site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभामा मागियो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रियसभा सदस्य इन्दिरादेवी गौतमले राष्ट्रिय स्वाभिमानमा आँच आउने अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेकी छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको शून्य समयमा उनले यस्तो माग गरेकी हुन् ।

आफूलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली गएको भनी व्यक्तिविशेषलाई इंगित गरी दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आउने भन्दै उनले प्रधानमन्त्रीले बैठकमा आएर जवाफ दिनुपर्ने माग गरिन् ।

Argakhachi Cement Island Ad

उनले प्रधानमन्त्रीको सो अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि आपत्तिजनक रहेको बताइन् ।

मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै नेपालीले जीवन आहुती दिएको कुरा प्रधानमन्त्रीले बुझ्नुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीले सदनमार्फत आफ्ना भनाइ फिर्ता लिनुपर्नेमा उनले जोड दिइन् ।

“हिजो एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीज्यूले दिनुभएको अभिव्यक्ति स्वतन्त्र, सार्वभौमसम्पन्न स्वाभिमानी नेपालीका लागि गम्भीर आपत्तिजनक छ । हिजो उहाँले मलाई प्रधानमन्त्री बनाउन धेरैपटक दिल्ली जानुभएको भनेर कोही व्यक्तिविशेषलाई उहाँले इंगित गर्दै भन्नुभएको छ,” उनले भनिन्, “प्रधानमन्त्रीले बुझ्नुपर्छ, यो मुलुकको स्वतन्त्रता र सार्वभौमिकतालाई जोगाउन धेरै देशभक्त नेपालीले आफ्नो रगत बगाएका छन् । जीवनको आहुति दिएका छन् । प्रधानमन्त्रीको कुर्सीमा बसेर यसकिसिमका राष्ट्रिय स्वाभिमानमा आँच पुर्‍याउने अभिव्यक्ति दिन उहाँलाई कदापि छुट दिन सकिँदैन । म यस विषयमा प्रधानमन्त्रीले सदनसमक्ष आएर स्पष्ट पार्न र आफ्ना भनाइ फिर्ता लिन अनुरोध गर्दछु ।”

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:०२
प्रतिक्रिया दिनुहोस्