site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रीले उद्धाटन गरेको ‘बिजनेस सेन्टर’मा पोखरा महानगरको ताला

पोखरा । गत शुक्रबार प्रदेशमन्त्रीले उद्धाटन गरेको ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ मा पोखरा महानगरपालिकाले ताला लगाइदिएको छ । गण्डकीका कृषि तथा भूमिव्यवस्था मन्त्री महेन्द्रध्वज जीसीले शुक्रबार मात्रै सेन्टरको उद्धाटन गरेका थिए ।

पोखरा । गत शुक्रबार प्रदेशमन्त्रीले उद्धाटन गरेको ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’मा पोखरा महानगरपालिकाले ताला लगाइदिएको छ । गण्डकीका कृषि तथा भूमिव्यवस्था मन्त्री महेन्द्रध्वज जीसीले शुक्रबार मात्रै सेन्टरको उद्धाटन गरेका थिए ।

नेपालका चर्चित विभिन्न १० कम्पनीका करिब दुई दर्जन ब्रान्डका जुत्ता, चप्पलको साझा बिक्री कक्ष गर्ने भनेर ‘पोखरा फुटवेयर बिजनेस सेन्टर’ सञ्चालनमा आएको थियो । यहाँ १० कम्पनीका साझा उत्पादनको बिक्री एकै ठाउँबाट गर्ने बताइएको थियो ।  

जुत्ता, चप्पलको साझा बिक्री कक्ष पोखरा फुटवेयर बिजनेस सेन्टरमा करिब एक करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको हो । यहाँ शिखर, सु–ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुटस्टेप, बोस सुज, रन सुज, ब्याम्बो सुज, स्मार्ट सुज, हिमानी कलेक्सन कम्पनीका हजारौँ उत्पादन एकै छानामुनि खरिद गर्न सकिने भनिएको थियो  ।

तर, दर्ता नगरेको भन्दै पोखरा महानगरपालिकाले मंगलबार ताला लगाइदिएको छ । ताला लगाउन पुगेका नगर प्रहरीले मेयर धनराज आचार्यको मौखिक आदेशमा कदम चालिएको बताए । 

यसका सञ्चालक भने उनीहरूले झन्डै एक महिनाअघि देखि दर्ताका निवेदन दिए तापनि महानगरले दर्ता नगरिदिएको बताउँछन् । व्यवसायी सविन कार्कीले आफूहरूले कम्पनी दर्ताका लागि निवेदन दिए पनि महानगरले तामेलीमा राखेको बताए । 

दशवटा कम्पनीका जुत्ता एकैठाउँबाट कारोबार गर्ने भनेपछि पोखराकै व्यवसायीहरूले सुरुमा विरोध जनाए । उनीहरूको भनाइ छ, "१० वटा कम्पनीको कारोबार १० वटा कम्पनीबाटै गर्नुपर्छ ।"

त्यसपछि कार्कीलगायतको समूहले छुट्टाछुट्टै कम्पनी पनि दर्ता गर्‍यो । आन्तरिक राजस्व कार्यालयदेखि घरेलु उद्योग कार्यालयमा पनि दर्ता गरे । स्थायी लेखा नम्बर (प्यान) लिए ।

पोखरा महानगरपालिकाको वडा नम्बर ८ को कार्यालय सिर्जनाचोकभन्दा केही तल छ । त्यहीँ नजिकैको एउटा अस्थायी ट्रस बनाइएको छ । त्यही ट्रसमा खोलिएको पोखरा फुटवेयर बिजेनस सेन्टरको उद्धाटनमा स्वयं वडाध्यक्ष रुद्रनाथ बराल पनि पुगेका थिए ।

आफ्नो वडामा नयाँ व्यवसाय थपिएपछि उनले व्यवसायीको प्रशंसा गरे । वडाको सहयोग चाहिएमा सहजीकरण गरिदिने प्रतिबद्धता पनि जनाए ।

व्यवसायीहरूले वडा कार्यालयमा कम्पनीको दर्ताको निवेदन पनि बुझाए । तर, १० कम्पनीको निवेदन पर्दा दर्ता चाहिँ एउटा मात्रै भयो । बाँकी प्रक्रिया नपुगेको भन्दै वडा कार्यालयले थन्काएको छ ।

उनीहरूले दिएको निवेदनमध्ये विकास खत्रीको नाममा ‘नेपाली जुत्ता घर’ गएको असार १३ गते विधिवत् दर्ता भयो । वडाध्यक्ष रुद्रनाथ बरालले हस्ताक्षर गरेर विकास खत्रीको नाममा व्यवसाय दर्ता प्रमाणपत्र दिएर व्यवसाय गर्न इजाजत पत्र दिए । सोही विधि र प्रक्रियाबाट दर्ता गर्न निवेदन दिँदा अन्य नौवटा कम्पनीको भने दर्ता रोकियो ।

असारमा नै दर्ता अनुमति मागेका उनीहरूलाई महानगरपालिकाले त्यतिबेला नयाँ आर्थिक वर्षमा आउन भनेका थिए । साउन १ गते कार्यालय पुगेका उनीहरूलाई ७ महानगरले ७ गतेसम्म सफ्टवेयर नचलेको भन्दै महानगरले फर्काइदियो ।

सोमबार भने महानगरपालिकाले ताला नै लगाइदिएको छ ।

कार्की भन्छन्, “हामीले सुरुमा एउटै नामबाट दर्ता गरेर मल्टिब्रान्डेड सोरुम खोल्न चाहेका थियौँ । तर, महानगरले मानेन । व्यापारीहरूले त्यो मेला हो, मेला गर्न नदिने भने । ठिक छ भनेर हामीले छुट्टाछुट्टै दर्ता गर्छौं र चलाउँछौँ भनेर भन्यौँ । हामीले दर्ता गर्‍यौँ । त्यसपछि हामीले महानगरमा दर्ता निवेदन दियौँ, तर एउटा मात्र दर्ता भयो, सोही प्रक्रियाका अरू कम्पनी दर्ता भएनन् ।”

व्यवसाय सुरु भएको पाँच दिनपछि बिनासूचना महानगरले ताला लगाउनुलाई उनले 'दादागिरी'को संज्ञा दिए । पोखराका व्यापारीहरूको विरोधका कारण नै महानगरले तालाबन्दी गरिदिएको उनको आरोप छ ।

“मेयरले यसअगाडि व्यापारीलाई मर्का पर्छ भनेर हामीलाई चिठी लेख्नुभएको थियो । हामीले सस्तोमा जुत्ता बेच्छौँ, उनीहरूले लुट्न पाउँदैनन् भन्ने त हो नि । यही कारणले ताला लगाइएको हो,” उनले भने ।

आफूहरूले कानुनीरूपमा जान खोज्दा पनि १० दिनदेखि दर्ताकार्य पेन्डिङमा रहेको उनले बताए । “४० जनालाई रोजगारी दिएको छ, करोड लगानी गरेको छ, हामीले कारोबार त गर्नुपर्‍यो नि, महानगरले पनि दर्ता गरिदिनुपर्‍यो नि । कि समय दिएर यो प्रक्रिया भएन, यति दिनभित्र दर्ता गर भन्ने हो कि, गुन्डागर्दी शैलीमा बन्द गर्ने हो ?”

यता वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले भने व्यवसाय सञ्चालन भएको संरचना (ट्रस) को निर्माण सम्पन्न अनुमति नभएको बताए । 'वडामा दर्ताका लागि निवेदन आएको थियो कि थिएन ?' भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन सकेनन् । उद्धाटनमा आफैँ सहभागी भएको फुटवेयर बिजनेस सेन्टरमा महानगरले ताला लगाएको बारेमा जिज्ञासा राख्दा उनले आफूले ताला लगाइसकेपछि मात्रै थाहा पाएको बताए ।

“एकजना व्यक्तिले जग्गा भाडामा लिएको, अस्थायी संरचना बनाएको र त्यसको सम्पन्न अनुमति नलिएको रहेछ । अनुमतिको पनि प्रक्रिया महानगरमा निवेदन परेको रहेछ, प्रक्रियामा छ,” उनले भने ।

वडामा आएको १० कम्पतीको दर्ता निवेदनमध्ये एउटा मात्रै कसरी भयो, अरू किन रोकिए त ?

बराल भन्छन्, “खै कताबाट झुक्किएर भएछ, मैले उनीहरूलाई (व्यवसायी) भोलि राजस्वको दाखिलामा आउनुहोस् भनेर भनेको छु । भोलि आउँदै छन्, त्यसपछि काम हुन्छ ।”

महानगरले ताला लगाउँदा निश्चित समय दिनुपर्ने तर नदिएको उनले स्वीकार गरे । राजस्व र घरेलुमा दर्ता भएको तर महानगरमा नभएका कारण नै ताला लगाइएको उनले प्रस्ट पारे ।

बुधबार महानगरपालिकामा छलफल गरिने र त्यहीँबाट थप प्रक्रियाको टुंगो लाग्ने उनले बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २१:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro