काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरीयतामा नेपाल यथावत् रहेको छ ।
फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७५औँ स्थानमा यथावत् छ ।
नेपाल दक्षिण एसियाली वरीयतामा पनि तेस्रो स्थानमा यथावत् छ । दक्षिण एसियाली वरीयताको शीर्ष स्थानमा रहेको भारत एक स्थान उक्लिदै ९९औँ स्थानमा पुगेको छ ।
दोस्रो स्थानको माल्दिभ्स १५५औँ स्थानमा, चौथो स्थानको भुटान १८५, पाँचौँ स्थानको बंगलादेश १८९औँ स्थानमा, छैटौँ स्थानको पाकिस्तान २०१औँ स्थानमा र फिफाको प्रतिबन्धमा रहेको श्रीलंका २०४औँ स्थानमा छ ।
फिफा वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना यथावत् छ । यस्तै, दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम पनि यथावत् छन् ।