site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समितिमा गण्डकी सभापतिले भने– केन्द्रबाट शासन गर्न बन्द गरियोस्

काठमाडौं । नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टी नेतृत्वलाई केन्द्रबाट शासन बन्द गर्न अग्रह गरेका छन् । पार्टी केन्द्रले जिल्ला र पालिकासम्म सिधा सम्पर्क राख्दा नेपाली कांग्रेसको संघीय संचनाको औचित्व घटाएको बताए ।

“केन्द्रबाट जिल्लादेखि पालिकासम्म सिधा सम्पर्क गर्दा प्रदेशको औचित्व घटिरहेको छ । जिल्ला र स्थानीय तहले पनि प्रदेशको मातहत छु भन्ने धारणा त्याग्न थालेका छन्,” केन्द्रीय समिति बैठकमा सभापति शर्माले भने, “केन्द्रबाट शासन बन्द गरियोस् । संविधानले गरेको व्यवस्थाबमोजिम पार्टी सञ्चालन गर्ने कुरा केन्द्रबाटै प्रभावित पार्ने प्रयास नहोस् ।”

Argakhachi Cement Island Ad

उनले केही दिनअघि भएको सभापति भेलादेखि जिल्ला र स्थानीय तहमा पठाइने परिपत्रमा पार्टी केन्द्रले बीचमा प्रदेश संरचना छ भन्ने कुरा भुल्ने गरेको बताए ।

“प्रदेश संचनालाई हेलचेक्राइँ गरेर कांग्रेसको मात्र नभएर देशको भविष्यसँग जोडिएको विषय हो । यसमा हेलचेक्राइँ हुँदा कांग्रेसका लागि मात्र होइन, लोकतन्त्र र देशलाई नै घाटा हुन्छ,” शर्माले भने, “हिजो आफ्नै विद्यार्थी संगठनले राष्ट्रपति बन्नुस्, राजा हटाउँभन्दा राजालाई फोन गरेर जनमत संग्रह घोषणा गर्न लगाउने बीपी कोइरालाको पार्टी हो यो ।”

उनले ०३६ सालको जनमत संग्रहअघि बलबहादुर केसीसहितका विद्यार्थी नेताले बीपीलाई भेटेर राजा सुध्रिँदैनन्, राष्ट्रिपति बन्नुस् भनेर ध्यानाकर्षण गराउँदा बीपीले उनीहरुलँग २४ घण्टा समय मागेर त्यस्तो प्रस्ताव राजालाई जानकारी गराएपछि जनमत संग्रह घोषणा भएको स्मरण गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्