site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नदी र मुस्कान, केही दृष्टिकोण : केही विश्लेषण र सुकिला मान्छेको सामूहिक मृत्यु
Sarbottam CementSarbottam Cement

नदी र मुस्कान
(कवितासंग्रह : सरिता थापा/सुस्मिता नेपाल)
दुई कवि दिदीबहिनीको काव्य सँगालो हो, ‘नदी र मुस्कान’ । कृतिका सर्जक हुन्, सरिता थापा र सुस्मिता नेपाल । कवि थापा नर्वेमा बस्छिन् । दिदी सुस्मिता नेपालमै बसेर आफ्नो सिर्जनकर्ममा सक्रिय छिन् ।

कृतिमा सरिता आफ्नो भनाइमा लेख्छिन्, “सर्जकको लागि आफ्नो सिर्जनाहरू सुन्दर लाग्छ र असाध्यै माया हुन्छ । पाठक ऐना हो र यसमा प्रतिविम्बित भइसकेपछि मात्र त्यस सिर्जनाको सौन्दर्यको मूल्यांकन हुन्छ ।”

सुस्मिता लेख्छिन्, “...कवितासँग जति नजिकको नाता गाँस्दै जान थालेँ त्यति नै अनुभूतिका गहिराइमा डुब्दैडुब्दै जान थालेँ । यही समयमा कवितासँग अझ नजिक बनाउने काम आफ्नै घरको वातावरणले दियो । यही वातावरणमा म र बहिनी सरिताले सँगसँगै कविता लेख्न थाल्यौँ ।”

Prabhu Bank
Agni Group
NIC Asia

दुई दिदीबहिनीको कविताकृतिको भूमिकामा प्रा. डा. अभि सुवेदी लेख्छन्, “यो कविताको किताब दिदी (सुस्मिता नेपाल) र बहिनी (सरिता थापा) को संयुक्त संकलन होइन । यो एउटा साझा चौतारी मात्र हो, जहाँ उनीहरू एकपटक फेरि सिर्जनाका आफ्ना प्रयोग र लय, अभिव्यक्ति र दृष्टि लिएर सँगै बसेका छन् । यो उनीहरूको एउटा साझा आकाश हो, एउटा साझा रंगीन क्षितिज हो, जुन मौन भए पनि वाचाल छ, लयमा सुनिन्छ र काव्यरचनामा देखिन्छ ।”

साहित्यकार मञ्जुल लेख्छन्, “म साहित्य र संगीतमा समर्पित योद्धाको रूपमा हुँदा सुस्मिता र सरिता साहित्य र संगीतका पुजारी मात्र थिए । उनीहरू साहित्य र संगीतलाई मन पराउँथे, आफैँ लेख्दैनथे । तर, घरमा आउने अग्रजहरूको प्रेरणा र प्रोत्साहनले, आफ्नै उमेर मिल्दा साहित्यकारहरूको मायाले उनीहरूले पनि लेख्न थाले ।”

Global Ime bank

यस काव्यकृतिभित्र सरिता थापाका ५१ र सुस्मिता नेपालका ६५ कविता संगृहीत छन् ।

कुल १८४+४ पृष्ठको यो कृति फेलाम नेपालले प्रकाशनमा ल्याएको हो ।

०००

केही दृष्टिकोण : केही विश्लेषण
(समालोचना : डा. दुर्गाबहादुर घर्ती)
प्राध्यापन पेसामा संलग्न डा. दुर्गाबहादुर घर्तीको समालोचनात्मककृति हो, ‘केही दृष्टिकोण : केही विश्लेषण’ । यसअघि उनका तीन पुस्तक सार्वजनिक भइसकेका छन् ।

कृतिभित्र डा. घर्ती लेख्छन्, “प्रस्तुत समालोचनासंग्रहमा तीनओटा सैद्धान्तिक र दशओटा प्रायोगिक समालोचना रहेका छन् । प्रायोगिक समालोचनामा पनि सैद्धान्तिक कुरा मिसिएका छन् । सैद्धान्तिक समालोचनाको मोहले भन्दा पनि सैद्धान्तिक आधारका लागि त्यसो हुन गएको छ । प्रायोगिक समालोचनामा गद्य विधाका रचना मात्र चुनिएका छन् ।...।”

यस संग्रहको प्रकाशकीयमा उल्लेख छ, “...कृति नेपाली विषयमा अध्ययन गर्ने देशभरिका विद्यार्थीका साथै स्वतन्त्र अध्येताका लागि पनि त्यत्तिकै उपयोगी त छँदै छ, नेपाली विषय पढाउने सबै तहका शिक्षक तथा प्राध्यापकका लागि पनि स्रोत सामग्री बन्नेछ भन्ने आशा लिएका छौँ ।...।”

पुस्तकमा ‘आख्यानको अध्ययन पद्दति’सँगै १३ समालोचना संकलित छन् ।

ओरिएन्टल पब्लिकेसन हाउसद्वारा प्रकाशित २२०+४ पृष्ठको यस पुस्तकको मूल्य ४००– रुपैयाँ राखिएको छ ।

०००

सुकिला मान्छेको सामूहिक मृत्यु
(कवितासंग्रह : राजेश ढुंगाना)
कवि राजेश ढुंगानाको काव्य सिर्जना तीसको दशकदेखि नै सुरु भएको हो । उनी कवितामा मात्र नभई पत्रकारितामा पनि लामो समय सक्रिय रहे । उनै पत्रकार/कवि ढुंगानाको पहिलो कृतिको दोस्रो संस्करण हालै सार्वजनिक छ, ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ । यसको पहिलो संस्करण २०७० सालमा प्रकाशित भएको थियो ।

कवि ढुंगाना लेख्छन्, “तीन दशकभन्दा अघिदेखि कवितासंग्रह निकाल्ने योजना यति बेला साकार भएको छ । कहिले मनले दिएन, कहिले रक्सीले दिएन, त कहिले आफ्नैविरुद्धको विचारले दिएन । आ... मेरो कविता ननिस्किँदैमा दुनियाँलाई के फरक पर्छ र ? भन्ने सोच नै यसको मूल कारण रह्यो । तर, यसपटक आफ्ना माथिका विचारमा अडिन नसकेर यो संग्रह निकालेको छु...।”

कृतिको भूमिकामा आख्यानशिल्पी डा. धु्रवचन्द्र गौतम लेख्छन्, “उनका कविता मानिस, मन, स्वतन्त्रता, देश र जनतावरिपरि घुमेका छन् । कवितामा आफ्नो समयप्रति, चिन्तन र चिन्ता दुवै बलियो किसिमले व्यक्त भएका छन् ।...।”

पुस्तकको अन्तिम पृष्ठको ब्लर्बमा साहित्यकार अशेष मल्लले लेखेका छन्, “मैले भेटेको, चिनेको र बुझेको त्यो भर्खरको युवा राजेशको आँखामा सधैँ विद्रोह देख्थेँ । पञ्चायती निरंकुशताविरुद्धको विद्रोह । स्वतन्त्रताको पक्षधर । स्पष्ट वक्ता । निडर । अनि, यी सबै प्रवृत्तिका विम्बहरू उनका सिर्जनामा देखिन्थे ।...।”

ब्लर्बमै कवि डा. विष्णुविभु घिमिरेले लेखेका छन्, “आकारमा छोटाछोटा लाग्ने उनका कविता अत्यन्त तीक्ष्ण भाव र भावनालाई समातेर कलात्मक रूपमा अभिव्यक्त भएका छन् । प्रतीक र विम्बहरूको सन्तुलित प्रयोग र सरल भाषामा बुनिएका यी कविताहरूमा जो कोही पाठक पनि गहिरो रूपमा आकर्षित हुन्छ ।...।”

कवि ढुंगानाको यो कृतिभित्र कुल ५५ कविता समावेश छन् ।

मुकुन्द ढुंगानाद्वारा प्रकाशित १२४+४ पृष्ठको यस पुस्तकको मूल्य ३५०– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय