
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने टिप्पणी गरेका छन् ।
दलाल पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलका रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको भनाइ छ ।
शनिबार काठमाडौंमा समाजवादी पेसागत कानुन व्यवसायी संगठनले आयोजना गरेको एक कार्यक्रममा उनले दलाल पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दल अघि बढ्न नसक्ने तर्क गरे ।
मुलुकमा रोजगारी सिर्जना र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने उनले उल्लेख गरे ।
उनले आफ्नो पार्टी मात्र दलाल पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्न दृढ रहेको बताए ।
“...अहिले राजनीतिक जुन नयाँ भन्ने चिज आइराख्या छ, स्वतन्त्र भन्ने जुन चिज आइराख्या छ, तिनको पनि त्यही हविगत हुन्छ । किनभने, ती कसैले पनि यो दलाल पुँजीवादमाथि कसैले प्रश्न उठाएका छैनन्,” उनले भने, “त्यसअर्थमा त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सिर्जना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरूले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्योभन्दा राम्रो रोजगारी पाउँछन् । यसतर्फ उनीहरूका पनि मुद्दा केन्द्रित छैनन् ।”
पार्टीनिकट कानुन व्यवसायीलाई उनले समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलियातन्त्रको अन्त्य हुने गरी लाग्न आग्रह गरे ।