पहाडी खोला छ । खोलाको उँभोपट्टिको भूभाग छ, उँभोखोला । उँधोपट्टिको भूभाग छ, उँधोखोला ।
खोलावारिपिट्टको भेग छ, वारिखोला । पारिपट्टिको भेग छ, पारिखोला । चारै दिशामा बाक्ला गाउँहरू छन् ।
उत्तरतिर युगौँदेखि उभिएको कहालीलाग्दो कालो पहरा छ । यो चट्टानी पहराको नाम गिद्धे पहरा छ । पहरामा युगौँदेखि गिद्धहरूको वास छ । ती बुढा गिद्धहरूलाई पूरै थाहा भएको सिंगो गाउँको इतिहास छ ।
यसै मेसोमा जिज्ञासु युवा गिद्धले बाजे गिद्धलाई अचानक सोध्यो, “बाजे, यो गाउँ किन यति सुनसान छ ? मानिस किन यति सुस्त छन् ?”
बाजे गिद्धले जवाफ दियो, “नाति, पहिले यो गाउँ यस्तो थिएन । युवाहरूले भरिपूर्ण, एकदमै गुल्जार थियो । आजभोलि विदेश जान नसक्ने बुढाबुढी, बालबच्चा, अशक्त र गरिबहरूको बस्ती भएको छ । अब यो कुरुवाहरूको गाउँ हो । यस्तै पारा हो भने छिट्टै देशै कुरुवाहरूको मात्र हुनेछ । र, बन्नेछ कुरुवाहरूको मुलुक ।”
नाति गिद्धले उदेकलाग्दो पाराले सोध्यो, “अनि हामी ?”
बाजे गिद्धले भन्यो, “अनि हामी कुरुवाहरूको देशका गिद्ध ।”
नातिबाजे एकार्कालाई हेर्दै खितित्त हाँसे ।
भित्ताको झुसिल्किरोलाई किनकिन नातिबाजेको त्यो हाँसो बीभत्स प्रतीत हुँदै थियो ।
(खोटाङ)