site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पीडाको अनन्त शृंखला : अन्ततः यन्त्रणा
Sarbottam CementSarbottam Cement

प्राकृतिक पीडा भएको भए जीवनमा आक्कलझुक्कल आउँदो हो, तर कसैले दिने गरेको पीडाको कुनै सीमा हुन्न । यही सत्यलाई केन्द्रीय विषयवस्तु बनाई उपन्यासकार सुमन वर्षाले ‘अन्ततः यन्त्रणा’ नामक उपन्यास ल्याएकी छन् ।

नेपाली साहित्यजगत्मा नारी हस्ताक्षरले उठाउँदै आउने गरेको नारी अस्मिताप्रतिको थिचोमिचोको सन्दर्भलाई यस उपन्यासले पनि सशक्त ढंगमा उठाएको छ । तर, परम्परागत आवाजभन्दा यहाँ भिन्न कुन अर्थमा छ भने नेपाली समाजमा जेलिँदै गएको पुरुषसत्ताको हैकममा नारीवर्ग मात्र होइन, यसको जडवत् रूप फैलिँदै जाँदा स्वयम् पुरुषवर्ग पनि प्रताडित हुन थालेको प्रसंग कोट्ट्याइएको छ ।

सीमाक्षेत्रमा हुने अतिशय अन्याय–अत्याचारको क्रम, जस्तै– दुःखी मानिसको पनि शैशवकाल तुलनात्मक रूपमा सुखद हुने प्रसंग, निरंकुश व्यवस्थाप्रतिको आक्रोश, जातीय अवधारणाप्रतिको असन्तुष्टि, सामाजिक कुरीति, यौनका कुराजस्ता विषयलाई यहाँ सहायक कथाका रूपमा सजाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उपन्यासमा अनन्तकालदेखि नारीले अत्यधिक मजबुत हुँदै गरेको पुरुषसत्ताका कारण विभिन्न समस्या भोग्दै आउनुपरेको मुख्य सन्दर्भ पस्किएको छ । ती समस्याको गन्ती गर्ने हो भने झन्झन् जेलिँदै गुजुल्टो परेकाले केलाउन सम्भवै नहुने अनुभूत हुन्छ, तापनि पुरुषका लागि मनोरञ्जनका साधन, सन्तान जन्माइदिने यन्त्र, सामाजिक लाञ्छनाको सिकार, पुरुषको कमजोरीमा आइपर्ने प्रहार छेक्न ढाल भइदिनुपर्नेजस्ता प्रमुख जटिलतालाई सरल कथा र स्वाभाविक चरित्रहरूको क्रियाकलापबाट अभिव्यक्त गरिएको छ ।

संसारको गति र प्रगतिका लागि पुरुष मात्र सुयोग्य ठान्ने अवधारणाको सादृश्यमा देखापर्ने सन्तानका रूपमा छोरै जन्माइदिनुपर्ने बाध्यताको भुंग्रोमा हजुरआमादेखि नातिनीसम्मका पुस्ताले पिल्सिँदै जानुपरेका कथाको कलेवरमा उपन्यासकारले समकालीन समाजप्रति थुप्रै प्रश्नहरू उठाएकी छन् ।

Global Ime bank

यहीँनिर उपन्यासले समयको बगाइसँगै चेतनाले सगरमाथा ठड्याइसके पनि नारी अस्मिताको दुःस्थिति यथावत् रहनु मानवजातिकै लागि कतिको शोभादायक कुरा हो भन्ने प्रश्न राख्न खोजेको स्पष्ट हुन्छ ।

कार्यपीठिकाका रूपमा नेपालका पूर्वी भागका सीमावर्ती क्षेत्रहरूलाई बनाएर यस उपन्यासमा गमन र गुणाको गृहस्थ जीवनमा देखिएका बिब्ल्याँटाहरूका माध्यमबाट उपन्यासकार वर्षाले नारीसत्तामाथि हुँदै आएको शारीरिक एवम् मानसिक उत्पीडनको शृंखलालाई सविस्तार वर्णन गर्ने रोचक कथाभूमि तयार पारेकी छन् ।

वैवाहिक जीवनको सुख भोग्ने गृहिणीभन्दा बढी भोग्या, अझ त्यसभन्दा बढी रतिसुखभन्दा पतिदेवको छोराको आसलाई साकार तुल्याउन कृतसंकल्पी भइदिन विवश नारीको यस कथामा पुरुषवर्गको आन्तरिक द्वन्द्वका रूपमा देखिने समस्याका थुप्रोलाई समेत रोचक ढंगमा पेस गरिएको छ ।

यसरी एकोहोरो नारीवादी रटानको मात्र प्रस्तुतिमा नरमाई मानवजातिकै समग्र समस्याप्रतिको यसप्रकारको चिन्तन गरिने प्रयत्न यस उपन्यासको निकै आकर्षक पक्ष बन्न पुगेको छ । मुख्य चरित्रहरूको नाम जुराउनमा अर्थसंगत चेत उपन्यासकारले पुर्याएको देखिन्छ ।

गुणाको रूपसौन्दर्यको बखानमा नअल्झी गुणको अर्थगत तहबाट नाउँ राखिएको बुझ्न सकिन्छ । उब्जाउ हुन नसक्ने जमिनलाई खराब अर्थमा बैगुन भन्न सकिन्छ । गुणाले गमनका सन्तान जन्माउने नारीगुण देखाएकै पाइन्छ ।

यसभन्दा बढी पतिदेवका छोराको चाहनालाई आफूले पीडित रूपमा भए पनि पूरा गरिदिन मनमनै कामना गरिरहने, छोरा पाउन नसक्ने आइमाई भन्ने समाजको कटाक्ष सहने, संसर्गसुखको बेला पनि छोराको गहन चाहनालाई जपिरहने नारीका रूपमा गुणाको चरित्र आएको छ ।

गमनको त नामअनुसार नै कहिले कामोत्तजना, कहिले छोराको चाहनाले स्त्रीगमन गरिरहने चरित्र देखिन्छ ।

जीवविज्ञानअनुसार सन्तानका रूपमा छोरा वा छोरी जन्मिनु नारीको भूमिका हुन्न भन्ने पुष्टि भइसकेको छ । सञ्चार एवम् ज्ञानप्रसारका अन्य क्षेत्रको पनि तीव्र विकास भइसकेको छ, तापनि हाम्रो जस्तो समाजमा आफ्ना चाहनाअनुरूपको सन्तान जन्मनुमा नारीको मात्र मुख्य भूमिका हुने भनिठान्ने जमात पनि ठूलै छ ।

यहाँनिर छोरी जन्मे पनि के छोरी मानवरूप होइन अथवा छोरा जन्माउन सक्नु पुरुषको पुरुषत्व मान्ने परम्परा चल्ने हो भने छोरी जन्माउँदा पुरुषत्वहीन ठान्ने हो भन्नेजस्ता सटीक प्रश्नलाई सरल तरिकाले खडा गरिएको छ ।

प्रकृतिले त नारीलाई संसारमा सृष्टिक्रमलाई निरन्तरता दिन सक्ने क्षमतावान् बनाएको हुनुपर्छ । तर, मानवअहम्को आफ्ना महत्त्वाकांक्षाको फल दिने साधनका रूपमा हेर्न खोज्ने चाहनाको द्योतन हो भन्ने साबित हुन आएको देखिन्छ ।

यहीँबाट सुरु हुन्छ नारीपीडाको त्रासद स्थिति अनि त्यसको अनन्त रूप । यस्तो पीडाको भयंकर रूपलाई यहाँ उपन्यासकारले बडो सरल ढंगमा नाटकीकरण गरी अभिव्यक्त गरेकी छन्—पतिसित यौनिक क्रियामा सहभागी नहुने मनमनै दृढनिश्चयी गुणा छोराको चाहनामा पुनः त्यसतर्फ मोडिन्छिन् ।

यहाँ जसरी भए पनि छोरा पाइदिने बाध्यतामा जकडिएकी गुणाको स्थितिलाई उपन्यासकारले निकै खुबीका साथ चित्रण गरेकी छन् ।

विडम्बनाजन्य सन्दर्भ छ, पुरुषलाई मनोरञ्जनहेतु भोग्न नारी चाहिने, आफ्नो वंशपरम्परा सुचारु गर्न माध्यमका रूपमा नारी नै चाहिने तर सन्तानका रूपमा छोरीको जन्मचाहिँ नचाहनु एकातिर सृष्टिपरम्पराप्रति कुठाराघात हो भने अर्कातिर नारी अस्तित्वप्रति अपमान हो ।

यस मर्मलाई उपन्यासकारले सरल ढंगमा उपन्यासको कथानक बुनेकी छन् । यसरी प्रत्येक व्यक्तिले सन्तानका रूपमा छोरा नै चाहने र सोहीअनुरूप छोराकै मात्र जन्म हुने हो भने त्यही छोराले मात्र कसरी संसारमा वंशपरम्परा अघि बढाउन सक्छ भन्ने ज्वलन्त प्रश्नलाई प्रत्यक्ष रूपमा नभनिए पनि उनको कलमले यस पक्षतिर पर्याप्त मात्रामा संकेत गरेको पाइन्छ ।

यहाँ नारीवादको कोरा नारामा भन्दा कठोर पुरुषसत्तालाई झन्झन् रूढताको बाटोमा डोर्याउने पक्षलाई चेतनाको आलोक देखाउने कर्ममा विश्वास गरिएको छ । त्यसैले पुरुषको पीडालाई पनि अभिव्यक्त गर्ने प्रयासले उपन्यासको महत्तालाई बढाएको सहजै देखिन्छ ।

पिताको स्नेहयुक्त हातबाट वञ्चित प्रमुख पुरुषपात्र गमन विभिन्न प्रसंगहरूमा जीवनभरि नै हारिरहेका मान्छेका रूपमा प्रतिविम्बित भएको छ । अस्थिरता, पटकपटक चुनाव हार्ने, कारागार चलान हुनेजस्ता दुर्घटना त उसको चरित्रका बाह्य समस्या हुन्, तर आफैँले पोषण गरिरहेको पुरुषसत्ताको प्रताडनाबाट उसको चरित्र पनि नराम्ररी पीडित हुन पुग्नु समग्र पुरुषवर्गकै मनस्थिति र सामाजिक स्थिति अभिव्यक्त भएको छ ।

उपन्यासमा नारीसत्तामाथि हुने गरेको अन्याय पुरुषहरूको भन्दा पुरुषसत्तालाई जडवत् बनाउँदा विवेकहीन अवधारणाले हो भन्ने निष्कर्षलाई संकेत गर्ने काम भएको छ, जुन आफैँमा प्रशंसायोग्य ठहरिन्छ ।

वास्तवमा नारीसत्ता जतिजति शोषणचक्रमा फस्दै जान्छ, त्यतित्यति पुरुषसत्ता पनि प्रभावित हुँदै जान्छ भन्ने सारवस्तु पनि उपन्यासको अन्त्यमा सांकेतिक रूपमा व्यक्त भएको छ । यसको अर्थ नारी अस्मितामाथि जति अपहेलना, थिचोमिचो, अत्याचार गरिँदै गइन्छ, त्यति नै पुरुषसत्तामा परोक्ष रूपमा भए पनि असर पर्दै जान्छ ।

यसर्थ यहाँ उठाइएको समस्याको चुरो एउटा पुस्ताबाट अर्काे पुस्तामा सर्दै गएको प्रसंगमा उपन्यासको अन्त्य गरिएको मान्न सकिन्छ । तर, यस्तो यन्त्रणा अनन्तकालसम्म डोरिन सक्ने कुरालाई संकेत मात्र गरिएको देखिन्छ । यस अर्थमा पनि उपन्यासको शीर्षक अन्ततः यन्त्रणा सार्थक देखापर्दछ ।

उपन्यासमा सांस्कृतिक झलक आदिको चित्रणसँगै स्थानीयताको रङ कुशलतापूर्वक दलेर नारीपुरुषको सहअस्तित्वले सृष्टिको यो सुन्दर संसार अझ कसरी सुन्दर बनाउन सकिन्छ भन्ने खोजमा क्यानभास तयार पार्न उपन्यासकारले आफ्नो खुबी देखाएकी छन् ।

यस उपन्यासलाई प्रकाशकीयमै वस्तुगत ढंगमा विश्लेषण गरेर विषयवस्तु र त्यसमा चित्रित प्रसंगलाई बोध गर्न मार्गप्रशस्ति गरिनु निकै सराहनीय कदम हो ।

सतहीस्तरका बोधगमकहरूले यस उपन्यासको पठनपश्चात् आजको एक्काइसौँ शताब्दीका परिवर्तित समाजसभ्यतामा फेरि उहिल्यैदेखिका बासी कथाको निरन्तरता भयो भन्ने कुराको बोध गर्ने सम्भावनालाई उक्त प्रकाशकीयले नै यसप्रकारका विषयवस्तु र कथानकलाई कुन कोण प्रतिकोणबाट मनन गर्नुपर्छ भन्ने चेतना स्पष्ट पार्न सक्ने क्षमता देखाउन सक्षम हुने भएकाले पनि उपन्यासका लागि यो पक्ष निकै गहकिलो कुरा साबित हुने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय