
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सुन प्रकरणले औपचारिक रूपमा प्रवेश पाएको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी बैठकमा तेस्रो दिन केन्द्रीय सदस्य लेखनाथ दाहालले सुन प्रकरणबारे बोलेका छन् । उनले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिँदै सुन प्रकरणमा नाम जोडिएका नेताले स्वयम्ले छानबिनको माग गर्दै विज्ञप्ति जारी गर्न सुझाएका छन् । दाहालले सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराको नाम जोडिएकाले उनी स्वयम्ले छानबिनका लागि निवेदन दिनुपर्ने बताए ।
“सरकारको भ्रष्टाचार विरोधी अभियानलाई साथ दिनुपर्छ । नाम जोडिएको कमरेडहरूले अनुसन्धान गरिपाऊँ भनी सरकारसँग माग गरेर विज्ञप्ति जारी गर्नुपर्यो,” उनले बैठकमा भनेका छन् ।
सुन तस्करी प्रकरणमा माओवादीका उपाध्यक्षसमेत रहेका प्रवक्ता महरा, उपमहासचिव वर्षमान पुनको नाम जोडिएको छ ।
यसअघि बैठकमा बोलेका नेताहरूले भ्रष्टाचारविरुद्धको अभियानमा पार्टीका नेताहरू परे पनि छाड्न नहुने माग राखेका थिए । तर, सुन काण्ड नै भनेर यसअघि कोही नबोलेको एक नेताले सुनाए ।
दाहालले नेताहरूको सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न पनि माग गरेका छन् ।
उनले आन्तरिक प्रतिस्पर्धामार्फत सबै कमिटी निर्माण गर्ने ढोका यही बैठकबाट खोल्नसमेत माग गरेका छन् । पार्टीभित्र देखिएका सबै खाले अराजक, अनुशासनहीन, गुटग्रस्त मानसिकता त्यागेर अघि बढनुपर्ने उनको भनाइ छ । केन्द्रीय समिति ९९ हुनुपर्ने उनले बताए ।
'नेतृत्वको आलोचना गरेर मात्रै हुँदैन'
पार्टी उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेतृत्वको आलोचना गरेर मात्रै पार्टी नबन्ने बताएका छन् । उनले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को प्रंशसा गर्दै नेतृत्वले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
“पार्टीको विचारको विकासबिना हामी अघि बढ्न सक्दैनौँ । नेतृत्वले गरेको निर्णयलाई इमान्दारिपूर्वक कार्यान्वयन गरेर जानुपर्छ । लामो प्रक्रियाबाट यहाँसम्म आयौँ । नेतृत्वको पहलकदमीले नै आएका हौँ,” बैठकमा सापकोटाले भनेका छन्, “सरकारले गरेका सकारात्मक काममा सिंगोपङ्क्ति एक ढिक्का भएर अघि बढ्नुपर्छ ।”
सापकोटाले नेतृत्वले अघि सारेका कार्यक्रमलाई दृढतापूर्वक कार्यान्वयनमा नलगे पार्टी अघि बढ्न नसक्ने बताए ।
“नेतृत्वको आलोचना मात्रै गर्ने, नेतृत्वले अघि सारेका कार्यक्रम र योजनाहरूलाई कार्यान्वयन गर्ने कुरामा तयार नहुने हो भने पार्टी अघि जान सक्दैन,” सापकोटाले बैठकमा भनेका छन्, “आलोचना होइन, नेतृत्वले लिएका कुरालाई कार्यान्वयन गर्न दृढतापूर्वक उभिनुपर्छ ।”
गुटबन्दी गर्नेलाई पार्टीबाट निकाल्न माग
केन्द्रीय सदस्य कुमार पौडेलले पार्टीमा अराजकता र गुटबन्दी मौलाएको भन्दै त्यस्तालाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् । उनले पार्टीको आन्तरिक समस्यालाई हल गर्न कम्युनिस्ट पार्टीको १०औँ महाधिवेशनतिरै फकर्नुपर्नेमा जोड दिए ।
“पार्टीभित्रको आन्तरिक समस्याको हल नै गर्ने हो भने कम्युनिस्ट पार्टीको १०औँ महाधिवेशनमा पुगौँ । जहाँ लेनिनले पार्टीका सबै गुट समाप्त गरेका थिए,” पौडेलको भनाइ छ, “त्यही दिशामा जानुपर्छ । अराजकता र गुटबन्दी गर्नेलाई पार्टीबाट निष्कासित गर्नुपर्छ ।”
उनले सामाजिक सञ्जालमा पार्टीबाटै नेतृत्व र कार्यक्रमप्रति जथाभाबी टिप्पणी गर्नेलाई कारबाही गर्न समेत माग गरे ।
“पार्टीभित्र सोसल मिडियामा पार्टीको नेतृत्व कार्यक्रमका विरुद्ध तथानाम बोलेको देखिन्छ । आचारसंहिता बनाएर कारबाहीको गर्नुपर्छ । नत्र पार्टी एकतबद्ध हुन सक्दैन,” पौडेलको भनाइ थियो ।
उनले चित्त नबुझेका कुरा पार्टीको बैठकमा नै राख्न आग्रह पनि गरे । “पार्टीले एउटा योजना बनाउने तर त्यसका विरुद्ध अराजकता सिर्जना गर्ने कार्यान्वयन हुन नदिने कुराले एकता हुन सक्दैन,” पौडेल भन्छन्, “चित्त नबुझेका कुरा पार्टीको बैठकमा राख्नुपर्छ । अनुशासित पार्टीमा जोड दिनुपर्छ ।”
उनले रूपान्तरण पार्टीको पदाधिकारीबाटै हुनुर्नेमा जोड दिए । माथिबाटै सांस्कृतिक विचलन आएपछि तल स्खलित हुँदै जाने भन्दै उनले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने बताए ।
'नयाँ दललाई प्रतिस्पर्धा गर्न दिनुपर्छ, प्रतिगमनको भन्डारफोर गर्नुपर्छ'
नेता मुक्ति प्रधानले नयाँ दललाई प्रतिस्पर्धा गर्न दिनुपर्ने बताएका छन् । तर, प्रतिगामी कुरा बोकेकाहरूको भन्डाफोर गर्नुपर्ने उनको भनाइ छ ।
“नयाँ राजनीतिक दललाई प्रतिस्पर्धा गर्न दिनुपर्छ । लोकतन्त्रमा उनीहरूको पनि अधिकार हो । तर, पार्टीबिनाको नेगेटिभ रियाक्सन भोट गयो, त्यो टिक्दैन,” प्रधानले भने, “पार्टीबिना पनि कुनै नेता हुन्छ ? संघीयताविरुद्ध, राजा चाहिन्छ भन्ने प्रतिगामी कुरा स्वतन्त्रले बोकेर आएको छ । त्यसको भन्डाफोर गर्नुपर्छ ।”
उनले अब कता जाने भन्नेमा पार्टी स्पष्ट हुनुपर्ने बताए । “शान्तिपूर्ण संक्रमणमा यही संविधान गठबन्धमा रुमलिने हो कि अघि जाने ?,” प्रधानको प्रश्न छ, “समाजवादको मोडल के हो ? समृद्धिको मोडेल के हो ? संविधानमा बाधक कुरालाई बदल्ने के हो ?”
उनले उत्पीडित जनताको मुक्ति दिलाउने समाजवादतर्फ जानुपर्ने बताए । “समाजवाद भनेका छौँ । त्यसको १२ थरी मोडेल छ । सबैभन्दा उत्पीडित जनताको मुक्ति दिलाउने समाजवाद हो,” उनको भनाइ छ, “हामी अल्मलिनुपर्ने छैन । माओले सबैलाई फुल्न देऊ भनेका छन् । के हामीले सबै फूललाई फुल्न दिएका छौँ ? गमलामा फूल रोपेर बगैँचा हुँदैन ।”
उनले परिवर्तनलाई अपराध मान्नेको अन्त्य जरुरी रहेको समेत बताए । यथास्थितीवादीले जहिले पनि अग्रगामीलाई अपराधी देख्ने गरेको उनको भनाइ छ ।
माओवादीको केन्द्रीय समितिको बुधबारको बैठकमा १८ जना बोलेका थिए बिहीबार ५६ नेताले धारणा राखेका थिए । तेस्रो दिन आज ६८ जना नेताले धारणा राखका छन् ।
माओवादीले जारी केन्द्रीय समिति बैठकबाट नेताहरूको नयाँ कार्यविभाजन गर्ने तयारी गरेको छ । केन्द्रीय समिति सदस्यलाई वडा तहसम्मै खटाउने योजना बनिरहेको नेताहरूले बताएका छन् । त्यस्तै, विधानलाई परिमार्जन गर्न मंसिरमा विधान संशोधन गर्ने तयारी माओवादीको छ ।