site stats
बाह्रखरी :: Baahrakhari
कला
दयाहाङका चलचित्रले लगानी सुरक्षित गरिरहेका छन् ?
फाइल तस्बिर ।

काठमाडौं । अभिनेता दयाहाङ राई अभिनीत चलचित्रले गएको आर्थिक वर्षमा करिब साढे २८ करोड रुपैयाँ ग्रस कलेसक्न गरेका छन् । उनी अभिनीत सात चलचित्रले साढे २८ करोड रुपैयाँ कलेक्सन गरेका हुन् ।

चलचित्र विकास बोर्डका अनुसार उनले अभिनय गरेका मध्ये गएको वर्ष ‘जारी’, ‘दुई नम्बरी’, ‘फूलबारी’, ‘के घर के डेरा’, ‘बिहे पास’, ‘नीरफूल’ र ‘राधा’ रिलिज भएका थिए । तर, यी सबै चलचित्रमा उनी सोलो रूपमा मुख्य भूमिकामा छैनन् ।

‘राधा’ पपुलर फेस ठूलो संख्यामा रहेको चलचित्र हो । ‘दुई नम्बरी’मा पनि दयाहाङ मात्र सोलो लिडर रोलमा छैनन् । दयाहाङ र सौगात मल्लको मुुख्य भूमिका रहेको चलचित्र हो, यो । ‘फूलबारी’ पनि मल्टिस्टारर सिनेमा हो । 

Argakhachi Cement Island Ad

पछिल्लो समय नेपाली चलचित्रमा औसतमा दुई करोड रुपैयाँभन्दा माथि लगानी हुन थालिसकेको छ । औसतमा दयाहाङ अभिनीत चलचित्रको लगानी तीन÷तीन करोड रुपैयाँ राख्ने हो भने गएको वर्ष ती सिनेमाको कुल लगानी २१ करोड रुपैयाँ रह्यो ।

२१ करोड लगानी गर्दा उनी अभिनीत सिनेमाले साढे २८ करोड ग्रस कलेक्सन गरेको देखिन्छ । यो ग्रस कलेक्सन डिजिटल राइट्स र फरेन राइट्सबाहेकको रकम हो । राम्रो ब्यानरका सिनेमाले डिजिटल राइट्स र फरेन राइट्सबाट नै लगानीको ठूलो हिस्सा उठाउँछन् ।

तीन करोड लगानी उठाउन चलचित्रले सात करोडभन्दा माथि ग्रस कलेक्सन गर्नुपर्छ । औसतमा ती चलचित्रले लगानी उठाउन कुल ४९ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नुपर्ने देखिन्छ । औसतमा हेर्ने हो भने दयाहाङका चलचित्रले लगानी सुरक्षित गरेको देखिँदैन ।

“पछिल्लो समय अन्य क्षेत्रजस्तै चलचित्र निर्माण पनि निकै महँगो भइसकेको छ, अहिले कमर्सियल सिनेमा बनाउने हो भने औसतमा तीन करोड रुपैयाँ बजेट लाग्छ,” चलचित्र निर्माता रोहित अधिकारी भन्छन्, “तीन करोड लगानी उठाउन पहिलो हप्तामा सात करोड ग्रस कलेक्सन गर्नुपर्छ । यदि, पहिलो हप्ता राम्रो कलेक्सन नगरे पनि त्यसपछिका हप्तामा सिनेमा चल्ने हो भने आठ करोडभन्दा माथि कलेक्सन गर्नुपर्छ । होइन भने निर्माताको लगानी उठ्दैन ।”

कमर्सियल सिनेमाको लगानी नै उच्च हुने गरेको उनी बताउँछन् । स्टार कलाकार लिएर सिनेमा बनाउँदा एक करोड रुपैयाँ पारिश्रमिकमै खर्च हुने गरेको उनको भनाइ छ ।

‘जारी’ले १७ करोड १७ लाख, ‘दुई नम्बरी’ले तीन करोड ८४ लाख, ‘फूलबारी’ले तीन करोड ५३ लाख, ‘के घर के डेरा’ले दुई करोड ६५ लाख, ‘बिहे पास’ले ९४ लाख, ‘नीरफूल’ले ३९ लाख र ‘राधा’ले ६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्