site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
बाँचेर मात्र मर्नुपर्छ

बाँच्नुसम्म बाँच्नुपर्छ । मर्नु त छँदै नै छ । तर, बाँचेर मात्रै मर्नुपर्छ । मरेपछि पनि बाँच्ने किसिमले मर्नुपर्छ । वास्तवमा बाँच्नु भनेको बाँचुन्ज्यालसम्म मात्रै हो । मरेपछि सकिन्छ, सिद्धिन्छ सबै । लास भएपछि सास पनि मर्छ । आस पनि मर्छ । ज्यानप्राण बाँकी केही रहँदैन मान्छेको ।

मान्छे माटोमै हुर्कन्छ । माटोमै मिल्छ । धुवाँ भएर फैलिन्छ र त्यो आकाशमै बिलाउँछ । खरानी बनेर सिद्धिन्छ । पानीले पखालिएपछि मान्छे पानीमै मिसिन्छ । माटो र पानीको शरीर हाम्रो । अन्त्यमा माटो र पानीमै मिल्ने रहेछ मान्छेको शरीर ।

त्यसैले मर्नुअघि बाँच्नुपर्छ । यसरी बाँच्नुको अर्थ खानु, सुत्नु, हिँड्नु, बोल्नु आदि मात्र होइन । बाँच्नुले धेरै अर्थ खोज्छ । ती धेरै अर्थहरूमा मर्नुपूर्व बाँच्नुको चिन्तन के हो र किन भन्ने कुरालाई मनन–महसुस गर्नुपर्छ ।

Dabur Nepal
NIC Asia

बाँचेर पनि मरेका मानिसहरू छन्, हाम्रै समाजमा । मरेर पनि बाँचिरहेका मानिसहरू पनि छन् यहाँ । अतः सर्वप्रथम मर्नुअघि बाँच्नुपर्छ । बाँच्नुअघि मर्नु हुँदैन । त्यो बाँच्नुको क्रममा यावत् सत्कर्महरूलाई धोइपखाली कसैले दाग देख्न नसक्ने पार्नुपर्छ ।

कसैले खुसी दिँदैन यहाँ । दुःख दिने र दोष देखाउनेहरूको चाहिँ कमी हुँदैन । एक्लै एकान्तमा रमाउन सक्नुको आनन्द अलग्गै हुन्छ । एक्लै खुसीले मुसुक्क मुस्कुराउनु र आफैँमा हराउनु भनेको साँचो अर्थमा सुखी हुनु हो । यस्तो सुखद खुसीको अनुभूति गर्न मुस्किलले मात्रै पाइन्छ । एक्लोपनमा मिलेको खुसी र झरेको आँसु अनमोल हुन्छ ।

हार खाएर पनि यहाँ जितको खुसीमा उत्सव मनाउनुपर्छ । जितेर पनि पराजयको पीडा भोग्नुपर्छ । यही हारजितको लडाइँमा यहाँ मान्छे मर्छन्–बाँच्छन् । फेरि बाँच्छन् र फेरि मर्छन् । बाँच्न जान्दा यहीँ स्वर्ग, यहीँ सुख । बाँच्न नजान्दा यहीँ नर्क, यहीँ दुःख ।

क्रमागत यो निरन्तरता आदिम कालदेखि चलिरहेकै छ, चल्दै छ, चलिरहनेछ । जहाँ आखिर बाँच्नुको आनन्द मिल्नुपर्छ । आफू मात्रै बाँचौँको स्वभाव मर्नुपर्छ । अरूलाई पनि बचाऔँ भन्ने मान्यता व्यापक हुनुपर्छ । त्यहाँ बाँच्नुको मतलब अर्थहीन होइन, अर्थपूर्ण हुन्छ । त्यहाँ जीवनको मूल्य मूल्यहीन हुँदैन, मूल्यवान् बन्छ ।

बाँच्नुको अर्थले अत्यासमा पार्नु कदापि हुँदैन । एक छाक र एक गाँस खाएकै सही, तर आरामको ओछ्यान र मिठो सपना देख्न सकियोस् । त्यसमा मन रमाउन सकिने अवसर मिल्न सकोस् । बाँच्नुको सार्थक समय त्यहाँ दृष्टिगोचर होस् ।

हुन त खानु र बाँच्नु ठूलो कुरा हो, तर यति मात्रै जीवनको लक्ष्य होइन, हुँदैन । घुम्नु र रमाउनु पनि जीवन हो । तर, यतिमा मात्रै घुम्नु र रमाउनुको लक्ष्य सीमित राख्नु हुँदैन । पशुपक्षीहरूले पनि खाएकै छन् । पखेटाले वेग हानेर आकाशसम्म फन्को मारेका छन् । तर, तिनको उपलब्धि भन्नु के हो ?

अतः ढोका सधँै खुला रहोस् । सबैका लागि सधैँ बन्द नहोस् । आफन्तको आउजाउ भइरहोस् । आस्था र विश्वास, श्रद्धा र सम्मान सदा कायम रहिरहोस् । बाँचुन्ज्याल मान्छेमा मत्याइँले बास नगरोस् । मन सधैँ प्रफुल्लित रहोस् । बिछोडिँदाको एक्लो रुवाइ कसले देख्छ र ? भेटिँदाको सुखीले संसार जितेको आभास होस् । र, बाँच्नुसम्म बाँचेर मरण होस् । मरेपछि पनि मृत्युवरणमा ममताको ओइरो लागोस् ।

त्यसैले हाम्रा प्रत्येक पाइलाले लक्ष्य भेट्नुपर्छ । प्रत्येक बोलीले सत्य बोल्नुपर्छ । हिँडेका पाइला रोकिनु हुन्न । रोकिएका पाइला अल्छीले थचारिनु हुन्न । ठेस लागे पनि, ठक्कर खाए तापनि गति गन्तव्यतिरै हिँड्नुपर्छ ।

हिजोआज विश्वासभन्दा बढी विध्वंश छ । मित्रताभन्दा धेरै मित्रघात हुन्छ । त्यहाँ जीवनको सुन्दर सिलसिलाको सिलासाङ्ला खोजेर कहाँ पाउनु ? जीवनको अर्थ मृतःप्राय हुन जान्छ । लक्ष्य र योजना, गति र गन्तव्यको कुनै टुंगो नभएपछि सपना देख्नु मात्र ठूलो कुरा हुँदैन रहेछ । विपनामा त्यसलाई भेट्नुको खुसी अपत्यारिलै हुन्छ । तर, त्यहाँ बाँच्नुसम्म बाँच्नुको अर्थ मृत्युतुल्य हुन्छ ।

छरिएका कागजपत्रमा चाहिएको खोज्न कति गाह्रो, खोजेर भेट्न कति हैरान ! छरपस्ट कुरा खोजेर भेट्टाउँदाको खुसी बेग्लै । खोजेको चिज पाउँदाको हर्षबढाइँ पनि विशेष हुँदो रहेछ ।

हराएका कुरा धेरै हुन्छ । भेट्ने कुरा र पाउनुपर्ने चिज थोरै हुने रहेछ । तर, त्यही थोरै प्राप्तिका लागि धेरै मरिहत्ते । त्यही कुरा पाउनका लागि ज्यान दिनलाई तयार ।

जीवनका अनेकौँ पात्र र पाटाहरू सधैँ फरकफरक । त्यही फरकपनले ल्याउने रहेछ केही न केही नयाँपनको खान्की र खुराक ।

अलिनो तरकारी पनि चखिलो र स्वादिष्ट लाग्छ । बोझिलो मौसम पनि रमझमको हुन्छ । अस्ताएको घामले पनि भोलि बिहान उदाउने बाचा गरेको हुन्छ । जुनेली रातको के कुरा, अँधेरी रातमा पनि जीवन–घाम चमचम चम्किरहेको हुन्छ ।

लाग्छ, खुसी पनि सीमाहीन हुँदो रहेछ । सिमानाको बन्धनमा बाँधिन नचाहँदो रहेछ । दुःख पराई भई भागेर जाँदो रहेछ । मिलनोत्सवमा समय पत्तै नदिई टाप कस्दो रहेछ । यसो भएपछि कहाँ भेटिनु र मान्छेका मनकारी मनहरू ! जहाँ पनि धोकाधडीको धङधङीले धमाका मच्चाउन थालेपछि ।

सुरम्य सौन्दर्यमा तुँवालोले ढाकिएपछि त्यहाँ देख्नुपर्ने दृश्य मैलिन्छ । हेर्नुपर्ने आँखा धमिलिन्छ । बेचैन मन छटपटीले हैरान हुन थाल्छ । जहाँ जीवन भोगाइका पाटाहरू बेखुसीमा थचारिन्छन् । ढुंगामा बजारिएर मुर्छा 

तथापि, यस्तै समाजमा पनि कतिपय मान्छे मरेर फेरि बाँचिरहेका हुन्छन् । बाँचेकाहरू सत्कर्म, सद्भाव र सदाशयले स्वनामधन्य कहलिएका हुन्छन् । परिवार, समाज सुसंस्कृत बनेको हुन्छ । त्यहाँ राष्ट्र पनि धन्यधन्य भएको हुन्छ ।

मनन गरौँ, जीवन कति सभ्य, सुशिक्षित र सुरक्षित ? कति दण्डित र पुरस्कृत ? कति थकित र चकित ? कति भ्रमित र लज्जित ? कति सशंकित, कति पतित र कति घटित छ ? कति तथाकथित ? कति रोगले ग्रसित र कति चोट, खोट, दोष, रोषले पीडित छ ? कति आरोपित र खण्डित अनि कति श्रापित छ ?

वास्तवमा कोही पनि आफू आफैँसँग खुसी र आनन्दित छैनन् । आफैँसँग डराइरहेका, कराइरहेका र आफैँभित्र हराइरहेकाहरू छन् । तथापि, बाँच्नुको नाउँ जिन्दगी भन्नेहरू छन् । तर, जिन्दगी बाँच्नुको नाउँ हो भनेर कर्म गर्दैनन् ।

यस्तोमा लाग्छ, जीवन कति शोषित, प्रताडित छ ! छैन कदापि पवित्र र निष्कलंकित ! आफैँमा छैनौँ हामी स्वचालित पनि । बरु, अरूबाट परिचालित । आफैँमा प्रताडित र अरूमा समर्पित । आफूमा चाहिँ दण्डित र कुण्ठित । कठै अमूल्य जीवनको गति र मति ! कठै जीवन नियति ! आफूसँग छैनौँ हामी कहिल्यै प्रफुल्लित । सधैँ अश्रुपूरित । कहिल्यै भएनौँ पूजित । भएनौँ कहिल्यै सुख र खुसीले सुसज्जित । न हर्षित, बरु सधैँ त्रसितत्रसित ।

यस किसिमको जीवन भोगाइमा परिवर्तन कसरी र कहाँबाट ? सकारात्मक सोच र शैलीको उदय कति आवश्यक र किन ? गम्भीर जीवनदर्शनको गर्तमा गोता खानुपर्छ अब । जहाँबाट लक्ष्य निर्धारण होस् र परिवर्तन गराउन सकोस् ।

त्यहाँ शुभेच्छाले भरिभराउ सिँढीको उचाइबाट जीवनमार्ग प्रशस्त हुन सकोस् ।

नभेटिएको धेरैपछि भेटिँदाको खुसीजस्तो । बातचितमै समय सुटुक्क बितेजस्तो । बोलेर नसकिएको कुरा कति हो कति ! सोधेर पनि साध्य नभएको । हेरेर पनि नअघाएको । कति बाँकी कुरा अझै बाँकी नै रहेको । सागरजस्तो कति गहिरो मित्रता, मायाको मिठो आभासले रमाएको । मिलनको खुसीले धपक्कै बलेको । बिछोडको वियोग अब फेरि सहनु नपरोस् । वास्तवमा यस्तै भेट भइदिँदा रोग पनि भाग्दो रहेछ ।

बिरामीले बिसेक मानी अलिकति जाउलो खाँदा आफन्तजनको हर्षजस्तो । दुखाइ कम हुँदा पाएको आनन्दजस्तो । कतै घुम्न जाँदा देख्न पाएको सुन्दर दृश्यजस्तो । हिँड्दाहिँड्दा बसौँभन्दा बिसाउनी आइपुगेजस्तो । भोकप्यासले व्याकुल हुँदा खानेकुरा पाएजस्तो । बल्लतल्ल आराम पाउँदा मिलेको सुखजस्तो ।

त्यसैले मान्छे रोग बोकेर बाँच्नु हुँदैन । घाउ भएर दुख्नु हुँदैन । बाँच्दासम्म रहर लिएर हिँड्नुपर्छ । हाँस्दा मन खोलेर हाँस्नुपर्छ । बाँच्दा निस्फिक्री आरामको जिन्दगी बाँच्नुपर्छ । आस बोकेर सास धान्नुपर्छ । निराश ओकलेर अल्छी पाल्नु हुँदैन । अधैर्य बस्नु हुँदैन । भरिलो मन, आँटिलो तन चंगा हरेक पल भएर बाँच्नुपर्छ ।

यति हुँदा खुसी पनि बुर्कुसी मारेर आउने रहेछ । दुःख, पीडा सबै सकिएर उल्लासको उत्सव मनाउने अवसर जुट्ने रहेछ । बाधा, अवरोध, तनाव सबै भाग्ने रहेछ । यस्तो जीवन्त जीवन बाँच्नु पो बाँच्नु ! त्यसैले बाँच्नुसम्म यसरी नै बाँच्नुपर्छ । आखिर एक दिन सबैले मर्नु त छँदै छ । अतः बाँचेर मात्र मर्नुपर्छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro