
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव आइतबार ललितपुरको कुपन्डोलस्थित होटेल हिमालयनमा सम्पन्न भयो । उक्त कार्यक्रममा बोर्डका दुई कर्मचारी संगठनका अध्यक्षले बोर्डमा झाँगिएको बेथितिको बारेमा खुलेरै बोले । सेबोनका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले त्यसमा समर्थन जनाए ।
अधिकारीले बोर्डमा हाल भइरहेका नराम्रा गतिविधि रोकिनुपर्ने र राम्रा गतिविधिले निरन्तरता पाउनुपर्ने बताए । “कर्मचारी संगठनका साथीहरूले भने जस्तै बोर्डमा धेरै समस्या छन्,” उनले भने, “राम्रा गतिवधिलाई निरन्तरता दिनुपर्छ, नराम्रा गतिविधि अहिल्यै रोकिनुपर्छ ।”
कसैको उक्साहटमा काम गर्ने कर्मचारीसँग कुनै सल्लाह नगर्ने प्रवृत्तिले बोर्डमा समस्या निम्त्याउने कर्मचारी संगठनका नेताहरूको भनाइ छ । मुर्ख र राजाको कथा सुनाउँदै नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनका अध्यक्ष अजय ढुंगानाले बोर्ड सञ्चालकहरूले भोलिको दिनलाई ख्याल गर्नुपर्ने सुझाए । उनले काठमाडौं उपत्यका विकास प्राधिकरणलाई बैना नगरी जग्गा किन्न एकमुष्ट पैसा तिरेको प्रसंग पनि निकालेका थिए । जग्गा किन्न र भवन निर्माण गर्न कसले रोक्यो भनेर पनि सोधेका छन् ।
“एउटा प्रश्न सोध्न चाहे तपाईहरूलाई काठमाडौं उपत्यका विकास प्राधिकरणलाई बैना नै नगरी जग्गा किन्न एकमुष्ठ तिरेको ४२ करोड ५६ लाख स्मरणमै छ ? हामी जान्न चाहन्छौँ,” उनले भने, “धितोपत्र बोर्डलाई ‘बानना रिपब्लिक’ जस्तो बनाउने प्रयासलाई हामी कदाचित सफल हुन दिने छैनौँ । मूर्खले मात्रै नदेख्ने लुगा लगाएर हिँड्ने महाराजको लोक कथामा भएझैँ भोलि समाजले महाराज त नांगै नभन्लान् भन्न सकिँदैन ।”
बोर्डका अध्यक्ष र उच्च पदस्थ कर्मचारीहरूमाथि उठेका प्रश्नले पनि आशंका उत्पन्न गरेको र आमजनमानसमा भ्रम पैदा भएको ढुंगाना बताउँछन् । यस्ता खालका गतिविधिमा बोर्डका उच्च पदस्थ कर्मचारी र बोर्ड सञ्चालक जोडिन नहुँने उनी बताउँछन् ।
कमजोर भौतिक संरचना तथा संस्थागत सुदृढीकरणको आवश्यकता रहेको नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलले बताए ।
भौतिक संरचना र संस्थागत सुदृढीकरण गर्न दीर्घकालीन समाधानका लागि उच्च नेतृत्व तहबाट नै आवश्यक कदम चाल्न जरुरी रहेको उनको भनाइ छ । “म संगठनको तर्फबाट उच्च व्यवस्थापनसँग टकराव होइन, सहकार्य चाहन्छु । तर सहकार्य त्यो अवस्थामा सम्भव हुन्छ, जब विश्वास, पारदर्शिता, समान व्यवहार र निष्पक्षता कायम हुन्छ,” उनले भने, “संगठनको भूमिका केवल माग गर्ने होइन, संस्थाको समग्र हितमा सुझाव दिने र सकारात्मक मार्ग निर्देशन गर्ने पनि हो । हामी उच्च व्यवस्थापनसँग काधमा काध मिलाएर काम गर्न तयार छौँ, तर सर्त यत्ति हो समेट्ने संस्कार हुनु आवश्यक छ ।”
कर्मचारीको विकास र उत्प्रेरणा बोर्डको प्रमुख एजेन्डा बन्न जरुरी रहेको पौडेलको भनाइ छ । प्रतिस्पर्धात्मक युगमा कर्मचारीहरूको मर्यादित कार्यवातावरण, कर्मचारीहरूको सीप, तालिम र वृद्धि विकासमा समान अवसरका साथसाथै अन्तर्राष्ट्रिय सहकार्यको अवसर पाउनुपर्छ भन्ने कर्मचारीहरूको माग रहेको उनी बताउँछन् ।
नेतृत्व विकास, समय व्यवस्थापन, तनाव व्यवस्थापन र संस्थागत परिवर्तनको तयारी जस्ता सीपहरू अब कर्मचारीहरूको कार्यदक्षता सगसँगै मानसिक सन्तुलनको लागि पनि जरुरी भएका महसुस भएको पौडेलको भनाइ छ ।
नेपाल सरकारको नीति तथा कार्यक्रम र आ.व. २०८२/८३ को बजेट वक्तव्यमा बोर्डको संस्थागत क्षमता सुदृढीकरण गरिने भनिएको छ । जसको व्यवस्था कागजमा मात्र नभएर यथाशीघ्र कार्यान्वयन गरिनुपर्ने कर्मचारीका नेताहरूको भनाइ छ ।
आमलगानीकर्ताको विश्वास बढाउन बोर्डको संरचनागत र संस्थागत सुधार गर्न आवश्यक देखिएको पौडेलले बताए । तर, बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आगामी दिनमा कर्मचारीको क्षमता विकास तथा जिम्मेवारीमा पनि हेरफेर गर्ने बताएका छन् । बोर्डले जग्गा खरिदको काम अन्तिम चरणमा पुर्याएको हुँदा आफ्नै भवन निर्माण गरेर सेवा प्रारम्भ गर्ने पनि अध्यक्ष श्रेष्ठको भनाइ छ ।