राजेश न्यौपाने
अम्मल नभइ नहुने,
किन नहुने ?
छैन अम्मल भने कसैको
छैन स्थान त्यसको
अम्मलले नै गर्छ सबथोक
सुधार र बिगार !
यो हो मेरो विचार
भन्छन् सबै—
अम्मलले यो गरयो, त्यो गर्यो
फलानोलाई बिगार्यो !
तर, म भन्छु—
अम्मलले कसैलाई
केही गर्न उत्साहित गर्छ भने,
उसले आफूले चिताएको स्थानमा पुर्याउँछ भने
अम्मललाई अम्मलीको ‘उद्धारकर्ता’ किन नभन्ने ?
काव्यको अनवरत अम्मलले नै
देवकोटा भए प्रसिद्ध महाकवि
साहित्यको निरन्तर अम्मलले नै
टैगोरले प्राप्त गरे प्रसिद्ध नोबेल पुरस्कार
र, अझ प्राप्त गरे जनजनबीचमा महान अमरत्व !
सोचौँ–
इदि, ‘अम्मल’ नभएको भए
कसरी हुन्थे ती महान् प्राप्तिहरू ?
यो सानो मान्छे पनि
साहित्य र कलममा डुबेर बग्नेछ
एक दिन,
यिनै ‘अम्मली’का संसारमाझ रम्नेछ
धन्य छन् ‘अम्मली’हरू
जसले गरे ठूलठूला आविष्कार र
पुर्याएका छन् संसारलाई
आधा सेकेन्डको दूरीमा !
(बानेश्वर, काठमाडौं)