काठमाडौं । लगातार दुई कारोबार दिन स्थिर रहेको धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक मंगलबार ४.७३ अंकले घटेको छ । आइतबार र सोमबार झिनो अंकले घटेर स्थिर रहेको नेप्से आज ०.२३ प्रतिशतले घटेर २०७२.२४ विन्दुमा रोकिएको हो ।
सोमबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । सोमबार तीन अर्ब ७९ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज दुई अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । एक दिनमै कारोबार रकम ९३ करोड ८४ लाख रुपैयाँले घटेको छ । आर्थिक वर्ष सकिन लाग्दा लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ ।
आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २८३ धितोपत्रको ७९ लाख ८८ हजार ९८६ कित्ता खरिद–बिक्री भएको छ ।
कारोबारमा आएका १३ मध्ये चार समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र उत्पादन तथा प्रशोधन समूह रहेका छन् ।
सर्वाधिक परिसूचक वृद्धि हुनेमा विकास बैंक समूह रहेको छ । यस समूहको परिसूचक ३.४२ प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह छ । यस समूहको परिसूचक १.३६ प्रतिशतले घटेको छ ।
हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी एनआईबीएल समृद्धि फन्डको इकाई मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ ।
रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको १२ करोड ७८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।