काठमाडौं । नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उपरकोटीविरुद्ध जग्गा कित्ताकाट गर्ने क्रममा एक लाख ७५ हजार घुस लिएको दाबीसहित मुद्दा दायर गरेको हो ।
उनलाई रिसवत लिन सहयोग गर्ने लेखापढी व्यवसायी अभिषेक कार्कीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
अख्तियारले उपरकोटी र कार्कीलाई जग्गा कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीबाट घुस माग गरेको सूचनाका आधारमा पक्राउ गरेको थियो । उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारको दाबी छ ।
उपरकोटी र कार्कीविरुद्ध अख्तियारले जनही एकलाख ७५ हजार बिगो र ६ महिनासम्म कैद सजाय माग गरेको छ ।