काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा पाकिस्तान ‘ए’ विरुद्ध नेपाली टिमका प्रतिश जिसी सोमपाल कामीसँग ५८ रनको साझोदरी गरेर आउट भएका छन् ।
टस जितेर ब्याटिङमा ७२-८ को कठिन अवस्थामा रहँदा यी दुई अर्धशतकीय साझेदारी गर्दै हाल नेपाली टिम ब्याटिङमा सम्मानजनक योगफलतर्फ अघि बढेको हो ।
जारी खेलको २८ ओभर सकिँदा नेपालले नौ विकेट गुमाएर १३० रन बनाएको छ । हाल क्रिजमा रहेका सोमपाल कामीले २८ रन र ललित राजवंशी शून्यमा खेलिरहेका छन् । सोमपालसँग ५८ रनको साझेदारी गरेका प्रतिस २६ रनमा आउट भए ।
सुरुआतदेखि नै धराशायी बनेको नेपाली इनिङ्समा कुनै पनि ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । नेपालका लागि अर्जुन साउद र कुशल मल्लले समान १७ रन जोडे । त्यस्तै, गुल्सन झाले १३ र ओपनर आसिफ शेखले १२ रन बनाए ।
नेपालका कप्तान रोहितकुमार पौडेलले चार, कुशल भुर्तेल र पवन सर्राफ समान एक रनमा आउट भएका थिए । भीम सार्की डकआउट भए ।
पाकिस्तानका साहनवाज दाहानी र मोहम्मद वसिमले समान चार विकेट लिएका छन् । यस्तै, मुबासिर खानले एक विकेट लिए ।