site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपा फेरि ब्युँताउने अभिव्यक्ति– कार्यकर्ता हौस्याउने मेलो कि फरक दललाई देखाएको डर ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । यही असार १० गते नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषणको आवश्यकता औँल्याए । एमाले नेता केशव बडालको पुस्तक विमोचन कार्यक्रममा उनले विभाजनको उद्देश्य पहिल्याउनुपर्नेमा जोड दिएका थिए ।

“अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो भनेर मात्रै हुँदैन,” ओलीले भनेका थिए, “त्यसका पछाडिका कारणहरू के थिए, उद्देश्यहरू के थिए, किन विभाजन भयो, किन गरियो, कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो ? यी कुराहरू आउनुपर्छ ।”

त्यसको चार दिनपछि अर्थात् असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा पनि उनले नेकपाको स्मरण गरे । नेकपा भंग हुँदा ‘भित्तामा नाक र मुख ठोक्किएको जस्तो भएको’ उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“...भइहाल्छ कि केही भनेर विभिन्न तत्त्वलाई लिएर आयौँ । र, नेकपा भन्ने फेरि बनायौँ । पहिले नेकपा थियो, फेरि नेकपा बनायौँ । त्यसबाट नराम्रोसित भित्तामा नाक ठोक्किएजस्तो, निधार ठोक्किएजस्तो फेरि हामी नेकपा (एमाले)मा फर्कियौँ,” ओलीले भनेका थिए ।

तत्कालीन नेकपाको एक घटक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेकपाको स्मरण गर्दै आएका छन् । केही समययता उनले नेकपा ब्युँताउने गरी कम्युनिस्ट पार्टीहरूबीच एकताको पहल गरिरहेको बताइरहेका छन् ।

Global Ime bank

आइतबार भक्तपुरमा नारायणविलास जोशीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि उनले तत्कालीन नेकपा किन विभाजन भयो भन्ने बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिए ।

“सबैले चिन्तन गर्नुप¥यो कि हिजो के कारणले एकीकृत भएको कम्युनिस्ट आन्दोलन बच्न सकेन ? त्यहाँ विचारमा, राजनीतिमा, आचरण र संस्कृति, भावनामा कहाँ त्रुटि थियो ?,” प्रचण्डले भने, “के प्रकृतिको कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने हामीले जमर्को गर्नुपर्छ ।”

समाजवादी मोर्चा गठन गर्दा पनि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र आफूले नेकपातिरै फर्कने कुरा गरेको उनले बताए । “माधवजी र मैले के भनेका छौँ भने, फेरि नेकपातिर फर्कनुपर्छ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ भन्ने हामीले भनेका छौँ,” उनले भने ।

अध्यक्ष नेपालले पनि नेकपा ब्युँताउनुपर्ने भन्दै पार्टी एकताका लागि आह्वान गर्दै आएका छन् । भक्तपुरको सोही कार्यक्रममा उनले कम्युनिस्ट पार्टीले नै जनतालाई सुखी र समृद्ध बनाउनुपर्ने बताए ।

“जनताको जीवनलाई सुखी, समृद्ध बनाउने, समानता, अवसर र शिर ठाडो पारेर हिँड्न सक्ने सबै कामको जिम्मेवारी कम्युनिस्ट पार्टीले नै गर्नुपर्नेछ,” उनले भने ।

नेकपाबारे नेताहरूका अभिव्यक्ति विभाजनको ‘रियलाइजेसन’ हो कि कार्यकर्तालाई उत्साहित बनाउने माध्यम भन्ने प्रश्न उठाउन थालिएको छ ।

नेकपा ब्युँताउन सम्भव छ ?

०७४ को आम निर्वाचनमा एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । ०७५ जेठ ३ गते यी दुई पार्टीबीच एकताको घोषणा गरियो । र, नेकपा गठन भयो । तर, त्यसको केही समयपछि नै नेकपा आन्तरिक किचलोमा रुमलिन पुग्यो ।

नेकपा गुट–उपगुटमा विभाजित भएको थियो । पार्टी नामसम्बन्धी मुद्दाको टुंगो लगाउँदा ०७७ फागुन २३ गते सर्वोच्च अदालतको आदेशबाट नेकपा भंग भयो । एमाले र माओवादी केन्द्र पुरानै स्वरूपमा फर्किए । नेकपा विभाजन भएको साढे दुई वर्ष पुग्न लागेको छ ।

०७९ को आम निर्वाचनको परिणामपछि केही नेताहरू झस्किएका छन् । नयाँको आगमनले पुराना दलहरू मिल्नुपर्ने बाध्यता सिर्जना भएको विश्लेषण गर्न थालिएको छ । यहीबीचमा गएको पुस १० गते एमाले, माओवादीसहित सातदलीय गठबन्धनसँगै सरकार बनाइयो । तर, त्यो गठबन्धन दुई महिनाभन्दा बढी टिक्न सकेन ।

शीर्ष नेतृत्वले नेकपामा जोड दिए पनि तत्काल त्यो ब्युँतने सम्भावना सोही पार्टीका नेताहरू देख्दैनन् । तत्कालीन नेकपामा नरहेका जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलबीच हालै घोषित मोर्चाका कारण पनि नेकपातिरको यात्रा सहज नभएको उनीहरूको बुझाइ छ । चार दलबीच समाजवादी मोर्चाको घोषणाले एमाले त्रसित देखिन्छ ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङ सत्ता गठबन्धनमा आबद्ध दलहरूले घोषणा गरेको  मोर्चाको औचित्य र त्यसको विश्वास स्थापित गर्न नसकेको टिप्पणी गर्छन् ।

“जो साथीहरू नेकपा ब्युँताउनुपर्छ, एक बनाउनुपर्छ भनिराख्नुभएको छ, गठबन्धनभित्रै आश्चर्यजनक रूपमा अचानक एउटा मोर्चा बनाउनुभएको छ,” नेम्वाङले बाह्रखरीसित भने, “त्यो किन अहिले आएर गर्नुप¥यो भन्ने औचित्य स्थापित गर्ने ढंगले, चित्त बुझ्ने, विश्वास लाग्ने ढंगले गर्न सक्नुभएको छैन ।”

अहिलेसम्म मोर्चा, पार्टी एकताबारे आफूहरूसित छलफल नै नभएको उनी बताउँछन् । “अहिलेसम्म हामीसँग कसैले पनि छलफल गर्नुभएको छैन,” उनी भन्छन्, “हामीसँग कुरै भएको छैन । कुरा नै नभएपछि सम्भावना र असम्भावना कसरी भन्नु र !”

एमाले अध्यक्ष ओलीले सबै कुराको विचार गरेरै नेकपा विभाजनको विश्लेषणबारे धारणा राखेको हुन सक्ने उनको भनाइ छ । माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल पनि तत्काल नेकपा ब्युँतने सम्भावना देख्दैनन् । पार्टीहरूबीच एकताको ढोका खुला रहे पनि एमाले अध्यक्ष ओली नै नेकपाविरोधी रहेको उनको आरोप छ ।

“नेकपाको विरोधी नै केपी ओलीजी हो । उहाँले आफ्नो अहंकारबारे गम्भीर समीक्षा गरेर समाजवादी कार्यदिशा लागु गरेर जाने भन्ने समीक्षा भयो भने एकताको ढोका त खुलिरहन्छ,” उनी भन्छन् । ओलीको चिन्तन र दृष्टिकोणमा समस्या भएको भन्दै सांसद दाहाल उनीबाहेकको एकता सम्भव हुने टिप्पणी गर्छन् ।

“केपी ओलीको चिन्तन र दृष्टिकोणमा समस्या भएकाले उहाँसहितको एकता हुने त देखिँदैन,” उनको जिकिर छ, “ओलीबाहेकको नेकपा सम्भव छ । उहाँले एकतालाई अघि बढाउन चाहनु हुन्न, सक्नु हुन्न । अहिलेको एमालेको नेतृत्व असहिष्ष्णु छ ।”

कार्यकर्ता उत्साहित बनाउने मेलो !

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर नेकपा ब्युँतने सम्भावना देख्दैनन् । नेताहरूमा देखिएको अहंकारको व्यवस्थापन हुन नसक्ने भएकाले पार्टी एकताको सम्भावना नरहेको उनको बुझाइ छ ।

“खोलामा धेरै पानी बगिसक्यो । गाली रित्याइसके । बगिसकेको नदी फेरि तर्न सकिँदैन । नदी एकैपटक तर्न सकिन्छ,” उनी भन्छन्, “नेताहरूबीच अहंकार ज्यादा छ । अहंकारको व्यवस्थापन हुन सक्दैन ।”

पार्टीहरूबीचको एकता बाध्यताजस्तो देखिए पनि सहज नभएको उनी बताउँछन् । “सबै पार्टीको लागि विकल्प त देखिएको छ, पार्टीहरूलाई बाध्यता त भएको छ,” उनी भन्छन्, “कल्पना गर्नु राम्रो कुरा हो । यथार्थमा बदल्न गाह्रो छ । हाम्रो पोलिटिकल कल्चरले नै त्यसो हुन दिँदैन ।”

नेता–कार्यकर्तालाई आवेगमा ल्याउनका लागि नेताहरूले अभिव्यक्ति दिएको उनको टिप्पणी छ । “निराश भएको जनमत र कार्यकर्तालाई आवेगमा कसरी ल्याउने ? त्यो एउटा तरिका हुनसक्छ । नेपालमा पोलिटिकल कल्चर नभएकाले अहंकारको व्यवस्थापन हुन सक्दैन,” उनी भन्छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement