site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सरकार सचेत छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने कुरामा सरकार सचेत रहेको बताएका छन् । 

शुक्रबार राष्ट्रियसभा बैठकमा राष्ट्र ऋण उठाउने विधेयकको दफावार छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा सरकार सचेत रहेको बताएका हुन् । 

ऋण लिएर कहाँ खर्च गर्ने र प्रतिफल कसरी सुनिश्चित गर्ने भन्नेमा सरकार गम्भीर रहेको उनको भनाइ छ । उनले आवश्यकताको आधारमा ऋण लिनुपर्ने बताए । उत्पादन वृद्धि र पुँजि निर्माणमा सघाउनेगरी ऋण लिनुपर्नेमा उनले जोड दिए । 

उनले भने, “हामीले जुन ऋण उठाइराखेका छौँ । त्यो हाम्रो आवश्यकताअनुसार उठाउनुपर्छ । हाम्रो आवश्यकता के छ ? कुन क्षेत्रमा सबैभन्दा ज्यादा प्रभाव पर्छ ? यसले उत्पादन वृद्धि, पुँजी निर्माणमा कति सघाउँछ ? भनेर नै हामीले ऋण लिनुपर्छ ।” 

राष्ट्रियसभा बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको छ । राष्ट्रियसभाको अर्को बैठक २०८० साउन १ गते सोमबार दिनको १ः०१ बजे बस्नेगरी बोलाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्