site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला संघ अध्यक्ष उषा रावत मिश्रलाई बर्खास्त गर्न केन्द्रीय सदस्यहरूको माग 

काठमाडौं । नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघका अध्यक्ष उषा रावत मिश्रलाई बर्खास्त गर्न माग गरिएको छ । संघकै केन्द्रीय सदस्यहरूको एक समूहले यस्तो माग गरेको हो ।

जिल्ला–जिल्लामा नेपाली कांग्रेस सुदृढीकरण अभियान सञ्चालन भइरहेका समयमा मन नपरेका निर्वाचित जिल्ला अध्यक्षहरूलाई बर्खास्त गरेको उनीमाथि आरोप छ । अर्कै व्यक्तिलाई जिम्मेवारी तोक्दै हिँडेको पनि सो समूहले आरोप लगाएको छ ।

केन्द्रीय समिति बैठकमा समेत छलफल नगरेको भन्दै सो समूहले महिला संघ अध्यक्षलाई नै बर्खास्त गरी संघलाई चलायमान बनाउन माग गरेको हो ।

अध्यक्ष रावतले जिल्ला अध्यक्षहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण नसोधेको, खाली भएका ठाउँमा जिम्मेवारी दिने विषयमा पनि हचुवा निर्णय गरेको, क्रियाशील सदस्यता समेत नभएका व्यक्तिलाई संघको नेतृत्व सुम्पिएको आरोप लगाइएको छ ।

यस्तै, संघको केन्द्रीय कार्यालय वसुन्धारा समेत नगई आफ्नै घरमा सम्पर्क कार्यालय तोकेको र त्यहीँबाट निर्वाचित जिल्ला अध्यक्षहरूलाई हटाएको भन्दै उनलाई नै बर्खास्त गर्न माग गरिएको हो ।

“निर्वाचित अध्यक्षहरूलाई वा लामो समयदेखि पार्टीमा लागेकाहरूलाई हटाएर क्रियाशील सदस्यता समेत नलिएका कांग्रेसको सदस्य हुनु आवश्यक समेत नसम्झनेलाई नेतृत्व दिएर संगठन तहसनहस पर्ने काम महिला संघ अध्यक्ष उषा रावत मिश्रले गर्नुभएको छ,” केन्द्रीय सदस्य रीता शाहीले भनिन्, “तत्काल त्यसरी हटाइएकाहरूलाई पुनर्बहाली गर्न हामी माग गर्दछौँ ।”

उनले पार्टी सुदृढीकरण अभियान जारी रहेका बेला रावतले संगठनमा विभाजन र गिग्रह ल्याउने काम गरेको आरोप लगाइन् ।

“केन्द्रीय समितिमा हामी सबै प्रदेशबाट सदस्य छौँ । हामी पनि उषाजीले के गर्नुहुन्छ भनेर रमिता हेर्नका लागि मात्र आएका हैनौँ,” केन्द्रीय सदस्य उमा शिवाकोटीले भनिन्, “म झापा जिल्ला, कोसी प्रदेशबाट प्रतिनिधित्व गर्छु । कोसी प्रदेशका जिल्लामा उहाँले हामीलाई जानकारी नै नदिई मनोमानी गर्दा हामी टुलुटुलु हेर बस्न सक्दैनौँ ।”

अर्का केन्द्रीय सदस्य तारा थपलियाले महिला संघमा आफूहरूले नेतृत्वले लिएका निर्णय सुधार गर्दै लोकतान्त्रिक विधिबाटै संगठन सञ्चालनको अपेक्षा गरिरहेको बताइन् । त्यसो नभए समानान्तर कार्यसमिति गठन गर्ने चेतावनी समेत उनले दिइन् ।

“केही दिनमा पार्टीले पनि आवश्यक निर्णय गरोस् । महिला संघको नेतृत्वले पनि आफ्ना गलत कदम सच्याउने अपेक्षा हामी गरिरहेका छौँ,” थलियाले भनिन्, “त्यसो भएन भने देशभर हामी समानान्तर कार्यसमिति गठन गर्ने र समानान्तर सञ्चालन पनि गर्नेछौँ ।”

महिला संघका २० केन्द्रीय सदस्यले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर अध्यक्षलाई बर्खास्त गर्न माग गरेका हुन् ।

अध्यक्ष राउतले जिल्ला अध्यक्षहरू छिल्हामु शेर्पा (सोलुखुम्बु), सीता मैनाली (बारा), विद्या श्रेष्ठ (पर्सा), विमला निरौला (सिरहा), मीना गुरुङ (ताप्लेजुङ), निर्मला सन्जेल (इलाम), विना तिवारी (महोत्तरी), भुवनी गिरी श्रेष्ठ (रौतहट), कोपिला रानाभाट (कास्की), सुशीला ढकाल (झापा) र विजया बुढा (हुम्ला)लाई मनोमानी रूपमा हटाएको र केन्द्रीय समितिमा छलफल समेत नगरी केही जिल्लामा नेतृत्वको जिम्मा दिइएको उनीहरूको आरोप छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro