काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् ।
बिहीबार विमानस्थल र भन्सार अनुगमनपछि मन्त्री महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।
“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्ष अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने ।
सो अवसरमा मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिक रूपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।
“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”, उनले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएको खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।”
अपराध गर्ने, तस्करी गर्ने मनसाय भएका व्यक्तिहरूले नयाँ–नयाँ प्रयोग गरिरहेका हुन्छन् । त्यसकारण हामीले पनि प्रविधिलाई त्यहीअनुरुप अपग्रेट हुनुपर्ने मन्त्री डा. महतको भनाइ थियो ।
अहिले असाधारण गतिविधि भइरहेको छ, अनुसन्धानमा जोडिएका साथीहरूले यसबारे निगरानी गर्नुपर्छ । यही निगरानीका आधारमा सूचना आदान–प्रदान गर्नुपर्छ । यदि यसो भयो भने अपराध गर्ने मानसिकता भएका व्यक्तिको प्रयास विफल हुने बताए ।
सुन तस्करीको घटनामा पनि सूचनाकै आधारमा पक्राउ परेको बताउँदै मन्त्री महतले भने, “सबैको भूमिका यसमा महत्वपूर्ण हुन्छ, एउटैको मात्र भूमिकाले राम्रो नतिजा आउँदैन ।”
नेतृत्वमा नयाँ साथीहरु आउनु भएको छ, उहाँहरूलाई चाहिने प्रविधि अपग्रेट गर्नका लागि अर्थ मन्त्रालय पूरा सहयोग गर्न तयार रहेको उनले बताए ।