प्रिय दुःख, तिमी आफैँ दुःखित छौ
एक्लो छौ
न मान्छे न देवता सब टाढै बस्छन् तिमीबाट
अचेल दु – बाट दुनियाँ मात्र पढ़ाइन्छ
अनि, सु – बाट सुख मात्र सिकाइन्छ
पृथ्वीको खुला पाठशालामा
तिमी मात्र बदनाम छौ
भन्छन्– तिम्रो छाया कालो, स्वाद तितो, स्पर्श तेजाबी,
दृश्य उजाड, आवाज रोदन, प्रकृति ऐँठन आदि इत्यादि
खै, कसले बुझ्छ र तिमीलाई !
मसँग तिम्रो नाता जन्मकै हो
प्राणपखेरु पलाउँदादेखिकै हो
मेरो सासमा, पाइलामा, यात्रामा अनि जीवनमा
तिमी नै छौ
तिमी सर्वत्र सर्वज्ञ
त्यसैले त मेरो जीवन जीवनजस्तो छ
म मजस्तो छु ।
म चट्टानजस्तो बलियो सपना देख्छु
तिमी निर्दयी बनेर फोर्छौ
म जोड्छु
तिमी टुक्र्याउँछौ
म टुक्राटुक्रा नै जोड्छु
तिमी धुलो पार्छौ
म फेरि धुलो मुछेर चट्टान बनाउँछु
तिमी धुलोको चट्टान फोर्न सक्दैनौ
र त मेरो सपना अमर हुन्छ
म तिमीलाइ जित्छु
तिमी मलाई जित्न सिकाउँछौ
तिमी असफल, म सफल ।
म यात्रा जारी राख्छु
तिमी मेरो बाटोमा बढेमाको ढुंगो बन्छौ
म तिमीलाई ठेलीठेली तारेभीर चढाउँछु
तिमी खस्छौ, म चढाउँछु
फेरि खस्छौ, फेरि उकाल्छु
त्यसैले त म उकालीपछि ओराली बुझ्छु
अनि, आरोहपछिको अवरोह ।
यात्रामा तिमीले मलाई एक्लो कहिले छोड्यौ र !
भुमरी बनेर बेर्छौ
चक्रवात बनेर घुमाउँछौ
फिरफिरेझैँ फनफनी नचाउँछौ
त्यसैले त म जीवनको नाच घुमीघुमी नाच्न सक्छु
जीवनचक्र बुझ्न सक्छु
नढलीकन
म घुमिरहेको देखेर तिमी सनेसो बनेर च्याप्छौ
तिमीले एकचोटि च्याप्दा म दुईचोटि फुत्कने सामर्थ्य राख्छु
तिमी दुई म चार, तिमी चार म आठ
अनि त म जीवनको गणित बुझ्छु
नपढीकन ।
तर, अचेल तिमीलाई पढ्न छाडे
गाउन छाडे
तिमीसँग बोल्न छाडे
तर, म तिमीलाई साथ दिन्छु
अन्तिम घडीसम्म
म हाँसीहाँसी आँखा चिम्लिन चाहन्छु
प्रिय दुःख,
तिम्रो साथले मलाई मृत्युकला पनि सिकाओस्
यही कामना ।