site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महत–शर्मा द्वन्द्व : गुटको लडाइँ कि वास्तविकता ? 

काठमाडौं । बुधबार प्रतिनिधि सभा बैठकमा अन्य दिनभन्दा फरक दृष्य देखियो । प्रतिपक्षले अवरोध गर्न खोज्दाखोज्दै सत्तापक्ष अर्थात् कांग्रेसका सांसद सुनील शर्माले आफ्नै पार्टीका नेतासमेत रहेका अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरे ।

करिब एक क्विन्टल सुन तस्करी काण्डमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म बैठक चलाउन नदिने अडान राखेकै बेला शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

तर एमालेले भने गृहमन्त्रीकोमात्रै राजीनामा माग गरेको थियो ।

शर्मा मोरङ ३ बाट निर्वाचित सांसद हुन् ।

उनले दुई मन्त्री (गृह र अर्थ)ले राजीनामा नदिए संसद्मै अनसन बस्ने चेतावनी समेत दिए । 

डा. शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतले मुख्य अभियुक्त पक्राउ नपरुन्जेल राजीनामा दिनुपर्ने बताए । उनले विश्व इतिहास र नेपालको इतिहासलाई पनि उदाहरण दिँदै राजीनामा माग गरेका हुन् । 
“संसारमा यस्ता घटना आउँदा नैतिकताको आधारमा राजीनामा दिने र अनुसन्धानमा सहयोग गर्ने चलन छ । ०४६ पश्चात् नेपालमा डा. रामशरण महत मन्त्री भएका बेला डलर खाता छ भनेपछि उहाँले राजीनामा दिनुभयो । डा. मिनेन्द्र रिजालले पनि चुनाव हारेपछि राजीनामा गर्नुभयो । रुक्मांगत कटवाल काण्डमा पनि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुभएको छ,” उनले भने । 

गृह र अर्थमन्त्रीले मुख्य नाइके पक्रन नसके आफू संसद् बैठकमै अनसन बस्ने उनले जानकारी गराए । 

“अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले भरिया मात्र हैन मालिकलाई पक्राउ गरेँ भन्नुपर्थ्यो । समय लिएर भन्नुपर्छ पक्राउ गर्छु भन्नुपर्छ,” उनले भने, “प्रधानमन्त्री आएपछि म यही संसद्मा अनसन बस्छु ।”

सत्तारूढ दल त्यसमाथि आफ्नै दलबाट अर्थमन्त्रीको राजीनामा किन मागियो ?  सांसद शर्माको यस्तो अभिव्यक्ति किन आयो भन्ने कौतुहलता राजनीतिक वृत्तमा बढेको छ । 

बुधबार साँझ नै नेपाली कांग्रेस केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गरेर अर्थमन्त्री महतले जवाफ दिए ।

डा. सुनीलले व्यक्तिगत इगोका कारण आफ्नो राजीनामा माग गरेको डा. महतको तर्क छ । महतले स्वास्थ्य बिमा कार्यक्रम र त्यसबापतको रकमको विषयलाई जोडेर संसद्मा अराजकता प्रस्तुत गरेको दाबी गरे । 

महतले पत्रकार सम्मेलनमा भनेको विषय :–
यही हो अराजकता अनुशासनहीनताको चरम । उहाँको हस्पिटल छ । स्वास्थ्य बिमा बोर्ड भन्ने स्वास्थ्य मन्त्रालयमा छुट्टै एउटा संरचना छ । कसले बिमा पाउने नपाउने भन्ने विषयमा हामीले पनि बिमा पाउनुपर्यो भन्ने उहाँको भनाइ हो । तर, मैले चाहिँ निर्णय गरेर हुने कुरा होइन त्यो बिमा बोर्डले निर्णय गर्छ । तै पनि यो समान हिसाबले दिइयोस्, कसैलाई दिने कसैलाई नदिने नहोस् भनेर सम्बन्धित पदाधिकारीलाई बोलाएर मैले भनेँ । यो कार्यक्रमको संयोजकको शोक परेकाले उहाँ उपस्थित हुन पाउनुभएन । सरकारको बिमा दिने नीति स्वास्थ्य बिमा दिने नीतिभित्र र त्यसको बजेटभित्र रहेर क–कसले कसरी पाउने एउटा समान कोणबाट दिनुपर्छ त्यसमा दुई मत छैन । त्यो कुरामा उहाँको चाहिँ के कुरा थियो भने मैले भने तुरुन्तै भइहाल्छ त्यसकारण तपाईंले नभनेर नभएको भन्ने उहाँको कुरा । म त कुनै राणाकालको शासक होइन कि मैले चाहिँ बोल्ने अनि भइहाल्ने । त्यसको प्रकृया हुन्छ संस्थागत संरचना छ त्यो नहुनेबित्तिकै उहाँ भड्किएर जथाभावि यसरी बोल्नुभएको छ । कल्पना कसैले गर्न सक्नुहुन्छ प्रकाश महत यस्तोमा सहयोगी हुन सक्छ ? बीचमा यो हटेको थियो मैले नै बजेटमा प्रस्ताव गरेको हो सूचना दिनेलाई १० प्रतिशतसम्म पुरस्कार दिने भनेर । कतिपय अवस्थामा जसलाई जिम्मेवारी दिएको छ दुरुपयोग गर्न सक्छ, नयाँ–नयाँ हतकन्डा अपनाएर तस्कर गर्न सक्छ । कहिलेकाहीँ सम्पूर्ण कोसिसको बाबजूदत उम्किन्छ । कुनैबेला उदासिनता अथवा मिलेमतोमा पनि त्यस्तो हुन्छ । त्यसको छानबिन भइरहेको छ राजश्व अनुसन्धानले पुलिसको साथ लिएर । कतिपय पक्राउ परिसकेका छन् थप अनुसन्धान हुँदैछ । अनुसन्धान प्रक्रियामा हाम्रो पूरा साथ सहयोग छ । यो पक्राउ गर्नु राम्रो हो नि । यसमा पनि हामीले विभिन्न प्रश्न उठेको आश्चर्य चकित छौं ।

पार्टीले यो विषयमा कारवाही गर्छ त भन्ने प्रश्नमा उनी संस्कार विपरीत अभिव्यक्ति दिने शर्मालाई कारबाही हुने बताउँछन् ।  

“अवश्य पनि यस्तो प्रवृत्तिलाई पार्टीले हेर्नुपर्छ । नेतृत्व तहमा कुरा राखेको छु । कुरा एउटा यो भयो त्यो भयो भएको नभएको तथानाम कुरा गर्न पाइन्छ ? यो कुनै संस्कार हो हाम्रो पार्टीको ?,” महतले आक्रोश पोखे, “उहाँले पटक– पटक आएर तपाईंले भन्दिए आजै हुन्छ किन नगरिदिएको ? कुरा एउटा छ तिर अर्कोतिर मार्ने ?” 

सुनील शर्मा भन्छन्– राजनीति भविष्यमा दाउमा लगाएर बोलेको छु 

यो विषयले कांग्रेसभित्रै स्वार्थ टकराव देखिएको छ । शर्मा मेडिकल व्यवसायी हुन् । उनको मोरङको विराटनगरमा नोवेल मेडिकल र काठमाडौंमा पनि काठमाडौं मेडिकल कलेज छ । बिमा कार्यक्रम नोबेलमा लागू भएको थियो । गत आर्थिक वर्षको बजेटबाट मेडिकल कलेज र निजी अस्पताललाई बिमा कार्यक्रम नदिने घोषणा भए पनि त्यसअघिको बिमा कार्यक्रमवापत् पूर्ण भुक्तानी सरकारले गरेको छैन । त्यसैले शर्माले यो कुरा निकालेर पटक–पटक आफूसँग छलफल गरेर त्यसबापत रकम र कार्यक्रम मागेको आरोप अर्थमन्त्रीको छ । 

यता, सुनीलले भने राजनीतिक भविष्य दाउमा लगाएर ‘तानाशाह’ र ‘तस्कर’ विरुद्ध लडेको बताउँछन् । 

आफ्नो मेडिकल कलेज राम्रै चलेको भन्दै आफूलाई स्वास्थ बिमा कार्यक्रम नचलाउँदा पनि फरक नपर्ने दाबी शर्मा गर्छन् । बाह्रखरीसँग उनले स्वास्थ्य बिमालाई जोडेर अर्थमन्त्रीले फेस सेभिङ गर्न चालेको कदमको संज्ञा दिएका छन् । 

“मैले अर्थमन्त्री मागेको हो र ? स्वास्थ्य बिमा कार्यक्रम चलाउँदा र नचलाउँदा मलाई के फरक पर्छ र ? अस्पताल राम्रै चलेको छ, म हाइयर ट्याक्स पेयर हो नेपालको,” शर्माले बाह्रखरीसँग भने, “मैले मेरो राजनीति दाउमा ल्याएर स्वास्थ्य बिमा कार्यक्रममा रिसाएर यसरी प्रस्तुत हुन्छु होला ? म मुर्ख र बेवकुफ छु होला र ? मैले आफ्नो राजनीति सक्ने निर्णय गरेको छु नि ! नेपालमा तानाशाहहरुसँग लड्न गाह्रो छ । अनि स्वास्थ्य बिमा कार्यक्रमलाई लिएर यत्रो रिस्क लिन्छु होला त ?”

शर्माले अहिलेको प्रकरणमा डा. महतलाई पार्टी सभापति शेरबहादुर देउवाले चाहे पनि बचाउन नसक्ने बताउँछन् । जसले यो विषयको बचाउमा उत्रिन्छ उ तस्कर हुने धारणा उनको छ । 

“स्वास्थ्य बिमा कार्यक्रम हामीले अहिले चलाएको छैन । स्वास्थ्य बिमा दिने स्वास्थ बिमा अन्तर्गतको बोर्डले हो । मानिलिउँ हामीले स्वास्थ्य बिमा माग्यौं अरे ! नागरिकले स्वास्थ्य बिमा माग्न नपाउने हो र ? त्यो विषयलाई यहाँ ल्याएर जोडेर आफ्नो फेस सेभिङ गर्न खोज्ने?,” शर्माले भने, “उनी आत्तिएका हुन् । अनसन बसेपछि अवस्था फरक भैहाल्छ । म मेडिकल एशोसिएसनको लाइफ टाइम मेम्बर पनि हो । यो कुरा पनि उनले विचार गरेका छैनन् । उनको दिनगन्ती सुरु भएको हो । यिनीहरुले ह्विस्की आयातमा पनि प्रतिदिन अडाई करोड लिन्छन् भन्ने कुरा आएको छ । यो देश लुट्नेहरूको ठूलो नेक्सस छ यहाँ । यसमा नागरिक समाज र मिडियाहरूको भूमिका कस्तो हुन्छ त्यसमा भर पर्छ । नागरिक चाहिँ दुःखमा पर्ने यिनीहरुले देश लुटिरहने  ? अब नबोलेर हुँदैन ।”
 

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro