काठमाडौं । केही वर्षयता सिने कलाकारले कलाकारितासँगै अरू क्षेत्रमा पनि लगानी गरेको देखिन्छ । कलाकारले होटेल/रेस्टुरेन्टलगायत क्षेत्रमा लगानी गर्न थालेका हुन् । कलाकारको आकर्षण अरू बिजनेसको तुलनामा रेस्टुरेन्ट तथा क्याफेमा बढी देखिएको छ ।
किन गर्छन् कलाकार कलाकारिताबाहेकको क्षेत्रमा लगानी ?
केही वर्षअघि राजेश हमालले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका थिए– कलाकारितामा लाग्ने व्यक्तिसँग ‘प्लान बी’ पनि हुनुपर्छ । अर्थात्, कलाको विकल्पमा के काम गर्ने भन्ने योजना र त्यसको तयारी पनि हुनुपर्छ ।
केही समयका लागि सिनेमा हिट भए पनि एउटा विन्दुमा त्यो चल्न छोड्ने र त्यसपछि के गर्ने भन्ने समस्या सिर्जना हुन सक्ने उनको भनाइ थियो । उनी चलचित्र क्षेत्रलाई करिअरका हिसाबले असुरक्षित पेसा मान्छन् ।
राजेशको यो भनाइमा धेरै कलाकार सहमत छन् । हास्यकलाकार अर्जुन घिमिरे (पाँडे)ले अभिनयसँगसँगै बिजनेसको समेत अनुभव सँगालेका छन् । कलाकारिता गरेर आफ्नो र परिवारको सबै आवश्यकता पूरा नहुने भएकाले कलाकारले बिजनेसमा पनि लगानी गरिरहेको उनी बताउँछन् ।
“सबै आवश्यकता कलाकारिताले मात्रै पूरा गर्न सक्छ भन्ने हुँदैन । आवश्यकता पूरा गर्नका लागि पनि केही कलाकारले बिजनेसमा लगानी गरिरहेको पाइन्छ,” अर्जुन भन्छन्, “लाइफस्टाइल मेन्टेन गर्नका लागि निरन्तर पैसा आइरहने ठाउँ चाहिन्छ, त्यसका लागि कलाकारिता गरिरहेका कलाकारले अन्य क्षेत्रमा लगानी गरेको देख्छु ।” कुनै पनि क्षेत्रका बारेमा पर्याप्त जानकारी हासिल नगरी लगानी गर्न नहुनेमा उनको जोड छ ।
अमेरिकाबाट फर्किएपछि अभिनेता सरोज खनालले पोल्ट्री फर्म खोले । अन्डाको व्यापार गरे । उनले अभिनयको क्लास लिन माला आर्ट नामक इन्स्टिच्युट समेत खोले । व्यापारमा लागे पनि उनले अभिनय पेसा छाडेका छैनन् ।
अभिनेत्री करिष्मा मानन्धर पनि व्यवसायमा सक्रिय छिन् । विश्वव्यापी विद्युतीय ब्रान्ड इन्टेक्सको सामान नेपाल ल्याएर उनी व्यवसायमा जोडिएकी हुन् । उनले पत्रकार सम्मेलन गरेरै यसबारे जानकारी गराएकी थिइन् । रिसिक ट्रेडिङ कन्सर्न नामक कम्पनीमार्फत करिष्माले इन्टेक्सका विद्युतीय सामग्रीको व्यापार गरिरहेकी छन् ।
व्यापारमा लागेर दरिलो पहिचान बनाउने कलाकार हुन्, स्वेता खड्का । उनले थुप्रै ठाउँमा लगानी गरेकी छन् । उनले दरबारमार्गस्थित राइजिङ मलमा हिमालयन जाभा कफी सप खोलिन् । बालुवाटारमा पनि आफ्नो बिजनेस विस्तार गरिन् ।
कफी सप उनको पहिलो व्यवसाय होइन, त्यसअघि नै उनले यसको अनुभव लिइसकेकी थिइन् ।
एमआरएस एन्ड इन्जिनियरिङ प्रालि खोलेकी स्वेताले केही होटेलमा पनि लगानी गरेकी छन् । भाटभटेनी सुपरस्टोरदेखि प्रभु बैंकको भवनको एक्स्टेरियर डिजाइन स्वेताकै इन्जिनियरिङ कम्पनीले गरेको हो । त्यसैले उनी उम्दा व्यवसायी हुन् भन्दा फरक पर्दैन ।
सन्जोग कोइराला र वर्षा राउतको चर्चा जति छ, त्योभन्दा बढी चर्चा उनीहरूको ‘चिया अड्डा’को हुने गरेको छ । बानेश्वरमा उनीहरूले खोलेको चिया अड्डामा सन्जोग र वर्षाकै नामका कारण पुग्ने धेरै छन् ।
चिया अड्डामा वर्षाभन्दा पनि सन्जोगले समय दिने गरेका छन् । उनीहरूले यसलाई विस्तार गर्ने बताउँदै आएका छन् ।
दीपकराज गिरी–दीपाश्री निरौला नेपाली कलाजगत्को सफल जोडी हो । उनीहरूले लामो समयदेखि चलचित्रमा लगानी गर्दै आएका छन् । विस्तारै आफ्नो लगानीको दायरालाई फराकिलो बनाउँदै लगेका छन् ।
उनीहरूले करिब १० करोड रुपैयाँको लगानीमा नयाँ बानेश्वरमा सिनेमा हल खोल्दै छन् । दुई स्क्रिन रहने हलमा ४०० सिट हुनेछन् । उक्त हल आउँदो भदौको दोस्रो सातादेखि खुला गरिने गिरीले बताएका छन् ।
उनै गिरी फार्म हाउसको पनि तयारीमा छन् । दहचोकस्थित आफ्नो पुर्ख्यौली जग्गामा केही जमिन थपेर उनी फार्म हाउस सञ्चालन गर्ने सोचमा छन् । त्यसभन्दा पहिला उनी एकैप्रकारका मौलिक घरहरूको बस्ती निर्माणमा समेत जुटेका छन् ।
कलाकार हरिवंश आचार्यका छोरा मोहितले लामो समयदेखि क्याफे सञ्चालन गर्दै आएका छन् । ललितपुरको पुल्चोकस्थित ब्रिक्स क्याफे उनकै हो । उनी अभिनयमा धेरै सक्रिय छैनन् । केही सिनेमा र टेलिसिरियलमा फाट्टफुट्ट मात्र देखिँदै आएका छन् ।
अभिनेता सलोन बस्नेतले गत वर्षको अन्तिममा आसन लाउन्च एन्ड बार सञ्चालनमा ल्याए । नयाँ वर्षको छेको पारेर उनले ललितपुरकै झम्सीखेलस्थित बिग मार्टअगाडि रविन कँडेलसँग मिलेर उक्त बार सञ्चालनमा ल्याएका हुन् ।
एक करोड रुपैयाँभन्दा बढी लगानी रहेको बारमा हरेक दिन सफिक हप ब्यान्डले लाइभ प्रस्तुति दिने गरेको छ । उनको बारमा इन्डियन, चाइनिज, कन्टिनेन्टल सबै प्रकारका खानेकुरा पाइन्छ । मिटिङ हल, सभा हलको पनि सुविधा छ ।
पछिल्लो समय व्यवसायमा लगानी गर्ने कलाकार हुन्, पूजा शर्मा । उनले यही हप्ता मात्र झम्सीखेलमै ट्याग स्पोर्ट्स लाउन्ज एन्ड बार खोलेकी छन् । पूजाले करिब चार करोड रुपैयाँ लगानीमा ट्याग खोलेको बताएकी छन् ।
त्यसो त यसमा सलोनको जस्तै पूजाको मात्र एकल लगानी छैन । ट्यागमा पूजासँगै युद्ध बानियाँ र अभिषेक श्रेष्ठको पनि लगानी छ ।
ट्यागमा रेस्टुरेन्टसहित बुटिक, ब्युटी पार्लर, पुल हाउस, बार, किड्स जोन समेत छ । ३५ जनाले रोजगारी पाएको ट्यागमा एकसाथ २०० ग्राहकले सेवा लिन सक्नेछन् ।
ट्यागमा सी फुडसहित जापानिज, कोरियन, मेक्सिकनलगायत कन्टिनेन्टल फुड पाइन्छ । कफी र बेकरी आइटमसँगै नेपाली रैथाने परिकार समेत ट्यागमा पाइन्छ ।
दुई वर्षअघि अभिनेता प्रमोद अग्रहरीले कलाकारितासँगै बिजनेस थाले । ०७८ सालको तिहारलाई लक्षित गर्दै उनले स्वीट्सको बिजनेस सुरु गरेका हुन् । परासीमा अम्रितम स्वीट्स खोलेर उनले यो क्षेत्रमा हात हाले ।
उनले परासीस्थित आफ्नै घरमा स्वीट्सको बिजनेस थालेका हुन् । चाँडै यसको शाखा काठमाडौंमा खोल्ने उनको योजना छ ।
भोलिको जीविकोपार्जनका लागि अहिल्यैदेखि कलाकारले बिजनेसमा लगानी गरिरहेको प्रमोद बताउँछन् । “अहिले धेरै एक्ट्रेसले बिजनेसमा लगानी गरिरहेका छन्, यो राम्रो पनि हो । अभिनयसँगै बिजनेसको पनि बेस बस्दै जान्छ,” उनी भन्छन्, “कोभिडले झन् धेरै कलाकारलाई सचेत गराएको छ । सधैँ जिन्दगी एकनासले चल्दैन भनेर कोभिडले सिकाएर पनि गएको छ । त्यसैले अहिले नै स्पेस बनायो भने भोलि त्यसमा काम गर्न सहज पनि हुन्छ ।”
दयाहाङ राईसहित उनको टिमले पनि बिजनेसमा लगानी गरेको छ । गत वर्षको फागुनमा मण्डला थिएटरले लेञ्चा खिम रेस्टुराँ एन्ड मुकुन्डो बार नामक रेस्टुराँ खोलेको हो । त्यसमा दयाहाङ, सिर्जना सुब्बा, विजय बराल, बुद्धि तामाङलगायत मण्डला थिएटरकै १३ जनाको टिमको लगानी छ ।
काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरको टप फ्लोरमा एक करोड रुपैयाँभन्दा बढीको लगानीमा लेञ्चा खिम सञ्चालनमा ल्याइएको हो । मण्डलामा नाटक हेर्न आउने दर्शकका लागि खाजा खान अन्त जानु नपरोस् र लेख्न पढ्न सहज होस् भन्ने उद्देश्यले यो खोलिएको लगानीकर्ताको भनाइ छ ।
लेञ्चा खिममा हरेक साँझ ७ बजेपछि बार समेत सञ्चालन हुन्छ । मण्डला थिएटरलाई निरन्तरता दिन पनि व्यापारिक रूपमा अगाडि बढ्नुपरेको सो थिएटरका सचिव विजय बराल बताउँछन् । मासिक तीन लाख १९ हजार रुपैयाँ भाडा तिर्न पनि नाटकसँगै कमर्सियल रूपमा सोच्नुपरेको उनी सुनाउँछन् ।
मण्डलामा लेञ्चा खिम सुरु गरिएसँगै १४ कर्मचारी थपिएको थियो । त्यहाँ त्यसअघि सात कर्मचारी थिए ।
लेञ्चा खिम सुरु गरिएसँगै आफूहरूलाई केही सहज भएको दयाहाङ बताउँछन् । “लेञ्चा खिम सुरु भएसँगै पक्कै पनि हामीलाई केही सहज भएको छ । बिजनेसमा लगानी गर्नुभएका साथीहरूलाई पक्कै पनि हामीलाई जस्तै सहज सम्भवतः अरूलाई पनि भएको हुनुपर्छ,” दयाहाङ भन्छन् ।
जिन्दगी थप सहज होस् भनेर कलाकारले बिजनेसमा पनि लगानी गर्न थालेको उनको भनाइ छ । “आफूसँग आइडिया भएको, लगानी गर्न पैसा भएको, आइडिया भएका साथीहरूसँगको लिंक र धेरै ठाउँमा घुम्दा गरेको अनुभवले पनि लगानी गरेको देखिन्छ,” उनी भन्छन्, “आइडिया छ, लगानी छ र समय दिन सकिन्छ भने बिजनेसमा लगानी गर्नु मेरो विचारमा राम्रो हो ।”
निर्देशक गणेशदेव पाण्डेले चियापसल ‘चियावाला’ सञ्चालन गरेको धेरै वर्ष भइसक्यो । काठमाडौंको शान्तिनगरबाट पश्चिम वाग्मती नदीको करिडोरमा खोलिएको चियावाला सहरका पपुलर चियापसलमध्येको एक हो । मिडियामा उनको चियापसलले ठूलो ठाउँ पाएको थियो । कलाकारको जमघट हुने अड्डा पनि हो, चियावाला ।
पछिल्लो समय नायक प्रदीप खड्काले पनि रेस्टुराँमा लगानी गरेका छन् । यो विषय उनले सार्वजनिक भने गरेका छैनन् । स्रोतका अनुसार प्रदीप गैरीधारास्थित चलिरहेको एक रेस्टुराँमा सेयरहोल्डरका रूपमा प्रवेश गरेका हुन् ।
कोभिड–१९ का बेला नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि व्यापारमा प्रवेश गरिन् । उनी ‘प्याड’ नामबाट अनलाइन कस्ट्युमको व्यापार गर्छिन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो व्यवसाय चलाइन् ।
अनलाइन अर्डरका आधारमा उनको व्यापार चल्छ । स्टाइलिस कस्ट्युमका लागि ‘प्याड’ युवामाझ छोटो समयमै लोकप्रिय भएको थियो ।
हास्यकलाकार मधुसूदन पाठक (सीते बा) पनि कलाकारितासँगै व्यवसायमा जोडिएका व्यक्ति हुन् । उनले डिल्लीबजारमा इचिवान रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन् । उनले काठमाडौंको टोखामा ‘सीते बा अर्ग्यानिक फार्म’को नामबाट कृषि फार्म समेत सञ्चालन गरेका छन् ।
निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दिपीका प्रसाईंले पनि सिनेमाबाहेकका क्षेत्रमा लगानी गरेका थिए । यी दुईले लगानीलाई विविधिकरण गरेका थिए ।
रेस्टुरेन्ट र वित्तीय संस्था (सहकारी)मा उनीहरूको लगानी थियो । दिवाकारले काठमाडौंको गैरीधारामा लञ्च हाउस र लभ स्टेसन नामक रेस्टुरेन्ट खोलेका थिए ।
उनकी श्रीमती समेत रहेकी अभिनेत्री दिपीकाले ललितपुरको कुमारीपाटीमा हिमालयन बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गरेकी थिइन् । कोभिड–१९ संक्रमणको त्रासले सिनेमा उद्योग ठप्प भएको समयमा उनीहरूले सहकारी र रेस्टुरेन्ट खोलेका थिए ।
अहिले दिवाकर र दिपीका दुवैले यी बिजनेसबाट हात झिकिसकेका छन् । सिनेमा उद्योगमै फुलटाइम सक्रिय हुन आफूहरू बिजनेसबाट अलग भएको दिवाकर बताउँछन् ।
“वास्तवमा हामीले बिजनेसमा समय दिन पनि सकेनौँ । अर्को कुरा, बिजनेसमा हाम्रो अनुभव पनि थिएन । त्यसैले हामीले बिजनेसबाट अलग हुने निर्णय गर्यौं,” उनी भन्छन्, “दुवैतिर काम गर्दा बिजनेसमा पूरै समय दिन सकिएन । पूरै समय नदिँदा सोचेजस्तो सफलता हात पर्ने कुरा पनि भएन ।”
आफूले जानेको र बुझेको सिनेमा क्षेत्र नै भएकाले अब यसमै पूरा समय काम गर्ने दिवाकर बताउँछन् । “कलाकारले बिजनेसमा हात हाल्नुको मुख्य कारण त इन्सेक्युरिटी नै हो । कहिलेसम्म काम पाइन्छ चलचित्र उद्योगमा निश्चित हुँदैन,” दिवाकर भन्छन्, “त्यसैले कलाकारले अप्सनल बिजनेसका रूपमा होटेल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रमा लगानी गरेको देखिन्छ ।”
आफ्नो नेम र फ्रेम प्रयोग गरेरै सफल भइन्छ भन्ने ठानेर सेलिब्रिटी बिजनेसमा आउने गरेको उनको भनाइ छ । तर, यसकै आधारमा सफल भइन्छ भन्ने निश्चित नरहेको उनी बताउँछन् ।
दुई वर्षअगाडिसम्म इचिवानमा हास्यटेलिचलचित्र ‘सक्किगोनि’का अर्जुन घिमिरे (पाँडे)लगायत कलाकारको लगानी थियो । पर्याप्त समय दिन नसकेकाले आफूले उक्त रेस्टुरेन्टबाट लगानी झिकेको अर्जुन बताउँछन् ।
“कलाकारितामा पनि समय दिनुपर्दा जति समय रेस्टुरेन्टका लागि दिनुपर्ने हो, सकिँदो रहेनछ । आफूले जति धेरै समय दिन सक्यो, त्यति नै राम्रो हुने हो,” अर्जुन अगाडि थप्छन्, “तर, आफूले समय दिन नसकेपछि अरूलाई जिम्मा दिनुपर्यो । अरूलाई जिम्मा दिएपछि उसले आफ्नै तरिकाले चलाउँछ ।”
होटेलमा लगानी किन ?
आफूलाई सहज हुने क्षेत्रमै लगानी गर्ने गरिएको अभिनेता दयाहाङ बताउँछन् । बसेर भेटघाट गर्ने स्पेस आफ्नै हुने र खानपान गर्ने ठाउँ पनि हुने भएकाले होटेल, रेस्टुरेन्ट तथा क्याफेमा लगानी गर्न कलाकार आकर्षित भएको उनको भनाइ छ ।
आफूलाई आइडिया नभएको क्षेत्रमा लगानी गर्न नहुनेमा उनको जोड छ । “आफूलाई जानकारी नै छैन भने लहड र उक्साहटमा लगानी गर्न हुन्छ भन्ने मलाई लाग्दैन,” दयाहाङ सचेत गराउँछन्, “यदि, बिनाजानकारी र आइडिया कसैको लहलहैमा लाग्ने हो भने त्यहाँ सफलता पाउन सकिन्न ।”