site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२० वर्षअघि पैसा उठाउन पुगेका आरके शर्मा यसरी बने कतारमा सफल व्यवसायी 

दोहा । सन् २००३ मा राजेन्द्रकुमार (आरके) शर्मालाई कतारको राजधानी दोहामा पैसा उठाउन आउनुपर्ने काम आइलाग्यो । बागलुङको सुखौरा गाउँमा जन्मिएका शर्मा त्यस बेला भारतको राजधानी नयाँदिल्लीको एउटा ट्राभल एजेन्सीमा काम गर्थे । र, सोही कम्पनीको पैसा उठाउने कामले उनलाई दोहासम्म डोर्‍याएर ल्याएको थियो ।

१९९९ तिर पढ्ने र जागिर गर्ने उद्देश्यले उनी नयाँदिल्ली पुगेका थिए । त्यहाँ एउटा ट्राभल कम्पनीमा काम गर्दागर्र्दै त्यसकै केही हिस्सा सेयरसमेत लिन सफल भए । सोही कम्पनीको कामले दोहा आउने अवसर जुरेको थियो ।

शर्मा कतार आइपुगेको त्यही समय थियो, जति बेला यहाँ विकासको लहर चलिरहेको थियो । १९९० मा सुरु भएको ग्लोबलाइजेसनको लहरले कतार प्राकृतिक स्रोतलाई उपभोग गरेर विकासको गति बढाउँदै थियो । निर्माणका काम तीव्र गतिमा हुँदै थियो । जीवनशैलीमा व्यापक परिवर्तनको त्यो सुरुआती समय थियो ।

२० वर्षअघि उनी जुन कामका लागि यहाँ आएका थिए, त्यो आजसम्म पनि पूरा भएको छैन । अर्थात्, पैसा उठाउने काम पूरा नभएको उनी बताउँछन् ।

“ट्राभल कम्पनीको पैसा उठाउने जुन उद्देश्यले नयाँदिल्लीबाट यहाँ आएको थिएँ, त्यो अहिलेसम्म पूरा भएको छैन,” शर्माले विगत सम्झिए, “सायद त्यो बेला पैसा उठेको भए भारत नै फर्किसक्थेँ होला । त्यो बेलामा केही दिनका लागि दोहा आएको मेरा २० वर्ष बितिसकेको छ ।”

पैसा लिनुपर्ने मान्छे नभेटिएपछि उनले एउटा निर्माण कम्पनीमा अकाउन्टेन्टका रूपमा जागिर सुरु गरे । उनले काम गर्ने कम्पनी कतारी र भारतीय नागरिक मिलेर स्थापना गरेका थिए ।

विदेशी नागरिकले यहाँ व्यवसाय गर्नका लागि कतारी नागरिकले स्पोन्सर गर्नुपर्ने नियम छ । भारतीय लगानीकर्ताले कम्पनी छाडेपछि त्यो ठाउँ शर्माले लिए । फलस्वरूप, सोही कम्पनीमा उनी २००४ मा लगानीकर्ताको हैसियतमा पुगे । र, यसरी कतारमा उनले उद्यमशीलताको पहिलो बिउ रोप्न सफल भए ।

करिब दुई दशकमा कतारले विकासको नयाँ आयम खडा गरेको छ । कतारको विकासलाई नजिकबाट देखेका शर्माले पनि व्यवसायको बलियो जग हाल्न सफल भए । जसको हाँगा देश–विदेशसम्म फैलिएको छ । उनी हाल यहाँका सफल नेपाली व्यवसायीमा गनिन्छन् ।

शर्माको व्यवसाय विस्तार पिजन इन्जिनियरिङदेखि सेक्युरिटी कम्पनीसम्म फैलिएको छ । कतारभन्दा बाहिरी देशमा पनि पुगेको छ । जसले हजारौँ मानिसलाई रोजगारी दिइसकेको छ ।

आफूलाई बुवाले जागिर खानेभन्दा पनि उद्यमी बन्नुपर्छ भन्दै सानैमा सिकाएको उनी स्मरण गर्छन् । उनले भने, “बाल्यकालमा बागलुङमा छँदा मेलापर्वमा फलफूलहरू बिक्री गर्दथेँ । बुवाले पनि सधैँभरि आफ्नै इलम गर्नुपर्छ भन्दै प्रेरणा दिनुहुन्थ्यो । सायद त्यसैले होला, विदेशमा आएर पनि उद्यममै रमाउन सकेको छु ।”

मध्यमवर्गीय शर्माको परिवार सन् १९९० तिर बागलुङबाट तराई झर्‍यो । बागलुङको सुखौरा गाउँ त्यो बेला निकै दुर्गम मानिन्थ्यो । तराई झरेको परिवारले तत्कालीन समयमा सञ्चालन गरेको ‘दोकान’ आफ्नो व्यावसायिक जीवनको पहिलो पाठशाला भएको उनको बुझाइ छ ।

२०२२ मा कतारमा सम्पन्न फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि पूर्वाधार निर्माणमा कम्पनीमार्फत उनी संलग्न भए । कतारका लागि प्रतिष्ठा बनेको विश्वकपलाई सफल बनाउन उनको कम्पनी पिजन इन्जिनियरिङको पनि योगदान रहेको शर्माको भनाइ छ ।

“हाम्रो कम्पनीले यहाँका धेरै प्रमुख निर्माण आयोजनमा काम गरिरहेको छ । विश्वकप प्रतियोगिताका धेरै परियोजनामा काम गर्ने मौका पाएको छ,” उनले भने ।

शर्माको यो कम्पनीमा कुनै समय पाँच हजारभन्दा बढी कर्मचारी आबद्ध थिए । अहिले पनि कम्पनीमा एक हजारभन्दा कर्मचारी कार्यरत छन् । निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनी भएकाले परियोजनाअनुसार काम गर्नेको संख्या घटबढ भइरहने उनी बताउँछन् । “मेरो कम्पनीमा जोडिएका एक हजारभन्दा बढीको परिवारको जिम्मेवारी पनि मेरै काँधमा आइपुगेको छ,” उनले भने ।

नेपालमा डुब्न लागेको जनरल फाइनान्स (बेस्ट) किनेर सफलताका साथ सञ्चालन गर्न शर्मा र उनको समूहको ठूलो भूमिका छ । “जनरल फाइनान्समा देखिएको समस्याले कम्पनी खारेजीमा जाने स्थितिमा थियो, निक्षेपकर्तामा आफ्नो पैसा फिर्ता आउँदैन कि भन्ने चिन्ता थियो,” उनले भने, “हाम्रो व्यवस्थापनमा आइसकेपछि फाइनान्सलाई खारेजी हुनबाट बचाएर आजका दिनमा लगानीकर्तालाई लांभाश दिने अवस्थामा ल्याएका छौँ ।”

शर्माले पाल्पाको सत्यवती केवलकारका साथै केही जलविद्युत् परियोजनामा सामूहिक लगानी गरेका छन् । लगानीका लागि अरू परियोजनाको अध्ययन भइरहेको उनी सुनाउँछन् ।

गैरआवासीय अभियानको यात्रा

कतारलाई आफ्नो कर्मथलो बनाएका शर्मा गैरआवसीय नेपाली अभियानमा सन् २००६ देखि सक्रिय छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् कतारका सल्लाहकार हुँदै अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य भए । त्यसपछि एनआरएनएको मध्यपूर्व संयोजक सचिव हुँदै अहिले उपाध्यक्ष रहेका शर्मा अब मध्यपूर्वको प्रतिनिधित्व गर्दै संघको नेतृत्व गर्ने योजनामा छन् ।

गैरआवासीय अभियानको नेतृत्व आफूले पाउनेमा उनी विश्वस्त छन् । नेपालमा रेमिट्यान्स बढी पठाउनेमा मध्यपूर्व, मलेसिया र कोरियामा बस्ने नेपाली रहेको भन्दै शर्माले उनीहरूलाई लक्षित गरी सामूहिक लगानी कोषको प्राधिकरण सञ्चालन गर्ने योजना बनाएका छन् ।

अहिले वार्षिक औसत १३ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिन्छ । त्यसको १० प्रतिशत अर्थात् एक खर्ब ३० अर्ब रुपैयाँ सरकारको अग्रसरतामा विभिन्न परियोजनामा लगानी गर्न सकिने उनी बताउँछन् । सरकारले न्यूनतम प्रतिफलको ग्यारेन्टी लिने गरी त्यस्तो रकम जलविद्युत्लगायत विकास आयोजनामा लगानी गर्न सकिने उनको भनाइ छ ।

२००३ बाट सुरु भएको गैरआवासीय अभियानमा पछिल्ला केही वर्षयता विवाद बढ्न थालेको देखिन्छ । चार वर्षअघि काठमाडौंको हायात होटेलमा आयोजित सम्मेलनमा झडपकै अवस्था उत्पन्न भएको थियो । मतभेदबीच दुई वर्षअघि सहमतीय आधारमा तीन अध्यक्ष बनेका थिए । लामो प्रयासपछि हालै मात्र एनआरएनए अभियान एकीकृत भएको छ ।

“गैरआवासीय अभियान आजसम्म सामाजिक मुद्दामा बढी केन्द्रित भयो । अब नेपालको आर्थिक विकासलाई प्राथमिकतामा राखी अगाडि बढ्ने समय आएको छ,” शर्माले भने ।
 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्