
काठमाडौं । घरजग्गा कारोबारमा ल्याएको निर्देशनबाट सरकार आफैँ पछि हटेको छ । यसअघि, सरकारले घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने 'नो योर कन्टुमर' (केवाईसी) भर्नुपर्नेलगायत प्रावधान ल्याएको थियो । तर, व्यवसायीको चर्को दबाबपछि सरकारले ल्याएको कार्यविधि एक साता पनि टिक्न सकेन ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १४ गते नयाँ निर्देशन जारी गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ निर्देशन, २०८२ जारी गरी घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र केवाईसी आवश्यक पर्ने व्यवस्था गरेको थियो । नयाँ निर्देशनको विरोध भएपछि सरकारले आइतबार निर्देशनलाई संशोधन गरेको छ ।
बैंक स्टेटमेन्ट र केवाईसी भर्नुपर्ने प्रावधानलाई हटाएर निर्देशिका संशोधन गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवत्ता तथा सहसचिव गणेशप्रसाद भट्टले बताए । घरजग्गा कारोबार गर्दा बैंक स्टेटमेन्ट देखाउने र केवाईसी भर्ने प्रक्रिया झन्झटिलो हुने देखिएपछि विज्ञहरूको सुझावमा हटाइएको उनको भनाइ छ ।
बाह्रखरीसँगको कुराकानीका क्रममा प्रवत्ता भट्टले भने, “घरजग्गा व्यवसायीको दबाबले नभई कारोबार गर्दा झन्झट हुने देखेर हटाइएको हो ।”
कार्यविधि परिवर्तन भएर आइसकेको उनले जानकारी दिए । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन, २०८२ संशोधन गरेर घरजग्गा कारोबारमा कडाइ गरेको थियो । मुलुकको अर्थतन्त्र शिथिल भएका बेला चाँडो गति दिने घरजग्गा व्यवसायलाई कडाइ गर्दा झनै समस्या आउने व्यवसायीको भनाइपछि सरकार निर्देशनबाट पछि हटेको हो ।
नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नकारात्मक सूची (ग्रे लिस्ट)मा राखेको छ । एफएटीएफले ग्रे लिस्टबाट हट्न नेपाललाई दुई वर्षको समय पनि दिएको छ । यता सरकारले दुई वर्षभित्र ग्रे लिस्टबाट बाहिर आउने योजना सार्वजनिक गरेको छ । सोही योजनाअनुसार सरकारले घरजग्गा कारोबारमा काडाइ गर्ने नीति लिएको हो ।
बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्यरूपमा पेस गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । दश लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्यरूपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो । यसैगरी, ५० लाख रुपैयाँभन्दा बढीको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत र गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था थियो ।
घरजग्गामा अधिक मौद्रीकरण
नेपालमा खर्बौं रुपैयाँ घरजग्गामा लगानी भएको छ । तर, यसले रोजगारी र उत्पादन सिर्जना गर्न सकेन । एउटा हदसम्म अर्थतन्त्र चलायमान भयो । किनभने घरजग्गा बिक्री भइराखे, मान्छेहरूले नाफा लिइरहे । जमिनको मूल्य बढ्दै जाँदा मान्छेलाई धनी बनेको अनुभव गरायो ।
कोभिडपछि सबै व्यवसाय, घर परिवार नै पनि समस्यामा परेपछि विभिन्न किसिमबाट सहजीकरण गरियो । चार खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण विभिन्न शीर्षकमा लगानी गरियो । अर्थतन्त्रलाई चलायमान गराउन त्यो गरेकोसम्म ठिक थियो । तर, दृष्टि कहाँ पुगेन भने आफूले जुन आर्थिक गतिविधिका लागि त्यो गरेको त्यहाँ गयो कि गएन भनेर समयमै हेरिएन ।
गत वर्षसम्म नै पनि केन्द्रीय बैंकका उच्च पदाधिकारीहरूले नै 'घरजग्गामा त पैसा गएकै छैन, यति मात्र हो' भनेर तथ्यांक देखाएका थिए । उद्योग, सेवा, कृषि र होटलका लागि भनेर गएको पैसा पनि घुमाइफिराइ घरजग्गामै गएको अहिले पत्ता लागेको छ । सहकारीले पनि आफ्नो भएको रकम सबै घरजग्गामा लगानी जाँदा सहकारी नै संकटमा परेका छन् ।
तर, तथ्यांकमा हेर्दा घरजग्गामा पैसा गएको छैन । यतिमात्रै हो, केन्द्रीय बैंकका अधिकारीहरूले भ्रम सिर्जना गरेका थिए ।
विज्ञहरूका भनाइमा, जबसम्म घरजग्गा व्यवसाय चलायमान भयो, त्यतिबेलासम्म समस्या थिएन । किनभने मान्छेले ऋण लिएको तिरिराखेका थिए । जब त्यो ठप्प भयो, अब उद्योगी व्यवसायी सबैले एउटा सिमेन्ट उद्योग चलाएको छ भने पनि अन्य रकम घरजग्गामा लगेको छ । ऊसँग सम्पत्ति छ, तर बिक्री हुँदैन । अहिलेको अर्थतन्त्र नाजुक अवस्थासम्म ल्याउनमा सहकारी बढी जिम्मेवार देखिन्छ ।
झन्डै दुईतिहाई ऋण घरजग्गाकै धितोमा गएकाले अधिक मौद्रिकीकरण भएको अर्थशास्त्रीहरूको तर्क छ । उनीहरूका भनाइमा, विकसित देशका सहरबजारको मूल्य बराबर नै नेपालजस्तो अल्पविकसित देशमा घरजग्गाको मूल्य हुनु प्रतिव्यक्ति आय र आम्दानीसँग नमिलेको देखिन्छ ।
घरजग्गाको कारोबारले कसैलाई छोटो समयमा धनी बनाएकाले यसले अर्थतन्त्रमा विकृति ल्याएको छ । मान्छेहरू घरजग्गा बेचेरै धनी हुँदा उत्पादनशील काममा संलग्न कम हुने गर्छन् ।
सिर्जनात्मक उद्यमभन्दा पनि सबैजना कुनै न कुनै रूपमा घरजग्गासँग जोडिने, घरजग्गाकै खरिद बिक्री गर्दा फाइदा हुन्छ भन्ने मनसाय राख्ने र त्यो किसिमको अपेक्षा राख्ने प्रवृत्ति बढेको पाइएको छ । जसले गर्दा उत्पादनतर्फ अलि ध्यान कम गएको, त्यहाँबाट केही हुँदैन भन्ने मान्यता रहेको र नहुने गरेको पनि देखिएको छ ।
अहिले घरजग्गा कारोबार शिथिल रहेको, कारोबार कम भएको, जुन ढंगले हिजो घरजग्गाको मूल्य बढिरहेको भन्ने थियो, त्यो अहिले हुन नसकिरहेको र गैरबैंकिङ सम्पत्ति बढिरहेको र उनीहरूको पनि घरजग्गा बिक्री हुन नसकिरहेको भन्ने देखिन्छ । जसले गर्दा घरजग्गा बजार शिथिल छ रहेको अनुमान गर्न सकिन्छ ।