site stats
बाह्रखरी :: Baahrakhari
खेल
उपत्यकामा एउटा मात्रै योजना, मोफसलका २१ फुटबल पूर्वाधारलाई ६४ करोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत निर्माण हुने फुटबल पूर्वाधारका निम्ति ६७ करोड रुपैयाँ विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते घोषणा गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयतर्फ कुल ६ अर्ब सात करोड ६४ लाख रुपैयाँ विनियोजन भएको थियो । 

युवा तथा खेलकुद मन्त्रालयतर्फ विनियोजन गरिएको यो बजेटले कुल बजेटको ०.३१ प्रतिशत ओगट्छ । सरकारले आगामी आर्थिक वर्षको लागि १९ अर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस वर्ष सरकारले विनियोजन गरेको बजेट अघिल्लो आर्थिक वर्षकोभन्दा ७३.७१ प्रतिशतले बढी छ । आर्थिक वर्ष २०८१/२०८२ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयलाई तीन अर्ब ५० करोड रुपैयाँ छुट्याइएको थियो । 

मोफसलका पूर्वाधारलाई ६४ करोड 
सरकारले खेलकुद मन्त्रालयको प्रस्तावमा काठमाडौं उपत्यकाबाहिर फुटबलका पूर्वाधारका आयोजना सञ्चालन गर्न बजेट उपलब्ध गराएको छ । सरकारले १६ जिल्लाका निम्ति ६४ करोड छुट्याएको हो । 

यी जिल्लाहरूमध्ये कपिलवस्तु, मुगु, झापा, पर्सामा र सप्तरीमा समान दुई  फुटबल पूर्वाधारका आयोजना छन् । त्यसैगरी मकवानपुर, संखुवासभा, ताप्लेजुङ, धनुषा, बाँके, कास्की, सिन्धुली, पाँचथर, नुवाकोट, धादिङ र कैलालीमा समान एक पूर्वाधारका योजना परेका छन् । 

यी हुन् मोफसलका फुटबल पूर्वाधार 
बजेटमा समावेश गरिएका कपिलवस्तुका दुई आयोजना कपिलवस्तु नगरपालिका–२, बुद्धपद्म रंगशाला निर्माण र माया गाउँपालिका–७, हरनामपुरमा खेल मैदान रंगशाला निर्माण हुन् । 

यसैगरी मुगुको दुई पूर्वाधार आयोजनामा सोरु गाउँपालिका–६ मा पोखरी खेल मैदान तथा रंगशाला निर्माण र छाँयानाथ रारा नगरपालिका–१, गमगढी बहुउदेश्यीय खुल्ला मञ्च/ रंगशाला निर्माण छ ।
 
पर्साका लागि विनियोजन भएका दुई बजेट पर्सा क्षेत्र नं २, आदर्शनगर रंगशाला निर्माण एवम बढनियार खेलकुद ग्राउन्ड  निर्माण र वीरगन्ज नारायणी रंगशाला थप स्तारोन्नति निर्माण हो । साथै, सप्तरीमा परेको दुई पूर्वाधार परियोजनामा राजविराज, राज रंगशाला थप स्तारोन्नति निर्माण र चन्द्रा नमुना मावि दोदे बरसाइन रंगशाला निर्माण पर्छ । 

झापामा शिवसतासी नगरपालिका–११, दूधेमा निर्माणाधीन रंगशालाको पूर्वाधार निर्माण र भद्रपुर नगरपालिका–८, मेची रंगशालमा फर्टगलाईट र प्यारापिट निर्माण गर्न बजेट विनियोजन भएको छ । 

यसैगरी मकवानपुरको एकमात्र आयोजना मनहरी गाउँपालिकामा मदन भण्डारी क्षेत्रीय रंगशाला निर्माण हो । संखुवासभामा पूर्वाधार निर्माणको निम्ति प्रस्तावित कार्यक्रम पाँचखपन नगरपालिकामा बाना रंगशाला निर्माण हो । 

ताप्लेजुङले पाएको एक पूर्वाधार बजेट मैवाखेला गाउँपालिका–३ मा तारेबुङ रंगशाला, मदनभण्डारी स्मृति रंगशाला, फुङलिङ नगरपालिका–२ मा तेललोक रंगशाला सिरीजंघा गाउँपालिका–४ रंगशाला स्तरोन्नति हो । 

मिथिला नगरपालिका–१०, श्रीवनदेवी माई निर्माणाधिन रंगशाला धनुषामा एक मात्र विनियोजित पूर्वाधार बजेट हो । नेपालगन्जमा फ्डलाइट जडान र प्यारापिट निर्माणसहित रंगशाला निर्माण गर्न बजेट दिएको छ । कास्कीको पोखरा उपमहानगरपालिका–२९ मा भण्डारढिक बहुदेश्यीय रंगशाला स्तरोन्नति गर्न रकम छुट्याएको छ । 

त्यसैगरी बजेटअनुसार सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित कालीमाटी रंगशाला खेल मैदान तथा कम्पाउन्ड निर्माण, पाँचथरमा फिदिम रंगशाला निर्माण, नुवाकोटमा खरानी नदी–३ बद्रीराम भण्डारी घननाथ उप्रेती स्मृति खेलमैदान निर्माण हुनेछ ।

धादिङमा त्रिपुरासुन्दरी–१, सल्यानटार गणेशमान सिंह रंगशाला निर्माण र कैलालीको धनगढी प्रादेशिक रंगशाला थप स्तारोन्नति निर्माणका लागि पनि बजेट विनियोजन भएको छ ।  

यसबाहेक सरकारले फुटबलको पूर्वाधार निर्माण गर्न झापाको दमकमा झापा स्पोर्ट्स भिलेज (मदनभण्डारी रंगशाला) निर्माणका निम्ति तीन करोड रुपैयाँ छुट्याएको छ ।   

यी पूर्वाधारमध्ये पर्साको वीरगन्जस्थित नारायणी रंगशालाको थप स्तरोन्नतिका निम्ति चार करोड रुपैयाँ विनियेजना हुँदा बाँकी योजनाहरूका निम्ति समान तीन करोड विनियोजन भएको छ ।  

उपत्यकामा एक फुटबल पूर्वाधारलाई तीन करोड
सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत आगामी वर्ष उपत्यकाबाहिर मन्त्रालयअन्तर्गत हुने १६ जिल्लामा फुटबल पूर्वाधारका कार्यक्रम अघि बढाउँदा उपत्यकाभित्र भने एक फुटबल पूर्वाधारका निम्ति मात्रै बजेट उपलब्ध गराएको छ । 

सरकारले भक्तपुरमा तीन करोडको बजेट विनियोजन गरेको छ । भक्तपुरमा अन्तर्राष्ट्रिय फुटबल रंगशाला डीपीआर तयारी तथा निर्माण गर्न रकम उपलब्ध गराएको हो ।

काठमाडौंकै जर्सिङपौवामा फुटबल रंगशाला निमार्णका निम्ति आर्थिक वर्ष २०८२–८३ को बजेटमा २० करोड छुट्याइएको छ । तर, यो युवा तथा खेलकुद मन्त्रालयमार्फत नभई सहरी विकास मन्त्रालयअन्तर्गत संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय मातहत हुने जनाइएको छ ।

यसबाहेक खेलकुद पूर्वाधारको मर्मतसम्भारको लागि छुट्याइएको ११ करोड ६० लाख बजेटमा दशरथ रंगशाला, मेची रंगशाला, इटहरी रंगशाला, नेपालगन्ज रंगशाला, पोखरा रंगशाला समेटिएका छन् । दशरथ रंगशाला परिसरमा पौडीपोखरी डीपीआर तथा निर्माणका निम्ति ६ करोड रुपैयाँ छुट्याइएको छ ।   

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  ०६:५०
प्रतिक्रिया दिनुहोस्