काठमाडौं । अष्ट्रेलियामा बाल हेरचाह्र (चाइल्डकेयर)मा काम गरेका एक व्यक्तिमाथि ९१ बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
यो घटनालाई देशको इतिहासको सबैभन्दा खराब बाल यौन दुर्व्यवहार मध्ये एक मानिएको छ ।
४५ वर्षीय यी पुरुषमाथि एक हजार ६२३ वटा फरक–फरक आरोप लागेको हो । जसमा १२६ वटा बलात्कार, ११० वटा १० वर्ष मुनिका बालिकाहरूसँग यौनसम्पर्क गरेको र ६१३ वटा बाल यौन शोषणका सामग्री बनाएको आरोप समावेश छन् ।
अष्ट्रेलियाको संघीय पुलिस (एएफपी)ले मंगलबार यी अपराध सिड्नी, ब्रिस्बेन र विदेशका १२ वटा बाल हेरचाह गृहमा सन् २००७ देखि सन् २०२२ को बीचमा भएको जनाएको छ ।
आफ्नो जागिरका लागि पुष्ठभूमि जाँचपास गरेका ती व्यक्तिले पीडितहरूलाई दुर्व्यवहार गरेको रेकर्ड गरेको आरोप लगाइएको छ । ती सबै किशोरावस्थामा नपुगेका बालिकाहरू थिए ।
प्रहरीले बाल शोषण सामग्रीमा रेकर्ड भएका सबै ८७ अष्ट्रेलियाली बालबालिकाको पहिचान भइसकेको र विदेशमा दुर्व्यवहार भएका चार बालबालिकाको पहिचान गर्न अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गरिरहेको बताएको छ ।
सन् २०१४ मा डार्क वेबमा बाल शोषणका तस्बिरहरू र भिडियोहरू फेला पारेदेखि नै अधिकारीहरूले उक्त व्यक्तिको खोजी गरिरहेका थिए ।
क्वीन्सल्याण्डको गोल्ड कोस्टका अभियुक्त व्यक्तिलाई सन् २०२२ को अगस्टमा बाल शोषणको आरोपमा पक्राउ गरी हिरासतमा राखिएको थियो ।
नाम नखुलाइएका ती व्यक्तिलाई आउँदो अगस्ट २१ मा ब्रिस्बेन मजिस्ट्रेट अदालतमा उपस्थित गराइने भएको छ ।