site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सानीकाफ्लीबाट जीवनको पारदर्शन 
Sarbottam CementSarbottam Cement

आज म मेरो गाउँ माथिल्लो खस्यौलीको पूर्वी किनारामा अवस्थित सानीकाफ्लीको चौपारीमा टुसुक्क बसेको छु, एक्लै । सानीकाफ्ली अर्थात् सानो काफल । काफलको सानो रुख, जसमाथि जो पनि चढ्न सक्थ्यो । त्यस्ता वृक्षहरू त्यहाँ अरू पनि थिए र अहिले पनि छन् । किन्तु, एउटा सानो वृक्षले मायालाग्दो नाम पायो, ‘सानीकाफ्ली’ ।

सालिन्दा मिठा दानाहरू फल्ने । झुम्म परेको र सहजै चढ्न सकिने । झटारो हान्नु नपर्ने र लोट्ने डर नहुने । प्यारी सानीकाफ्ली । वृक्ष नामबाट स्थान नाम पाएकी सानीकाफ्ली । सानीकाफ्ली मरेर गएको धेरै भयो । सायद म जन्मदासम्म थियो कि !

त्यही सानीकाफ्लीको जीर्ण चौपारीमा बसेर पारि पूर्वतर्फ हेरेँ । पौने तीन सय वर्षसम्म बृहत् पाल्पा राज्यका राजाको दरबार रहेको ठाउँसम्म पुग्न यहाँबाट २० मिनेट लाग्छ । त्यहाँबाट यहाँसम्म डोरी टाँग्ने हो भने त जम्मा चार सय मिटर मात्र होला । पाल्पाली वीरता, वैभव र गौरवको निसानी त्यो किल्ला आज पुरानोकोटको नामले जंगलभित्र लुकेर बसेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यही सानीकाफ्लीमा बसेर गाउँलेहरूले राजमहलका गतिविधिको प्रत्यक्ष अवलोकन गरे होलान् । राजप्रासादमा हुने राजसभाहरू, सवारी, बढाइँ, स्वस्तिगान र अभिनन्दन देखे होलान् ।

त्यति मात्र होइन, राजकुमारीलाई डोली चढाएर बिदाइ गर्दा रुने राजसी नारी र  रैती नारीहरूको रोदनका छुट्टाछुट्टै स्वरलहरीहरू पनि सुनिए होलान् ।

Global Ime bank

पाल्पा सधँै गोर्खालीको मावली र ससुराली रह्यो । पृथ्वीनारायण शाहको मावली पाल्पा । उनले छोरा प्रतापसिंह शाहको विवाह पाल्पाबाटै गराए राजेन्द्रलक्ष्मीसँग, जो रणबहादुर शाहकी महातारी हुन् ।

राजकुमार बहादुर शाहले पनि पाल्पाली राजकुमारीसँग नै विवाह गरे । पछि जोगी भएर हिँडेका स्वामी महाराज रणबहादुर शाहले पनि पाल्पाली राजकुमारी नजरहजुरसँग विवाह गर्न भनी डोला झिकाएका थिए ।

बहिनीलाई कन्यादान गर्न काठमाडौं गएका पाल्पाली राजा पृथ्वीपाल सेनलाई पाटनमा थुनेर राखियो । विवाहको कुरा त्यसै हराएर गयो । विक्रम संवत् १८६३ को वैशाख १५ गते राति रणबहादुर शाहलाई आफ्नै भाइ शेरबहादुर शाहले तरबारले हानेर मारे ।

सर्वेसर्वा भएका भीमसेन थापाले त्यसको भोलिपल्ट १६ गते बिहान रणबहादुरको हत्यामा पाल्पाली राजाको पनि हात रहेको झुटा आरोप लगाउँदै राजालाई काट्ने आदेश दिए । आरोपितहरूलाई काट्ने कार्यमा खटिएका कर्मचारीमध्ये कोही पनि पाल्पाली राजालाई काट्न तयार भएनन् !

‘को तयार छ ?’ भनेर सोध्दा विराज बिस्ट नामको अर्दलीले ‘म काट्छु’ भनेर तयार भयो । उसले राजालाई काटेर दुई टुक्रा पारेबापत लप्टनी दर्जा पायो ।

नरभूपाल शाहको मावली पाल्पाली सेन वंशकै सन्तान राजा रहेको तनहुँ राज्यमा पर्दथ्यो । पृथ्वीनारायण शाहको पहिलो विवाह पनि पाल्पाली राजा मुकुन्द सेन (प्रथम)कै सन्तान मकवानपुरे सेन राजकुमारी इन्द्रकुमारीसँग भएको थियो ।

पृथ्वीनारायण शाहलाई राज्यविस्तारको दीक्षा दिने गुरु पनि युवराज उद्योत सेन नै थिए ।

पाल्पाले गोरखालाई आफ्नो झोलीको देवताको रूपमा मानेकै थियो । उसले सहज तरिकाले नै आफ्ना सन्ततिको हातबाट वृहत्तर नेपालको निर्माण र शासनलाई नैतिक र भौतिक सहयोग गरेकै थियो । तैपनि, सोझा पाल्पाली राजाको त्यस्तो बीभत्स हत्या भयो । मान्छे काट्ने काममा खटिएको कर्मचारीले राजालाई तरबार हान्न इन्कार गर्यो । किन्तु, एउटा लोभी अर्दलीले हान्यो र लप्टनी दर्जा पायो ।

राजकाजमा यस्ता घटना भएका छन् । परन्तु, झन्डै तीन सय वर्षसम्म त्यस बखतको सन्दर्भमा एउटा पहाडी साम्राज्यको रूपमा स्थापित देशको राजधानी रहेको ‘पाल्पा’ आज एउटा परित्यक्त अनाथझैँ ठिङ्ङ उभिएको देख्दा छातीभित्र कतै चसक्क बिझ्यो । मनमा अनेकौं शृंखलाहीन विचारहरू आइरहे ।

सानै थिएँ । छिमेकी द्रोणप्रसाद नेपाल (हामी उहाँलाई ठूलोबा भनेर सम्बोधन गर्द्थ्यौँ)को घरको आँगनमा गुन्द्रा, काम्ला बिछ्याइएको थियो । त्यहाँ पाँच–छजना मानिस बसेका थिए ।

तीमध्ये द्रोणप्रसाद बुवाका बहिनीज्वाइँ पण्डित उमानाथ शर्मा रेग्मी अनेकौँ व्यक्तिका चिना हेर्दै र भाग्योद्घोषण गर्दै हुनुहुन्थ्यो । पाको उमेरका हँसिला र रसिला ज्योतिषी हुनुहुन्थ्यो उहाँ । कसैलाई पनि मनमा पीर र निराशा उत्पन्न हुने गरी अत्याउने उहाँको स्वभाव थिएन ।

मैले छेउमा काम्ला सकिएर गुन्द्राको सिमाना सुरु हुने ठाउँमा बसेर अनेकौँ भाग्यका रहस्योद्घाटन सुनिरहेँ । त्यत्तिकैमा कसैले मलाई देखाउँदै सोध्यो, ‘यसको भाग्य कस्तो होला हजुर !’

उहाँले मलाई हेर्नुभयो । भलादमी मानिसले फोहोरी केटाकेटीलाई पनि दूरदूर गर्दैनन्, बरु प्रोत्साहन र प्रेरणा दिन्छन् । ‘यो लडका शिखरमा पुग्नै लागेको बेलामा लड्खडाएर लड्नेछ, यसले फेरि प्रयास गर्नेछ, प्रयास गरिरहनेछ ।’ मैले शब्द याद गरेँ ।

पूरा नबुझे पनि मेरो जिन्दगी गन्तव्यमा पुग्नै लागेको बेलामा लडखडाउनेछ भन्ने कुरा बुझेँ मैले ।

उहाँले जे भन्नुभयो, ती शब्दलाई सुन्ने र केलाउने मबाहेक कोही थिएन त्यहाँ । मलाई ती शब्दशब्दले निरन्तर पिरोलिरहे । बुझ्नेका लागि समेत पहेलिका झैँ प्रतीत हुने ती शब्दहरूको अर्थ सायद म एक्लोमा सीमित थिएन ।

बिनाचिना र बिनाहस्तरेखा कसको छोरो हो भन्ने पनि चाल नपाई गरिएको त्यो उद्घोषले सायद जीवनका आरोह÷अवरोह, विनम्रता, अभिमान र पतनका सार्वभौम नियमतर्फ संकेत गर्दथ्यो ।

जीवनको क्षणभंगुरता र नश्वरतालाई बिर्सेर मनुष्यले आफैँलाई शाश्वत, सनातन र अमत्र्य ठान्न थाल्दछ । परन्तु, विडम्बना कस्तो भने उसको भीमकाय देहलाई एउटा अदृश्य कीटाणुले ढालिदिन्छ ।

जीवन अभिमानले मात्र होइन, भोक, रोग, लिप्सा र द्वेषले पनि भरिन्छ । अनेकन् क्लेशहरूले दुःख दिन्छन् । रोग, शोक र आरोपले खेदा गरिरहन्छन् । सायद त्यही नै पतन हो । परन्तु, जिन्दगी फेरि बौरेर उठ्छ र प्रयत्नमा सरिक हुन्छ ।

आज सोच्दछु, सायद विद्वान् ज्योतिषीले मलाई प्रतिनिधि पात्र बनाएर सारा मानव समुदायको भाग्यको पूर्वउद्घोष गरेका थिए । जीवनमा कुनै समयमा अब जानियो, अब भेटियो र अब शिखर चढियो भन्ने भावना पैदा हुन खोजिरहेको हुन्छ । परन्तु, सहसा कुनै संसारिक व्यवधानले त्यो आरोहणलाई रोकिदिन्छ । अनि, जान्नै थालेको पाठ बिर्सिन्छ । अनि लाग्दछ कि यो जीवनको कुनै अर्थ छैन ।

जीवनबारे जान्नुपर्ने केही छैन र जान्न खोज्नु मूर्खता हो । यो अर्थहीन जीवनबारे केको दर्शन, केको चिन्तन, केको मनन र केको अनुशीलन ? बरु, यसको अर्थहीनतालाई आत्मसात् गर । कुनै प्रश्न, खोजतलास र अनुसन्धान नगर । जीवनको वास्तविकतालाई स्वीकार गर र भरसक कर्तव्यपथमा सरिक बन । निरन्तर परिश्रमी र कर्मशील बन । सिसिफसझैँ निरन्तर डटिरहू ।

यो जीवन एक सिसिफस हो । कहिल्यै पार नलाग्ने यात्रा । ग्रीक मिथकको पात्र सिसिफस पहाडको फेदीबाट अजंगको गह्रौँ पत्थर शिखरमा पुर्याएपछि मात्र मुक्त हुने श्रापमा परेको छ । उसले त्यो भयानक पत्थर धकेल्दै शिखरमा पुर्याउने प्रयत्न गर्छ ।

परन्तु, अब पुगियो, अब त पुगियो, अब एक मिटर बाँकी छ, अब एक बित्ता भन्दाभन्दै पत्थर हातबाट चिप्लिएर फेदीमा पुग्छ । हजारौँहजार वर्षदेखि सिसिफस त्यही पत्थर धकेलिरहेछ ।

एक दिन शिखरमा पत्थर अड्याएर ठिङ्ङ उभिँदै आफूलाई विजयी घोषणा गर्ने धुनमा छ, सिसिफस । सिसिफस सिकिस्त छ, तर पराजय स्वीकार गरेको छैन । अनादिदेखि सुरु भएको सिसिफसीय संघर्ष अनन्तसम्म जारी छ । यही हो निरर्थकता । यही नै हो विसंगति । र, यही हो जीवन ।

के हाम्रा मान्यवर ज्योतिषीले सिसिफस पढेका थिए ? के उनले वेद, वेदान्त र फलित ज्योतिषका साथै अल्बेयर कामु पनि पढेका थिए ? नत्र विसंगतता र निरर्थकतालाई आलिंगन गर्ने दर्शन उनलाई कसले पढायो ?

सानीकाफ्लीबाट मेरो जन्मस्थल माथिल्लो खस्यौली सुरु हुन्छ । सानीकाफ्लीको चौपारी अचेल निर्जन छ । इतिहासको साक्षी बनेर उभिएको पाकरीको वृक्षमुनि झाडी र बुट्यान मात्र छ । पुर्खाले चिनेर सजाएका ढुंगाहरू आफ्नो स्थानबाट यताउता सर्केका छन् । २० मिटर पर मोटरबाटोतिर जाने ओरालोमा खस्यौलीतर्फ उन्मुख बुद्धदेवको मूर्ति छ । त्यहाँ मानिसहरू बस्न मिल्ने पेटी र बेन्च छ ।

मैले यसो बुद्धदेवतर्फ हेरेँ । त्यहाँ बुद्धको सामुन्नेमा अर्का बुद्ध बसिरहेका थिए । उनको नाम थियो, शोभे । हिँड्दा दुईवटा खुट्टा आपसमा जेलिने हुँदा उनलाई मानिसहरू घुँडाजेले नामले चिन्थे । शोभे दलित समुदायका मानिस हुन् । म जुरुक्क उठेर शोभेको अगाडि गएर बसेँ । उनी मलाई हेर्दै मुसुक्क हाँसे ।

‘कैले आउनो ?’  उनका दुई शब्दमा मप्रतिको सद्भाव र प्रेम थियो ।

त्यस्तैमा एउटा जोगी आएर बगलको बेन्चमा बस्यो । शोभेले जोगीलाई एक झलक हेरे । उनी दुई सेकेन्ड त्यसैगरी मुस्कुराए र सोधे, ‘कता जान लाग्नो ?’

जोगीले हिन्दुस्तानी लवजमा भाषण गर्न थाल्यो । ‘ये जीवनकी मकसद क्या है ? तुम क्यों इस धर्ती मे आए हो ? तुम्हारा लक्ष क्या है ? मर के कहाँ जाने का इरादा है ?’

शोभे फेरि मुस्कुराए । जोगीले सोध्यो, ‘कुछ समझ मे आया ?’

शोभेले बडो प्रेमले हेरे जोगीलाई । प्रफुल्ल अनुहार र आतिथेयको निर्मल भाव । शोभेका लागि जोगीको प्रवचनमा कुनै रस थिएन ।

उनले जोगीतिर हेर्दै भने, ‘एउटा चुरोट छ भनी दिनुस् केरे ।’

जोगीले केही बुझेन, मतिर हेर्न थाल्यो । मैले भनेँ, ‘ये महानुभाव जडभरत के समान हैँ । ये ज्ञान और विज्ञानसे उपर है ।’

जोगी उठेर पश्चिमतिर लाग्यो । शोभेले भने, ‘एक खिल्ली चुरोट बोक्न नसक्नेले केन ठूला कुरा गर्नु ?’ 
 
शोभेसँग बस्दा कुरा गर्नुको प्रयोजन थिएन । उनी एक महासागर थिए । उनी न ज्ञानी थिए र न त अज्ञानी नै । उनी निरक्षर थिए । किन्तु, वेदान्तले बडेबडे पढेलेखेकालाई जस्तो बन्न उपदेश गर्छ, उनी त्यस्तै थिए ।

ऋषि याज्ञवल्क्य दुईजना परम सुन्दरी पत्नीहरू र अलेख सम्पत्ति त्यागेर जे जान्न र जस्तो बन्न वनतिर लागे, शोभे बिनाकुनै तपस्या त्यस्तै थिए ।

बुद्ध र शोभेको सान्निध्यमा बस्दाबस्दै अतीतमा पुगेँ म । सात वर्षको हुँदा मेरो व्रतबन्ध भयो । बिहान सबेरै नुहाएर गायत्री र अरू दुईथरी मन्त्र जपेर मात्र केही खाने बाटो खुल्थ्यो ।

म एक दिन यही सानीकाफ्लीको चौपारीतिर विचरण गरिरहेको थिएँ । अचानक कान्छो हजुरबुवा केशवराजलाई देख्दा मेरो सातो गयो । उहाँ श्री ३ महाराज चन्द्रशमशेरको समयमा सरकारी जागिरमा प्रवेश गरेको मान्छे । सेवाबाट अवकाश भए तापनि उहाँको व्यक्तित्व प्रभावशाली थियो । ‘बिचारी बाजे’ भनेर सबैले सम्मान गर्थे र हच्कन्थे पनि ।

उहाँ मेरो गायत्री गुरु पनि हुनुहुन्थ्यो । हामीलाई बिचारी बाजेको भतिजातर्फको नाति भएकोमा गर्व थियो र डर पनि बिछट्टै लाग्थ्यो । हजुरबुवाले मेरो टुप्पी समातेर भन्नुभयो, ‘उठ् !’

म उठेँ । ‘टोपी खै ?’ उहाँको आवाज भयानक थियो । उहाँले घरको बाटो समात्दै भन्नुभयो, ‘मेरो पछिपछि आ !’

घर पुगेपछि उहाँले मलाई नयाँ टोपी पहिर्याइदिनुभयो । भन्नुभयो, ‘अबदेखि मुडुलो टाउको लिएर कहीँ नजानू ।’

यो घटना मेरो जीवनको व्यतीत गौरवको रूपमा अविस्मरणीय बनेर मानसपटलमा बसेको छ ।

शोभेले उठेर लौरो टिपे । उनी सुस्तरी ओरालो लागे । लौरोको ट्याकट्याक आवाज विस्तारै धिमा हुँदै गयो । म फेरि सानीकाफ्लीको भग्न चौपारीमा गएर बसेँ । सानीकाफ्लीभन्दा तल सघन वनलाई च्यादरझँै ओडेर सुतेको भूमिले आफ्नो पुरानो पहिचान गुमाइसक्यो ।

मैले धेरै सानो हुँदा जानेको ‘सानीकाफ्लीको चौपारी’ कालान्तरमा ‘चौपारी’ मा सीमित भयो । सानीकाफ्लीको चौपारीले सानीकाफ्लीलाई खाएर आफँै एक्का भयो । आज चौपारी आफैँ पनि बस्ने लायक रहेन ।

तल चिदियाको धारो, त्योभन्दा तल चिदियाको खेत, त्योभन्दा पूर्व धोविनडाँडा, त्योभन्दा तल भूतगैरा, त्योभन्दा माथि लामडाँडा, अमलेभीर, मुसेटारी, कमेरेटारी, टिमुरे, खनियाँखर्क, ढाब र त्योभन्दा तल चकल्दी खोला । आज ती सबै गौचरन र धान खेतहरू सघन जंगलको पछ्यौरा ओडेर शान्तिसँग आरामले सुतेका छन् ! ३० वर्ष ननाघेको स्थानीय व्यक्तिले पनि त्यो वनभित्र सयौँ मुरी धान फल्ने खेत र अढाई सय पशु चर्ने गौचरन थियो भनेर पत्याउन गाह्रो छ ।

मैले एकोहोरो त्यो वनलाई हेर्न थालेछु । सायद त्यो घना वनभित्र अझै पनि मेरो पदचाप सुनिन्छ । मैले खेलेका पाताहरू त्यहीँ कतै माटोमुनि छिरे होलान् । डन्डीबियो खेल्नैपर्ने र सधैँ हार्ने असफल खेलाडी थिएँ म । सायद खेलमा हारेबापत पाएको गोलीगाँठा ठोकाइको आवाज अझै गुञ्जायमान छ, त्यहाँ । त्यो ठोकाइमा ठूलो पीडा सहनुपर्थ्यो । तर, म सिसिफसझैँ ठक्कर खान तयार थिएँ ।

म खोपी खेल्दा हार्दासम्म हारेर पनि खेल्न छाडिनँ । एक दिन साह्रै विरक्त भएर अबदेखि खोपी खेल्ने छैन भनेर प्रतिज्ञा गर्दै तुलसीको मठको वरिपरि घुमेँ । मेरो त्यो अनर्थ देखेर आमाले भन्नुभयो, ‘पीर मान्ने भए किन जुवा खेलेको ? जुवा खेल्नेले तुलसालाई बीचमा किन तानेको ?’

मैले सोचेँ, यसरी देवतालाई आफ्नो कर्ममा तान्नु त ठिक भएन । म फेरि खेल्न थालेँ । हार्ने क्रम पनि जारी नै रह्यो । पछि तास खेलेर त्यसलाई उपर गर्ने प्रयास गरेँ । जो अविरल ४० वर्ष चल्यो । अचेल त्यसमा पनि मोहभंग भएको छ ।

शिखरमा पुग्ने बेलामा धरमराउने क्रम जारी रह्यो । तथापि, मैले पत्थर बोक्न छाडिनँ । पत्थर पनि मेरो हातबाट चिप्लिएर मानौँ त्यही भूतगैरामा झर्न छाडेन । जहाँ हाम्रो धेरै वर्ष सेवा गरेको धौले गोरु झन् धेरै र झन् मिठो घाँसको लोभले ग्रसित हुँदा लामडाँडाको ठाडो भीरबाट सिधै खसेर मर्यो ।

धौले गोरुले आफू मरेर सारा गोठालाहरूलाई लिप्सा र आसक्तिको परिणाम कस्तो हुन्छ भन्ने सन्देश दिएको थियो । तर, एकजनाले पनि पाठ सिक्न चाहेन । सायद यही नै हो जीवन ।

गाउँमा मोटरबाटो थिएन । स्वास्थ्यचौकी थिएन, खानेपानीको व्यवस्था थिएन । उत्पादन गरेको वस्तु बेच्ने बजार थिएन । बिजुली बत्ती हुन्छ भन्ने कुरा पनि धेरैलाई थाहा थिएन । बाटोघाटो, चौपारी, पाटीपौवा, विद्यालय र धर्मशाला गाउँलेहरूले नै निर्माण र मर्मत गर्थे ।

राज्यको उपस्थिति व्यवस्था जोगाउने र रैतीलाई ठेगानमा राख्नेमा मात्र सीमित थियो । तैपनि, बस्ती बाक्लो थियो । बाहिर गएर पैसा कमाउनेहरू आफ्नो कमाइ गाउँमै ल्याउने गर्थे ।

हँसिला नवविवाहित लाहुरेनीहरू र पति मिलनको प्रतीक्षामा रहेका प्रणयकामी युवतीहरू सुकिलो लुंगी, घलेक र मखमली चोलीमा सजिएर त्यही सानीकाफ्लीको चौपारी हुँदै हिँडेका देखिन्थे ।

ठट्यौला स्वभावका उनीहरू सोली नबिसाईकनै यसो यताउता हेर्दै थोरै तिघ्रा फैलाएर उभिएरै मूत्रत्याग गर्थे । आफ्नो कर्ममा आफैँ खुतुतु हाँसेको दृश्यले रोमाञ्च पैदा गर्थ्यो । त्यहाँ अनेकौँ सुन्दर चेहराहरू थिए । अनेकौँ संकेत र आह्वानहरू थिए । आँसु, हाँसो र ठुस्काइका अभिनयहरू थिए । व्याकुलताभित्र छचल्किने मुस्कानहरू थिए ।

त्यहाँ कुनै जबर्जस्ती थिएन । सबैसबै प्रहसन र अभिनयहरू स्वेच्छिक थिए । केही रचनात्मक र कताकति विध्वंसात्मक प्रेमहरू । कचहरी, भागाभाग र केही थामथुमहरू ।

र, केही लडखडाएर गिर्दै रहेका लैला मजनुलाई यथोचित पृथकीकरण, समायोजन र सान्त्वनाका प्रयासहरू । कोही कोही अन्याय र दलनबाट पीडित पनि थिए ।

इटालियन महाकवि दाँतेले आफ्नो प्रसिद्ध कृति ‘डिभाइन कमेडी’मा उनी स्वयम् मरेर एउटा विकराल खाडलतिर खस्दै गएको कल्पना गर्छन् । उनी पछारिँदै जान्छन् । लछारिँदै जान्छन् । कुनै किनारा नभेटिने त्यो बीभत्स खाडलमा दुःख, पीडा, ताप, सन्ताप, रोदन र पीडनबाहेक केही पनि छैन ।

त्यसरी विकरालताको अतल गहिराइतर्फ गिरिरहेका उनलाई अनायास कसैले च्याप्प समाउँछ । यो कुम्भीपाकमा यस्तो शीतल हात ? उनी पुलुक्क हेर्छन् । एउटा गिर्दो मानवलाई अनन्तसम्म गिर्नबाट जोगाउने उनकै पूर्वज महाकवि भर्जिल थिए ।

भर्जिलले उनलाई नरकको बाटो हुँदै बाहिर निकाल्छन् । त्यहाँ नरकवासीहरूले असाधारण र अजिब दण्डहरू भोगिरहेका देखिन्थे । जस्तो कि एउटा ज्योतिषीको टाउको पछाडि फर्काइएको छ । अनेकन् पीडा र निस्साहट देख्दै उनी बाहिर निस्कन सफल भए ।

यसको सन्देश के हो भने यदि शुद्ध मनले प्रेम गरेका हौ भने, शुद्ध भावना र इरादाले आफ्नो कर्मको सम्पादन गरेका हौ भने, नरक पुगेर पनि बाहिर निस्कने बाटो फेला पार्नेछौ ।

जीवनको सबैभन्दा कठिन काम अरूको चित्त बुझाउनु रहेछ । जाँ पल सात्र्र भन्छन्, ‘हेल इज अधर पिपुल’ – अर्थात्, हाम्रो वरिपरिका मानिस नै हाम्रा लागि नरक हुन् । उनले आफ्नो नाटक ‘नो एक्जिट’मा एकजना पात्रलाई बोल्न लगाएको वाक्य हो, यो ।

हामी मरेपछि हाम्रो मूल्यांकनकर्ता हामी स्वयम् हुन पाउँदैनौँ । हाम्रो सारा मूल्यांकन अरूको हातमा पुग्छ । यो त जीवनोपरान्तको कुरा भयो । परन्तु, हामी जिउँदो जाग्दो भएकै अवस्थामा पनि स्वमूल्यांकन गर्नै पाउँदैनौँ । गरे पनि त्यो कसले पत्याउँछ ?

हामी हरेक व्यक्ति प्रत्येक व्यक्तिको निद बिगार्ने पात्र हौँ भन्नेमा शंका छैन । कोही मलाई खोज्छ, म उसलाई आँखा फुट्न मन पराउँदिनँ । म कसैलाई खोज्छु, ऊ मलाई देख्न पनि चाहन्न । मलाई देख्न नचाहनेले मलाई चाहनेलाई चाहन्छ, तर उसले पिठ फर्काइदिन्छ । 

जब भी तुम ने कुछ पकडना चाहा, तुम दुःखी हुए –ओशो ।

यो जगत्मा केही पनि समातेर रोक्न सकिन्न, सबै नाशवान् छ । जो पाउने आशा थियो, त्यो पाइएन । कदाचित पाइए पनि त्यसले खुसी दिन सकेन । जसको माया लग्दथ्यो, त्यो हेर्दाहेर्दै विलीन भएर गयो । यहाँ प्रत्येक यौवन रोकिन चाहन्छ, यथावत् । किन्तु, प्रकृतिले मान्दैन ।

जो जन्मन्छ, त्यो मर्छ । जो फुल्दछ, त्यो झर्छ । जुन सहर आज गुलजार छ, एक दिन बिरान हुनेछ । मोह के हो ? मोह यौवनमा रोकिएर थामिने इच्छा हो । त्यो रोक्न सकिएन, वाद्र्धक्यले गाँज्यो । फेरि पनि मोह त निरन्तर छ, अनवरत । बूढो शरीरमा भए पनि यो प्राण बसिरहोस् । भुर्र उडेर कतै नजाओस् । अनि, सारा वैभवबीच पनि दुःख नै हाम्रो सम्पदा बन्दछ ।

गाउँमा हुँदा कहिले यहाँबाट फुत्कन पाइएलाजस्तो लाग्थ्यो । गाउँ छाडेपछि कहिले भेट होलाजस्तो भयो । कहिले शीतल माटोमा ढ्यास्स बसेर भेटघाट गर्न पाइएला ! कहिले एकान्तमा दुई आँसु झार्न र समागममा सुख–दुःख साट्न पाइएला !

जब फुर्सद मिलेर गाउँ फर्कियो, कुनै दौँतरी फेला परेन । भलाकुसारी गर्ने कोही फेला परेन । जो भेटिए, आफैँ जीर्ण र कमजोर थिए । एउटा चरी जीवनभर अन्यत्रै उडान भरेर शक्ति क्षीण भएपछि मात्र आफू हुर्केको गुँड खोज्न गए सरी भयो । चरीले गुँड त फेला पारेन नै, गुँड बनाएको वृक्ष पनि ढलिसकेको थियो ।

जीवनमा लामो अनुभव गरेर त्यही अनुभवबाट सिकेको मैले आज उल्टै अनुभवलाई सिकाउने धृष्टता गरिरहेको छु । मेरो यो निबन्ध पनि जीवनझैँ अर्थहीन छ । जसरी अस्तित्ववादीहरूले जीवनको सारहीनतालाई स्वीकार गर्दागर्दै पनि सिसिफसझैँ सक्रिय र चलायमान बन्ने आह्वान गर्दछन्, त्यसैगरी मैले पनि सारहीन नै भए तापनि लेख्छु । किनकि, लेखन मेरो कर्म हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  ०५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय