल्याउने स्रष्टा शीर्षकमा रहेका सर्जक सम्झिने काम भएको छ ।
त्यस्तै, रामकृष्ण शर्मा: कडा समालोचक, नरम कवि, तुलसीबहादुर छेत्री: नेपाली साहित्यका कर्मठ तपस्वी, अगमसिंह तामाङ ‘अपतन’: सिक्किमे नेपाली साहित्यका सशक्त हस्ताक्षर, अगमसिंह गिरी: नेपाली कविताका शिखर पुरुष, अच्छा राई रसिक: कलिलो उमेरमा अवसान भएका किनाराकृत स्रष्टा, इन्द्र सुन्दास: उपन्यासमा आञ्चलिकताको प्रयोक्ता, ओकिउयमा ग्वाइन: नेपाली साहित्य अनेपाली लेखक, कमला सांकृत्यायन: साधारण जीवन, असाधारण विदुषी, कवितामा बाँचेका कवि खड्गसिंह राई ‘काँढा’, गुमानसिंह चामलिङ: उम्दा कवि, बहु–आयामिक समालोचक, नेपाली साहित्यजगत्ले बिर्सिएका दुई जगत् राई, जी छिरींग: धेरै लेखे कमैले सम्झे, जीवन थिङ: सशक्त कविको असामयिक अवसान, नरेन्द्रप्रसाद कुमाई: अल्पायुमा अस्ताएका सशक्त कवि, विस्मृतिमा कवि–गीतकार नरदेन रूम्बा, प्रेम शेर्पा बिरोकी विस्मृतमा परेका सशक्त कवि, बद्रीनारायण प्रधान: प्रखर माक्र्सवादी चिन्तक–लेखक, महानन्द पौड्याल: बिर्सिएकालाई सम्झने साहित्यकार, रामलाल अधिकारी: निबन्धका शिखर पुरुष, लक्खीदेवी सुन्दास: सबल कवि, अब्बल समालोचक, विनीता सिंह: कवितामै बाँचेका कवि शीर्षकमा जीवनवृत्ति रहेको छ ।
साथै, विकास गोतामे: जुझारू कविको असामयिक अवसान, वीरविक्रम गुरूङ: मूलधारमा नआएका सशक्त साहित्यकार, शरद छेत्री: अप्रतिम साहित्य साधक, हरिप्रसाद गोर्खा राई: नेपाली भाषीले बिर्सन नहुने बहुभाषी साहित्य, हरिभक्त कटुवाल: सन्दिग्धकालको जरासन्ध, सानुमती राई: प्रथम प्रहरका प्रखर कवियत्री, देवकुमारी थापा: सशक्त नारी हस्ताक्षर, बहुआयामिक व्यक्तित्वको धनी पारसमणि प्रधान, राधिका राया: नेपाली साहित्यले बिर्सिएको सशक्त नारी हस्ताक्षर, शिवकुमार राई: व्यक्ति एक, व्यक्तित्व अनेक, पारिजातका प्रेमी धनुवरदेखि उनले जलाएका चार उपन्याससम्म, रूपनारायण सिंह: आधुनिक नेपाली उपन्यासका जनक स्मृतिका विविध पक्षको चित्रण गरिएको छ ।
भारतको भूमिमा बसेर नेपाली साहित्यको अतुलनीय सेवा गरेका विशष्ट व्यक्तित्वहरूको चित्रण गरिएकाले यो पुस्तक अध्येताहरूका लागि निकै उपयोगी छ ।
४२ जना स्रष्टा र सुनौलो पर्वतको सुन्दर आवरणमा सजिएको ३०० पृष्ठको यस पुस्तकलाई साहित्यपोस्टले प्रकाशन गरेको छ । पुस्तक भारतीय नेपाली साहित्यको एक महत्त्वपूर्ण पठनीय र संग्रहणीय कृतिको रूपमा रहेको छ ।