काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेकपा (एमाले)का युवा नेताको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’सरह पनि नभएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।
कांग्रेसका युवाले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरेको उनले उल्लेख गरे । तर, एमालेका युवामा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको उनको भनाइ छ ।
उनले एमालेका युवालाई पनि संसदीय दलको निर्वाचनमा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिए । एमालेका युवा नेताबाट ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ आफूले पाएको उनले सुनाए ।
अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्ने जिकिर उनले गरे ।
“लाइभ हुुनु ठूलो कुरा होइन । अब सबै दलको बैठक लाइभ होला । कांग्रेसले सुरु गर्यो, अरूतिर पनि दबाब पर्ला । तर, प्रश्न के हो भने कांग्रेसको लाइभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाइभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यू भनेर यसरी प्रश्न गर्ने साहस राख्ला ?,” उनले भने, “मैले त एमाले पार्टीका हाम्रो उमेरका साथीहरूलाई भने– ए कमरेड, पाको नेताहरू पनि छँदै हुनुहुन्छ, युवाहरू हामी पनि छौँ भनेर यसो संसदीय दलमा खडा भएको भएको हुन्थ्यो नि । हामी त सभापति देउवालाई, जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा । तर पनि युवाहरू छौँ है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उमेदवार बन्नुपर्छ भनेर खडा भएर हामी त प्रतिस्पर्धा गर्यौँ त । शेरबहादुर देउवा र गगन थापासँगसँगै मुस्कुराउँदै उमेदवारी दर्ता गराउनुभयो त । हाम्रो त यस्तो छ त लोकतान्त्रिक गतिविधि मुस्कुराउँदै । तपाईंहरूले चाहिँ किन नगर्नु भएको ? केपी कमरेड, अब तपाईं होइन हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एकजना मित्रले के भन्नुभयो भने, होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने । हाम्रो त यस्तो अवस्था छ । त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरूले नराम्रो मान्न हुँदैन ।”
महामन्त्री शर्माले कांग्रेसले ०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने बताए । तर, सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने उनले उल्लेख गरे ।