काठमाडौं । बनेका सबै सिनेमा चल्दैनन्, यो युनिभर्सल ट्रुथ हो । अर्थात्, वर्षभरि बनेका सिनेमामध्ये सबैले राम्रो व्यापार गर्दैनन् । सीमित चलचित्रले मात्र लगानी उठाएर राम्रो व्यापार गर्छन् । नेपाल पनि अपवादमा पर्दैन । यहाँ पनि बर्सेनि दर्जनौँ सिनेमा बन्छन् । त्यसमा केही सीमित मात्र बक्सअफिसमा सफल हुन्छन् । अधिकांश सिनेमाले लगानी डुबाउँछन् ।
गत वर्षको वैशाख १ देखि चैत २४ गतेसम्म ४९ वटा नेपाली चलचित्र रिलिज भएका थिए । त्यसमध्ये ‘के घर के डेरा’, ‘दुई नम्बरी’, ‘झिँगे दाउ’, ‘कबड्डी–४’, ‘महापुरुष’, ‘छक्का पञ्जा–४’, ‘ए मेरो हजुर–४’ र ‘प्रेम गीत–३’ सफल हुँदा बाँकी चलचित्रले लगानी उठाउन सकेनन् ।
क्विन मेरी युनिभर्सिटीको रिसर्च तथ्यांकानुसार हलिउडमा सिनेमाको सक्सेस रेट २० प्रतिशत छ । बलिउडको सक्सेस रेट ९ प्रतिशत छ । नेपालमा वार्षिक सिनेमाको सक्सेस रेट कति छ भन्ने यकिन तथ्यांक छैन । तर, सिनेमाका अध्यता यहाँको सक्सेस रेट करिब १२ प्रतिशतवरिपरि रहेको बताउँछन् ।
बलिउड र हलिउडमा सिनेमाको सक्सेस रेट क्रमशः २० र ९ प्रतिशत रहे पनि लगानी रिकभरीका हिसाबले यी दुवै चलचित्र उद्योग नाफामा छन् । बर्सेनि यी सिनेमा उद्योगमा जति लगानी हुन्छ, बक्सअफिसमा सफल चलचित्रको ग्रस कलेक्सन त्योभन्दा धेरै हुन्छ । त्यसैले समग्रमा हलिउड र बलिउडका सिनेमा उद्योग नाफामा छन् ।
तर, बलिउडभन्दा माथि सक्सेस रेट रहे पनि नेपाली सिनेमा उद्योग घाटामा छ । यहाँ वर्षभरि सिनेमा उद्योगमा हुने लगानीभन्दा धेरै कम रकम बक्सअफिस कलेक्सन हुने गरेको छ ।
पछिल्ला केही वर्षयता नेपाली चलचित्र उद्योगमा विविधता देखिन थालेको छ । कथामा ‘भेराइटी’ आउन थालेको छ । सिनेमा भने चलेका छैनन् ।
गत वर्षको अन्तिमयताकै उदाहरण हेर्दा चैत २४ गते ‘बहाव’ रिलिज भएको थियो । उक्त चलचित्रमा प्रमोद कँडेलले केही नयाँ प्रयोग गरेका थिए ।
राजनीतिक स्थिरता नहुँदा विकासले गति लिन नसकेको भन्दै उनले यसकै आधारमा आफ्नो सिनेमाको सट डिजाइन गरेका थिए । यही नै नेपाली सिनेमाको ट्रेडमार्क बन्न सक्छ कि भन्ने उनको उद्देश्य थियो ।
जसरी नेपालमा पटक–पटक पोलिटिकल क्र्यास भएको छ, त्यसैलाई विम्ब बनाए । उनले विस्तारै सट उठाएर एउटा टाइममा पुगेपछि त्यो सट क्र्यास गरेका थिए ।
नेपालमा धेरै राजनीतिक दल छन् । केही दल प्रजातान्त्रिक विचारधाराका छन् भने केही कम्युनिस्ट विचारधाराका । जति बेला दुवै विचारधारा भएका दल एक ठाउँमा उभिएका छन्, त्यति बेला राजनीति सही ट्रयाकमा गएको छ । जब उनीहरू एक ठाउँमा बस्दैनन्, राजनीति क्र्यास भएको छ । त्यसैले उनले सोहीअनुसारको सट डिजाइन गरे ।
उनको चलचित्रको मुख्य क्यारेक्टर सन्ध्या लेफ्ट विचारधारासँग नजिक हुन्छिन् । त्यसैले उनी सिनेमाभर लेफ्ट साइडमा देखिन्छिन् । सन्ध्याका बुवा बनारसमा पढेर आएका छन् । संस्कार, संस्कृतिमा विश्वास गर्छन् । त्यसैले उनलाई सिनेमाभर राइट साइडमा राखेका छन् ।
सन्ध्या सिनेमाभर सेन्टरसम्म आउँछिन्, सेन्टर क्रस गरेर राइट जान्नन् । सन्ध्याका बुवा बोर्डरसम्म आइपुग्छन्, क्रस गरेर कहिले पनि लेफ्टमा पुग्दैनन् । तर, यो सिनेमा चलेन ।
चलचित्र ‘बुलाकी’ वैशाख १ गते रिलिज भयो । लक्ष्मण सुनारले निर्देशन गरेको सिनेमा कर्णालीमा खिचिएको थियो । समाजमा रहेको जारी प्रथालाई यसले आफ्नो कथा बनाएको थियो ।
अघिल्लो हप्ता मात्र चलचित्र ‘परस्त्री’ रिलिज भयो । सुरज पाण्डेले निर्देशन गरेको सिनेमाले राम्रै समीक्षा पनि बटुल्यो । तर पनि यो सिनेमा चलेन । अर्थात्, हलमा दर्शकको उत्साहजनक उपस्थिति देखिएन ।
यहीबीचमा असार ८ गते ‘अन्तिम संस्कार’ रिलिज भयो । प्रदीप शाहीले निर्देशन गरेको यो चलचित्रलाई पनि दर्शकले साथ दिएनन् ।
वैशाख २९ गते ‘हल्करा’ रिलिज भयो । विक्रम सापकोटाले निर्देशन गरेको यो सिनेमाले समेत दर्शक पाएन । यसले पनि राम्रै समीक्षा बटुलेको थियो ।
जेठ २६ गते ‘नीरफूल’ रिलिज भयो । फूलमान बलले निर्देशन गरेको यो चलचित्र हेर्न खासै दर्शक गएनन् ।
यी सबै चलचित्र निर्देशकका डेब्यु सिनेमा हुन् । ‘परस्त्री’का पाण्डेबाहेक अरू निर्देशकले आफ्नो सिनेमाको कथा पनि आफैँ लेखेका हुन् । कथा र प्रस्तुतिमा यी निर्देशकले विविधता दिने प्रयास गरेका थिए । तर, दर्शकको साथ पाएनन् ।
पहिलो निर्देशकका चलचित्र हेर्न दर्शक हिचकिचाउने गरेको यी सिनेमालाई हेर्दा केही हदसम्म अनुमान लगाउन सकिन्छ । ब्रान्ड बनिसकेका सिनेमामा दर्शक केही हदसम्म भए पनि जाने तर नयाँ मेकरलाई हम्मेसी विश्वास नगरेको पाइन्छ । त्यसैले हलिउड होस् वा बलिउड धेरै मेकरले कम्पनी मोडलमा सिनेमा बनाइरहेका छन् । जसले ब्रान्ड बनाइसकेको छ, उसैको सिनेमा चल्ने गरेका छन् । ब्रान्ड बनिसकेका सिनेमा ठिकठाक भए पनि चल्ने तर नयाँ मेकरका राम्रै भए पनि नचल्ने पछिल्ला केही उदाहरणले नै पुष्टि गर्छ ।
मेकरप्रति दर्शकको विश्वास कुन लेवलमा छ, त्यसले पनि सिनेमाको व्यापार निर्धारण गर्न थालेको छ । “जुन निर्देशकलाई दर्शकले भरोसा गरेको छ, त्यसैको सिनेमा चल्छ,” एक अग्रज निर्देशक भन्छन्, “यसको सिनेमा यो लेवलको हुन्छ भनेर दर्शकले मूल्यांकन गरिरहेको हुन्छ । त्यसैले दर्शकले सिनेमाबारे थाहा पाउनेबित्तिकै कसको सिनेमा हो, को–को छन् भनेर बुझेर हेर्ने/नहेर्ने निर्धारण गरेको पाइन्छ ।”
चलचित्र ‘जारी’ वैशाख १ गते रिलिज भएको थियो । उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । उपेन्द्रको पनि यो पहिलो निर्देशन हो । राम्रै समीक्षा पाएको यो सिनेमा बक्सअफिसमा ‘सुपरहिट’ भयो । यो चलचित्र आफैँमा सवल थियो । तर, सिनेमा चल्नुमा ‘ब्रान्ड’को उत्तिकै भूमिका छ । ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ यसका निर्माता हुन् । दयाहाङ राई, मिरुना मगर, विजय बराललगायत ‘कबड्डी’को टिम हो । उपेन्द्र सुब्बा स्वयं ‘कबड्डी’का लेखक हुन् । बाँसुरी फिल्म्स यो सिनेमा निर्माण गर्ने ब्यानर हो । त्यसैले समग्रमा भन्दा यो एउटा स्थापित ब्रान्डले निर्माण गरेको सिनेमा हो । यो नै सिनेमाको ‘ब्याकबोर्न’ बन्यो । र, यसले ‘जारी’को हाइप बनाउन र दर्शकमा भरोसा दिलाउन निःसन्देह सहयोग गरेको थियो ।
त्यसैले निर्देशक प्रमोद कँडेल नेपाली सिनेमा उद्योगलाई परिणाममुखी र भरोसायोग्य बनाउन मेकर कम्पनी मोडलमा जानुपर्ने विचार राख्छन् । त्यस्ता सिनेमा कम्पनीमा दर्शकले विश्वास गरिसकेका कोही निर्देशक हुन्छन्, कोही निर्माता हुन्छन्, कोही लेखक हुन्छन् । यीमध्ये कोही न कोहीप्रति विश्वास गर्ने दर्शक सिनेमा हेर्न आउँछन् । धेरैजनाको सहकार्य, मिहिनेत र लगानीमा बनेको सिनेमा राम्रो पनि हुन्छ ।
सक्सेस रेटको दर जतिसुकै होस्, नेपाली सिनेमा उद्योग हरेक वर्ष घाटामा छ । निर्माताको ठूलो रकम डुबिरहेको छ । सिनेमामा ‘भेराइटी’ देखिँदै छ । यो प्रयास नयाँ मेकरले गरिरहेका छन् । तर, तिनै मेकरका फरक स्वादका सिनेमा दर्शकले हेरिरहेका छैनन् । नयाँ मेकरले नयाँ टेस्ट दिन प्रयास गर्ने तर दर्शकले सिनेमा नहेर्ने भनेको समग्रमा बजार खुम्चिँदै गएको संकेत समेत हो ।
नयाँ टेस्टका सिनेमाका दर्शक अक्सर नयाँ नै हुन्छन् । त्यसमा पनि विशेषतः युवापुस्ता । अहिलेको पुस्ता वर्ल्ड सिनेमामा अभ्यस्त छ । उनीहरू चुजी भइसकेका छन् । छानीछानी सिनेमा हेर्छन् । नेपाली चलचित्र वर्ल्ड सिनेमाको क्वालिटीका छैनन् । त्यसैले ब्रान्ड बनिनसकेका र पहिलोपटक फरक टेस्ट बोकेर आएका सिनेमा तथा निर्देशक दर्शकको रोजाइमा परेका छैनन् ।