site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
छलछामको गुजुल्टो अर्थात् सत्ता

“ओहो ! कस्तो जेलिएको जाल हामी बुन्छौँ जब पहिलोपटक धोखा दिने प्रयत्न गर्छौँ” - सर वाल्टर स्कट

बजेट अधिवेशनको पहिलो दिन नै संसद् चल्न पाएन । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको छानबिनका लागि संसदीय समिति गठनको मागमा विपक्षी दल नेपाली कांग्रेसले अघिल्लो अधिवेशनका बैठकहरू पनि चल्न दिएको थिएन । यस अधिवेशनमा त झन् सत्ताबाहिर रहेका अरू दल पनि संसदीय समितिको मागमा सामेल हुन पुगेका छन् । विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहकारी ठगीका विरुद्ध बढी मुखर भएको छ । आफ्नै दलकी सांसद मुछिएको मुद्दामा समेत निष्पक्ष छानबिनको माग गरेर गृहमन्त्री लामिछानेलाई चुनौती दिएको राप्रपा प्रतिनिधि सभामा पनि आक्रामक शैलीमा प्रस्तुत भएको देखियो । 

त्यसो त सत्तारुढ गठबन्धनमा पनि कार्यकर्ता तहमा रवि लामिछानेका लागि काँध थाप्नु महँगो पर्ने डर बढ्दै गएको देखिन्छ । जनमानसमा बिस्तारै सत्तारुढ सबै दलका नेता सहकारी ठगीमा संलग्न त छैनन् भन्ने सन्देह बढ्दै गएको छ । स्थानीय तहका र जनतासँग प्रत्यक्ष सम्बन्ध भएका नेताहरूले जनताको यो आवाज सुनेको हुनुपर्छ । यसैले उनीहरू क्रमशः सहकारी ठगीको संसदीय छानबिन हुन दिनुपर्छ भन्न थालेका छन् । नेतृत्वको दोस्रो वा तेस्रो तहले लामिछानेको भारी गह्रुंगो हुँदैगएको थाहा पाएजस्तो छ । यसैले उनीहरूले बिस्तारै सहकारी ठगीको छानबिन हुनुपर्छ भन्न थालेका छन् ।

KFC Island Ad
NIC Asia

भै गो त, समिति पनि बनाऊ बोल्न पनि देऊ !

गृहमन्त्री रवि लामिछाने स्वयंले पनि आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सहकारी ठगीको छानबिन गर्न समिति गठन गरे हुन्छ भनेको समाचार सार्वजनिक भएको छ । आफूलाई संसद्मा बोल्न दिए समिति गठन गर्दा आपत्ति नहुने उनको धारणा हो भने सम्भवतः छिटै नै यो मामिला टुंगो लाग्ला । पहिले समिति गठन गर्ने कि लामिछानेलाई बोल्न दिने भन्ने विवाद  झिकेर ‘फुल पहिले कि चल्ला’ भने झैँ त नगर्लान् नि सत्ता र विपक्षका नेताले ! यसलाई दुवै पक्षले प्रतिष्ठाको प्रश्न नबनाई सल्लाहमै सल्टाए संसद् पनि चल्नेछ र सरकारका महत्त्वपूर्ण कामकारबाही पनि रोकिनेछैन । 

Royal Enfield Island Ad

किन उतर्सिए ओली ?

सहकारी ठगीका मामिलामा निसानामा रवि लामिछाने परे पनि छानबिन समिति गठन नगर्ने पक्षमा मूलतः नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली अग्रपङ्क्तिमा उभिएका छन् । त्यसो त अहिलेको सरकार पनि उनैले चलाउँछन् भन्छन् सत्तासँग नजिक भएकाहरू ।

सहकारी ठगीको जाँचका लागि एमाले अध्यक्ष किन तयार भएनन् त ? सहकारी संस्थाहरूमा एमाले नेता कार्यकर्ताको संलग्नता अरू दलका सदस्यको भन्दा निकै धेरै रहेको मानिन्छ । वित्तीय संस्था घोटालामा एमाले नेता कार्यकर्ताको संलग्नता एलसी काण्डभन्दा पनि पहिलेदेखिकै हो ।

अहिले पनि निष्पक्ष जाँच भए अपेक्षाकृत एमालेका नेता कार्यकर्ता नै संलग्न भेटिन सक्छन् । त्यसो त अरू दलका नेता कार्यकर्ता पनि पक्कै चोखा छैनन् । साँच्चै निष्पक्ष छानबिन भयो भने रास्वपाका अनुपातमा अरू दलकै नेता कार्यकर्ता धेरै कारबाहीको दायरामा पर्नेछन् । 

पत्याइहाल्न अलि गाह्रो !

नेपाली कांग्रेसले सहकारी ठगीमा छानबिन गर्नुपर्ने मागमा देखाएको अडानलाई जनताले सराहना नै गरेका छन् । सत्ता वा अरू कुनै सौदाबाजीमा सहकारी ठगी छानबिनको मामिला बेवारेस नहोस् । तर, सत्ताका लागि सिद्धान्तसँग त सम्झौता गर्न नहिचकिचाउने शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले लामो समयसम्म अडान लेला भनेर पत्याइहाल्न भने सकिँदैन ।

नेपाली कांग्रेसलगायत अहिले सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको छानबिनको माग गर्ने विपक्षी नेताहरू देश र जनताप्रति गम्भीर पनि होलान् भनेर विश्वास गर्ने आधार  छैन । अन्ततः ठगिएका जनताले भाग्यलाई सरापेर चित्त बुझाउन बाध्य हुने जोखिम नै बढी देखिन्छ ।


किन हुँदैन संसद्मा ‘कुकुल्यान्ड’ र ‘सुनवाला पुनहरू’को चर्चा ?

नेपालका राजनीतिक नेताहरू देश र जनताप्रति इमानदार हुन्थे भने सहकारी ठगीमा जस्तै प्रश्न बेलायती लेखक पत्रकार टम बर्गिसको पुस्तक ‘कुकुल्यान्ड : ह्वेर द रिच ओन द ट्रुथ’ले उजागर गरेको नेपालसँग सम्बन्धित अध्याय ७ को ‘मिस्टर एक्सवाई’ मा वर्णन गरिएको विषय पनि उठ्थ्यो होला । यसैगरी ‘सुनसँग जोडिएका पुन’हरूका विषयमा पनि कांग्रेसहरू बोल्थे होलान् । विपक्षी सांसदहरू कसैले पनि कुकुल्यान्डको चर्चै नसुनेका र त्यसको नायक को हो भन्ने नबुझेका पक्कै होइन होला नि !   

पाकिस्तानी ठगीको कथा 

पहिलो जनआन्दोलनपछिकै कुरा हो । म राष्ट्रिय जनसङ्ख्या आयोगमा काम गर्थेँ । जनसङ्ख्या सूचना, शिक्षा तथा सञ्चार विषयमा एउटा दक्षिण एसियाली गोष्ठी हुनेभयो संयुक्त राष्ट्र जनसङ्ख्या कार्यक्रम (युएनएफपीए) नेपालको आयोजनामा । नेपालको तर्फबाट म पनि सहभागी थिएँ । पाकिस्तानमा बेनजिर भुट्टोको सरकार थियो । 

नेपालमा आर्थिक उदारीकरणको चर्चा बढी नै हुन्थ्यो त्यतिबेला । आर्थिक उदारीकरणलाई ‘रामवाण’ नै शासकहरू देशको अर्थतन्त्रमा सुधारका लागि । पाकिस्तानी सहकर्मी सिन्धी थिए भन्ने सम्झन्छु उनको नाम बिर्सेँ । उनले भने आर्थिक उदारीकरण जनता ठग्ने अर्को औजार हुनसक्छ है भने । हामी धुलीखेल घुम्न गएका बेला उनीसँग सोधेँ - किन तिमीले उदारीकरणप्रति अविश्वास गरेको ? 

उनले भने - पाकिस्तानमा महबुब उल हक अर्थमन्त्री हुँदा सन् १९८५ मै आर्थिक उदारीकरण सुरु भयो । पहिले गरिएका सुधारमध्ये निजी क्षेत्रलाई वित्तीय संस्था खोल्न र बचत तथा ऋण परिचालन गर्न दिनु पनि थियो । पाकिस्तानको अर्थतन्त्र २२ वटा सामन्त परिवारको कब्जामा छ । तिनैले बैंक पनि खोले । जनतालाई बढी ब्याजको लोभ देखाएर बचत संकलन गरे । अनि परिवारकै उद्योग व्यापारमा ऋण लगानी गरे । लगानी गरिएका अधिकांश उद्योग व्यवसाय डुबेको प्रतिवेदन बनाए र टाट पल्टेको घोषणा गरे । ऋण डुब्यो । जनता ठगिए । नेपालमा पनि त्यस्तै होला है !

सहकारी ठगीको मामिलाले ती सिन्धी मित्रको कथन सम्झायो ।

र अन्त्यमा

‘तिलको पहाड’ अर्थात् डा. चिरञ्जीवी नेपालको अभिव्यक्ति  

भारतले नेपालको जमिन मिचेको छ । त्यसरी मिचिएको भूभागमा बन्दुक लिएर कब्जा गर्न जान नसके पनि हामीले आफ्नो दाबी छाड्न हुँदैन । तर, यसो भन्दैमा शासकहरूलाई अप्ठेरो पर्नेबित्तिकै जनताको ध्यान बर्गलाउन बेला न कुबेला त्यही जमिनको कुरा झिकेर भारतलाई जिस्क्याउनु भने मूर्खता हो । अहिले पनि त्यही मूर्खता गरिएको छ यो ‘चुचे नक्सा’ नोटमा छाप्ने प्रसङ्गमा । 

पञ्चायतकालमा पनि देशभित्र कुनै असन्तोष वा आन्दोलन देखिन थाल्यो भने शासकहरूको ‘राष्ट्रवाद’ एक्कासी जाग्थ्यो । कुनै बेला अहिलेको कालापानीजस्तै राष्ट्रवादको वायु सुस्तामा चड्थ्यो । सरकार र त्यसका मतियारहरू उग्र भारत विरोधी प्रचारवाजीमा लाग्थे । कसैले त्यसको सान्दर्भिकता र औचित्यमा प्रश्न उठायो भने उसलाई ‘अराष्ट्रिय तत्त्व’ को बिल्ला भिराइहाल्थे ।

चुच्चे नक्सा नोटमा छाप्नुको औचित्यका बारेमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले प्रश्न उठाउनेबित्तिकै पञ्चहरूले जस्तै तर्कहीन हप्कीदप्कीमा शासकहरू उत्रेका छन् । संयोगले डा. नेपाल राष्ट्रपतिका सल्लाहकार पनि रहेछन् । यसैले सत्तारुढ गठबन्धनका सूत्रधार खड्गप्रसाद ओलीले विवादमा राष्ट्रपतिलाई पनि तान्नेगरी रडाको मच्चाउने प्रयत्न गरेका हुनुपर्छ । 

अहिले नेपालको नोटमा चुच्चे नक्सा छाप्दा भारतलाई जिस्क्याउनेबाहेक अरू उपलब्धि केही हुने देखिँदैन । उता चुनावको बेला छ । यताका भन्दा उताका पनि दलगत फाइदाका लागि राष्ट्रहितलाई बेवास्ता गर्नमा कम छैनन् । नाकाबन्दीका नायक भारतीय विदेशमन्त्री एस. जयशङ्करको टिप्पणीमा गौर गर्ने हो भने यही नेपालका लागि प्रत्युत्पादक नै हुने जोखिम बढाएको छ । अब पशुपतिनाथले नै सबैको कल्याण गरून् !  

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro