site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाकारण रोके कडा आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिनाकारण अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फर्काउने गरेको आरोप लगाएको छ । 

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने कागजात पेस गर्दा पनि अध्यागमन कार्यालयले बिना कारण श्रमिकहरूलाई विमानस्थलबाटै फर्काउने काम गरेको भन्दै आपत्ति जनाएको हो ।

Argakhachi Cement Island Ad

अध्यागमनका कर्मचारीले केही दिनदेखि कानुन विपरीतको गलत सूचना दिने, अनावश्यक दुःख दिई वैदेशिक रोजगारीबाट वञ्चित गराउने उद्देश्यले हस्तक्षेपयुक्त काम गर्दै अएको संघको आरोप छ । यसबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि असार २४ गते जोर्डन जान लागेका १५ जना कामदार, असार २७ गते कुवेत जान लागेका ११७ जना कामदारलाई विमानस्थलबाट फर्काइएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

उनले वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई वैदेशिक रोजगार व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी वैदेशिक रोजगार विभागबाट अन्तिम श्रम स्वीकृति लिई रोजगारीमा जाने गरेको र यसको जानकारी हुदाहुँदै पनि कामदारलाई रोक्ने काम गरिएको बताए । विभागका श्रम स्वीकृति लिएको सम्पूर्ण जानकारी अनलाइन प्रणालीमार्फत अध्यागमनमा पनि जाने भए पनि त्यसलाई कर्मचारीले बेवास्ता गरेको उनको भनाइ छ ।

यसबारे संघले श्रममन्त्रीसहित सबै सरोकारवालालाई जानकारी गराइसकेको भन्दै कामदार रोक्ने कामलाई निरन्तरता दिए कडा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने संघले चेतावनी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्