काठमाडौं । आर्थिक वर्ष २०७९/०८० को अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । यस दिन परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ विन्दुमा बन्द भएको हो । गएको साताको अन्तिम कारोबार दिन १२.६२ अंकले घटेर बन्द भएको थियो ।
आइतबार कारोबार रकम भने घटेको छ । दुई अर्ब ३७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम एक अर्ब दुई करोड रुपैयाँले घटेको हो । बिहीबार तीन अर्ब ३९ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८६ धितोपत्रको ७१ लाख ८४ हजार २५४ कित्ता खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि म्युचुअल फन्ड समूहको भएको छ । म्युचुअल फन्ड समूहको २.०६ प्रतिशतले परिसूचक वृद्धि भएको छ ।
सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूह छ । यो समूहको परिसूचक ०.७३ प्रतिशतले घटेको छ ।
बढेको बजारमा लिबर्टी इनर्जी कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको छ ।
यस दिन म्युचुअल फन्डमा लगानीकर्ता आकर्षित देखिएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा लगानीकर्ता म्युचुअल फन्डको लाभांश प्राप्त गर्न आकर्षित भएको देखिन्छ ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको १९ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।