
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको फराकिलो हारसँगै लियोनल मेसी र उनको टोली इन्टर मियामीको यात्रामा पूर्णविराम लाग्यो । मेसी विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा देखिएको यो सम्भवतः अन्तिम पनि हुन सक्छ । तर, पनि मैदानमा उनले आफ्ना जादुमयी प्रदर्शन देखाउन बिर्सिएनन् ।
३८ वर्षीय अर्जेन्टिनी मेसीले आफ्नो पुरानो क्लब पीएसजीसँग अमेरिकाको एट्लान्टामा ४–० को हार व्यहोर्दा प्रतियोगिता टुंग्याए ।
“पीएसजी आफ्नो उत्कृष्ट लयमा छ । उनीहरू च्याम्पियन टिम पनि हुन् । तर, मेसी ३८ वर्षका भए पनि टिकट काटेर उनको खेल हेर्न आउने समर्थकहरू अहिले पनि छन्,” इन्टर मियामीका प्रशिक्षक जाभियर मास्केरानोले भने ।
मियामी र पीएसजीबीचको यो खेल हेर्न मर्सिडिज–बेन्ज रंगशालामा ६५ हजार ५७४ समर्थकको उपस्थिति थियो ।
पीएसजीका रक्षक लुकाज बेराल्डोले पनि भने, “लियोनल एक फरक खेलाडी हुन् । उनीसँग खेल्न पाउनु सौभाग्यको कुरा हो । टेलिभिजनमा उनको जादु हेर्दा म सानै थिए । त्यसैले अहिले उनीसँग खेल्न पाउनुको अनुभव बेग्लै छ ।”
तर, यो खेल विश्व मञ्चमा मेसीको अन्तिम प्रदर्शन पनि हुन सक्छ । र, मेसी यो उमेरमा पनि कतिसम्म अब्बल छन् भनेर हेर्न पाउने अन्तिम मौका पनि ।
मेसीको भविष्य के हो ?
मियामीसँग मेसीको सम्झौता सन् २०२५ को अन्त्यसम्मको छ । यसपछि के हुन्छ कसैलाई थाहा छैन ।
आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने फिफा विश्वकप खेल्ने वा नखेल्ने भन्नेबारे हालसम्म मेसी आफैँलाई थाहा छैन । उनका सहकर्मीहरू अर्जेन्टिनीका निकोलास ओटामेन्डी र इन्टर मियामीका लुईस स्वारेज मेसी विश्वकप खेल्नेमा आशावादी छन् ।
तर, आठपटकसम्मको वालेन डि’अर विजेता मेसीको किताब लेखक गुइलेम बालागुई भन्छन्, “कसैलाई थाहा छैन, यो कुरा सबैभन्दा उत्कृष्ट खेलाडी मेसीलाई समेत थाहा छैन ।”
यसअघि बीबीसीले मेसी आफ्नो परिवारसहित मियामीमा बसोबास गर्दै आएको र क्लबसँगको सम्झौता बढाउन सक्ने खुलाएको थियो ।
“अहिले उनी एकपटकमा एक खेल र प्रतियोगितालाई मात्रै लिएर हिँडिरहेका छन् । यदि उनी अमेरिका मै बस्छन् भने उनी आवश्यक परेको बेलामा यो विषयको समीक्षा गर्नेछन्,” बालागुईले भने, “सबैजना उनले अर्जेन्टिनाको नेतृत्व गरेको हेर्न चाहन्छन् । तर उनले आफ्नो अन्तिम निर्णय के हो भन्नेबारे खुलाएका छैनन् ।”
क्लब करियरमा मेसीले गरेका गोल
अर्जेन्टिनी क्लब न्युली ओल्ड ब्वाइज ६ वर्षको उमेरमा छोडेपछि मेसी क्याटालन क्लब बार्सिलोनामा आबद्ध भए । क्लब करियरको अधिकांश समय बार्सिलोनामा बिताएका मेसी यस क्लबबाट ६७२ गोल गरेका छन् । यसपछि फ्रेन्च क्लब पीएसजीबाट उनले ३२ गोल गरे । हाल मेजर सकर लिगको टोली मियामीमा रमाइरहेका मेसीले हालसम्म यो क्लबबाट ५० गोल गरिसकेका छन् ।
मेसीले आफ्नो जादु कसरी प्रदर्शन गरे ?
पीएसजीविरुद्ध एउटा यस्तो खेल भयो । जहाँ मेसी निर्धारित समय समाप्त हुन पाँच मिनेटअघि फ्रिकिक प्रहार गर्न आएका थिए । पेनाल्टी बक्सभन्दा थोरैमात्र बाहिर रहेको यो अवसरलाई मेसीले गोलमा परिणत गर्ने अपेक्षा थियो । तर, पीएसजीको वाल बाधक बन्दा उनको प्रहार रिबाउन्ड भयो ।
“उनी धेरै चनाखो छन् । धेरैजसो समय उनी मैदानमा हिँड्छन् मात्रै, तर जब उनको खुट्टामा बल हुन्छ तब जादु सुरु हुन्छ । उनी फरक ग्रहबाट आएका खेलाडी जस्तो लाग्छ,” इंग्लिस टोली चेल्सीका पूर्वमिडफिल्डर जोन माइकल ओबीले बताए ।
निःसन्देश मेसी विश्व फुटबलले पाएको सर्वकालीन महान खेलाडीमध्येका एक हुन् । फुटबलमा मेसी सधैँ सम्झिने छ । उनी बार्सिलोना, अर्जेन्टिना र इन्टर मियामीका सर्वाधिक गोलकर्ता हुन् । उनले बार्सिलोनमा छँदा ६७२, अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ११२ र इन्टर मियामीबाट ५० गोल गरेका छन् ।
पीएसजीसँगको खेल मेसीले आफ्नो खेल करियरमा कुनै पनि पूर्वटिमसँग खेलेको पहिलो खेल हो । उनले हालसम्म खेल करियरमा एक हजार १०९ खेल खेल्दा पीएसजीबाहेक कुनै पनि पूर्वक्लबविरुद्ध खेलेका छैनन् ।
मेसीका निम्ति पीएसजी यस्तो क्लब हो, जहाँ उनले क्लबले राखेको अपेक्षाअनुरुप छाप छोड्न सकेनन् । उनले पीएसजीमा छँदा ७५ खेल खेल्दा ३२ गोल मात्र गर्न सके । मेसी क्लबबाट बिदा भएपछि फ्रान्सको यो टिममा निक्कै सुधार देखिएको छ ।
टोलीले यस वर्ष मेसी, एमबाप्पे, नेइमारजस्ता स्टार खेलाडीबिना नै च्याम्पियन्स लिगको उपाधि उचालिकेको छ । जारी विश्वकपमा पनि पीएसजीले सबैभन्दा ठूलो दाबेदारमा आफूलाई उभ्याएको छ ।
प्रतियोगिताको अन्तिम–१६ बाटै बाहिरिए पनि मेसीले आफूलाई प्रतियोगितामा अब्बल खेलाडीको रूपमा स्थापित गरेका छन् । उनले पोर्चुगिच टिम पोर्टाेविरुद्ध गरेको फ्रिकिक गोल प्रतियोगिताकै दर्शनीय गोलमध्येको एक थियो ।
पीएसजीले पहिलो हाफमा चार गोलको अग्रता बनाएपछि दोस्रो हाफमा केही सहज खेल खेल्यो । जसकारण मेसीले मियामीबाट केही अवसर सिर्जना गर्ने मौका पाए ।
दोस्रो हाफमा मेसीले निकालेको पासलाई स्वारेजले सदुपयोग गर्न नसक्दा मियामीले गोलको सुनौलो अवसर गुमाएको थियो ।
“प्रतियोगितामा लियोनल मेसीबाट प्राप्त सबैभन्दा उत्कृष्ट पास थियो त्यो । विपक्षी रक्षकहरूमाथिबाट दिइएको त्यो पास निकै सन्तुलित थियो । तर अवसरलाई गोलमा परिणत गर्न नसक्नु स्वारेजको निम्ति लाजको विषय हो,” स्कटल्यान्डका पूर्वरमिडफिल्डर डन हट्किसनले भने ।
खेलमा मेसीको प्रहार रोकियो, फ्रिकिक प्रहार विपक्षी खेलाडीहरूलाई लागेर फर्कियो र पीएसजीका गोलकिपर जियान्लुइजी डोनारुमाले पनि केही प्रहार विफल बनाइदिए ।
“हामीसँग भएको विकल्पबीच मेसीले राम्रो खेले । दोस्रो हाफमा थुप्रै आवसर पाए । पहिलो हाफमा उनले खासै अवसर पाएनन् । किनभने पेरिसले खेलमा दबाब बनाएको थियो,” मियामीका प्रशिक्षक मास्केरानोले भने । मास्केरानो त्यही खेलाडी हुन्, जोसँग मेसीले बार्सिलोना र अर्जेन्टिनामा लामो समय एकसाथ मैदानमा बिताए ।
फिफाको आयोजनामा हुने विश्वस्तरीय प्रतियोगितामा मेसीले देखाएको सायद अन्तिम पनि बन्न सक्छ । मेसीले फिफा विश्वकपको आगामी संस्करण खेल्नेछन् वा छैनन् अझैसम्म कसैलाई थाहा छैन । सन् २०१९ मा क्लब विश्वकपकै अर्काे संस्करण आयोजना हुँदा मेसी ४२ वर्षका हुनेछन् । यो उमेरले पनि मेसीलाई क्लब विश्वकपको आगामी संस्करण खेल्न नदिने कुरा निश्चितजस्तै छ ।