site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपालबाट पहिलोपटक हाइलेज चीन निर्यात
तस्बिर : रासस ।

काठमाडौं । नेपालबाट आधिकारिक रूपमा पहिलोपटक पशुपालनका लागि उपयोगी हाइलेज (पशु आहार) चीन निर्यात सुरु गरिएको छ । चितवनको भरतपुरबाट चीनमा हाइलेज निर्यात सुरु गरिएको हो ।

भरतपुरमा उत्पादित प्याकिङ घाँस हाइलेज चीनमा निर्यातको शनिबार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कृषिमन्त्री बेदुराम भुसाल र नेपालका लागि चिनियाँ राजदूत छन सङले संयुक्त रूपमा रिबन काटेर शुभारम्भ गरे ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पशु आहार चीन पठाउने कामको सुरुआत भएको भन्दै अब नयाँ सम्भावनको खोजी गर्नुपर्नेमा जोड दिए । व्यापार घाटा कम गर्ने र सफल रूपमा देशलाई विकास र समृद्धिको दिशामा फड्को मार्नेतिर लैजान जरुरी रहेको उनले बताए ।

सो अवसरमा हाइलेज पशु आहार ‘लोड’ गरिएको १० ट्रकलाई चीनतर्फ पठाइएको थियो । करिब ८० टन हाइलेज चीनको सिगात्सेमा पठाइएको हो । करिब तीन वर्षको प्रयासपछि नेपालको हाइलेज चीन पठाइएको छ । चिनियाँ व्यवसायीको लगानीमा चितवनमा हाल मकैको हाइलेज उत्पादन हुँदै आएको छ ।

होराइजन इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी निर्देशक चाङका अनुसार अहिले पठाइएको हाइलेज डाँठ र दुधिलो घोगासहितको मकैको बोटबाट तयार पारिएको राससले जनाएको छ । क्रमशः अम्रिसो, नेपियरलगायत घाँसबाट समेत पशु आहार बनाइँदै छ ।

यो कम्पनीले भरतपुर र वरपरका किसानबाट मकैको बोट नै खरिद गरेर प्रशोधन गरी पशु आहार बनाएको हो । चाङका अनुसार किसानलाई उन्नत जातको बीउ, सिँचाइको व्यवस्था र प्राविधिक सहयोग समेत गरिँदै आएको छ ।

यो प्रविधिमा दुधिलो मकैको बोटलाई काटेर प्रशोधन गरेपछि हावा नपस्ने गरी प्याकिङ गरिन्छ । सुरक्षित भन्डारणमा १२० दिन राखेपछि यो घाँस चीन पठाइने चाङले जानकारी दिए ।

दुई वर्षसम्म घाँस प्रयोग गर्न मिल्छ । यसलाई निकै पोसिलो आहारका रूपमा लिने गरिन्छ । कम्पनीले किसानसँग गुणस्तर हेरेर बोटैसहितको मकै खरिद गर्दै आएको छ ।

राससका अनुसार पशु आहारलाई रोला बनाएर पठाइएको छ । एउटा रोलामा ४६० किलो पशुआहार हुन्छ ।

चाङका अनुसार दैनिक ८० देखि १०० रोला पशु आहार उत्पादन गर्न सकिन्छ । हाल तयार गरिएको पशु आहार चितवनका विभिन्न ठाउँबाट संकलन गरिएको हो । धेरै मात्रामा पूर्वी चितवनको मकै रहेको छ ।

सन् २०२२ मा चिनियाँ उपराष्ट्रपति नेपाल आउँदा घाँस चीन लैजाने विषयमा सम्झौता भएको थियो । पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ । चाङले चीनको सो क्षेत्रमा दैनिक ५०० कन्टेनर घाँसको माग रहेको बताए ।

सिगात्से सहरसँग भरतपुर महानगरपालिकाको भगिनीसम्बन्ध रहेको छ । पशु आहार निर्यात कार्यक्रमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय, नेपालका लागि चिनियाँ राजदूतावास र भरतपुर महानगरपालिकाले संयुक्त रूपमा आयोजना गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्