site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीभित्र तरंग : आउनेभन्दा जाने बढे
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठकमा नेताहरूले पार्टी क्षयीकरण हुँदै गएकामा चिन्ता व्यक्त गरेका छन् । शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा पार्टीलाई सबलीकरण र चुस्तदुरुस्त बनाउने विषयमा धारणा राख्ने क्रममा सदस्यहरू चिन्तित भएका हुन् । पार्टीमा भित्रिनेभन्दा बाहिरिने क्रम बढेको भन्दै उनीहरूले चिन्ता जाहेर गरे ।

पछिल्लो समय एकीकृत समाजवादीबाट नेता–कार्यकर्ताहरू धमाधम नेकपा (एमाले)मै फर्कन थालेका छन् । विशेष गरी जिल्लाका नेताहरू एमालेमै समाहित भइरहेका छन् । यसअघि नै मुकुन्द न्यौपाने, केदार न्यौपाने, चूडामणि जंगलीलगायत केन्द्रीय नेताहरू एमालेमा फर्किइसकेका छन् ।

शनिबार सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्यसहितका नेताहरू एमालेमा फर्किए । कर्मचार्यसँगै एकीकृत समाजवादीका केन्द्रीय सदस्य उपेन्द्र तामाङ, प्रदेश कमिटी सदस्य ईश्वरीप्रसाद श्रेष्ठ, शिवराम भट्टराई, घननाथ पराजुली, जिल्ला कमिटी उपाध्यक्ष छिरिङ ग्याल्बो लामा, सचिव दीपक नेपाल, उपसचिव रविकुमार भण्डारीलगायत नेताह शनिबार एमालेमा समाहित भएका हुन् । धमाधम जिल्लाका नेताहरू विद्रोह गरेर एमालेमा फर्कन थालेपछि एकीकृत समाजवादीभित्र तरंग पैदा भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एमालेबाट छुट्टिनुको औचित्य पुष्टि गर्न नसक्दा सोही पार्टीमा फर्कने क्रम बढेको निष्कर्षमा नेताहरू पुगेका छन् । सत्ताकेन्द्रित हुँदा पार्टी निर्माणले गति लिन नसकेको एक नेताले गुनासो गरे ।

“एमालेबाटै विद्रोह गरेका नेता एमालेमा नै फर्कनुभएको छ । उहाँ (सुवास) गएकोमा हामीलाई दुःख लागेको छ । पार्टी विद्रोह आवश्यकता थियो,” एकीकृत समाजवादीका एक स्थायी कमिटी सदस्यले बाह्रखरीसित भने, “विद्रोह पुष्टि गर्न नसक्नु हाम्रो असक्षमता हो । हामी वैचारिक र सैद्धान्तिक विषयमा भन्दा पनि सत्तामा नै केन्द्रित भयौँ । सत्ता छोड्न नसक्दाको परिणाम हो यो ।”

Global Ime bank

शनिबारको बैठकमा बलराम बास्कोटा, शिव देउजा, ललित बस्नेत, सावित्रा भुसाल, विरोध खतिवडा, रत्नेश्वर गोहित, रामप्रित पासवानलगायत ११ नेताले आफ्नो धारणा राखेका थिए ।

स्थायी कमिटी सदस्य बलराम बास्कोटाले पार्टी र एमालेबीचको भिन्नतालाई पुष्टि गर्ने गरी कार्यकर्तालाई प्रशिक्षण दिनुपर्ने आवश्यकता औँल्याए ।

“पार्टी बनाउन हाम्रा आचरण, व्यवहार, शैलीमा परिवर्तन गर्नुपर्छ । हामीमा सामन्तवादी र नोकरसाही प्रवृत्ति हाबी भएको छ,” बैठकमा बास्कोटाले भने, “कार्यकर्ता–नेताबीच बढेको दूरी हटाउनुपर्छ । एमालेसँगको भिन्नतालाई पुष्टि गर्ने गरी कार्यकर्तालाई प्रशिक्षण गर्नुपर्‍यो । पार्टीमा पूर्णकालीन कार्यकर्ता चयन गर्नुपर्‍यो ।”

उनले पार्टीमा आउनेभन्दा जाने क्रम बढेको बताए । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पार्टीमा आउन चाहेको भन्दै उनले ल्याउन रोकिएको आरोप समेत लगाए ।

“पार्टीमा आउनेभन्दा बाहिर जाने क्रम बढेको छ । पार्टीमा आउन चाहनेलाई तगारो लगाउने काम गरिरहेका छौँ,” उनले भने, “वामदेवजीले आउँछु भन्नुभएको छ, आउने वातावरण सिर्जना गरेका छैनौँ । पार्टीमा आउन चाहनेहरूलाई आउन दिऔँ । तगारो नहालौँ ।”

पूर्वमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य विरोध खतिवडाले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा जोड दिए । पार्टीले अमेरिकी एमसीसी परियोजना अनुमोदन गरेकामा आपत्ति जनाउँदै उनले अब त्यसलाई कार्यान्वयन गरेर जानुपर्ने बताए ।

“एमसीसी पास गर्ने घटना भइहाल्यो । अब त्यसलाई कार्यान्वयन गर्नेतिर जानुपर्छ,” खतिवडाले भने, “पार्टीलाई एकताबद्ध बनाएर अघि जानुपर्छ ।”

नेत्री सावित्रा भुसालले पनि नेताहरू स्पष्ट वैचारिक धारणासहित एकताबद्ध भएर अघि बढ्नुपर्ने बताइन् ।

रामप्रित पासवानले पार्टीले वर्गीय मुद्दा छोडेको भन्दै असन्तुष्टि जनाए । त्यसलाई अघि नबढाएसम्म पार्टी नबन्ने उनको भनाइ थियो ।

“हामीले वर्गीय मुद्दा छोडिराखेका छौँ । वर्गीय मुद्दा नसमाती पार्टी अघि बढ्दैन,” उनले बैठकमा भने ।

फागुनभित्र महाधिवेशन 
एकीकृत समाजवादीको महाधिवेशन आउँदो फागुनभित्र गर्ने तयारी छ । शनिबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले महाधिवेशन फागुनसम्ममा गर्ने तयारी रहेको जानकारी गराएका हुन् ।

बैठकमा बोल्ने नेताहरूले पहिले जिल्ला अधिवेशन गरेर महाधिवेशनमा जान सुझाव दिए । नेत्री भुसालले नेताहरूको वैचारिक मतभिन्नता टुंग्याएर महाधिवेशनमा एउटै दस्ताबेज प्रस्तुत गर्नुपर्नेमा जोड दिइन् ।

“नेताहरूको बीचको वैचारिक मतभिन्नता कमिटीमा बसेर नै समाधान गरौँ । महाधिवेशनमा एउटै दस्ताबेज जाओस्,” उनले बैठकमा भनिन् ।

पार्टी महाविधवेशनको मिति केन्द्रीय कमिटी बैठकबाट तोकिनेछ ।

रामकुमारी झाँक्री बैठकमै गइनन्
पार्टी सचिव रामकुमारी झाँक्री स्थायी कमिटी बैठकमा अनुपस्थित भइन् । पछिल्लो समय उनले पार्टी र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएकी छन् ।

“उहाँ (रामकुमारी झाँक्री) आज (शनिबार)को बैठकमा सहभागी हुनु भएन । किन सहभागी हुन भएन भनेर कसैले जानकारी गराउनु भएन । हामीले सोधेनौँ पनि,” एक नेताले भने ।

सचिव भए पनि उनी पार्टीको सचिवालयमा छैनन् । एकीकृत समाजवादीको सचिवालयमा सचिवहरूलाई राखिएको छैन । पार्टीका अधिकांश निर्णय सचिवालयबाट गरिँदै आएको छ । सुरुआतमा पार्टीका उपाध्यक्षहरू पनि सबैजना सचिवालयमा थिएनन् । अहिले सबै उपाध्यक्षलाई सचिवालयमा लगिएको छ ।

पार्टी सचिवालयबाट सबै निर्णय गर्ने र अरू कमिटीलाई अनुमोदन गर्न मात्र लगाएको भन्दै नेताहरूले आक्रोश पोख्दै आएका छन् । शनिबारको बैठकमा पनि नेताहरूले यो विषय उठाए ।

“सबै निर्णय सचिवालयले गर्ने, त्यसको ल्याप्चे मात्रै गर्न लगाउने काम भइरहेको छ । स्थायी कमिटीलाई कार्यकारी अधिकार दिएको छ, त्यो मिच्ने काम तपाईंहरूले गर्नुभएको छ । सबै सचिवालयले नै गर्ने भए स्थायी कमिटी नै नराखौँ भन्ने कुरा आजको बैठकमा उठेको छ,” एक नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २१:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement