site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
क्रान्तिको अगुवा नै ‘यथास्थितिको प्रतिनिधि’ !

मान्छेले सास फेर्न र रुन जन्मनेबित्तिकै सिक्छ । रुनु असन्तुष्टि व्यक्त गर्नु त हो । पछि बाँचुन्जेल सास त उसरी नै फेर्छ तर रुवाइको रूप भने बदलिँदै जान्छ । कतिले त अरूलाई रुवाउन थाल्छन् । अनि कतिपय आँसु नै सुक्ने गरी रुन्छन् । यही रुवाइ बिस्तारै आक्रोश र दिक्कारीका रूपमा प्रकट हुन्छ । सम्भवतः अहिले राजनीतिक दलहरूसँग थाकेर नेपाली जनताको यही रुवाइ रोषका रूपमा प्रकट हुन थालेको छ ।

जनतामात्र होइन राजनीतिक दलका नेता कार्यकर्तासमेत पनि पार्टीहरूसँग रुष्ट देखिन्छन् । यस्तो रोष सबै पार्टीमा छ । विशेषगरी नेताको कार्यशैलीप्रति कार्यकर्ताले बढी नै असन्तुष्टि व्यक्त गर्न थालेका छन् । यसमा पनि एउटा प्रवृत्ति के देखिएको छ भने जुन दल जति पुरानो छ असन्तुष्टि पनि उत्तिकै बढी देखिन्छ । राजनीतिशास्त्रीहरूले यसको कारण खोतल्नेगरी अध्ययन गरे हुने हो ।        

नेता वा दल जति नयाँ छन् तिनीहरूले शङ्काको सुविधा पनि बढी नै पाउनु स्वाभाविकै हो । पुरानै दलमा पनि नेता विशेषको चरित्रअनुसार विरोधको शैली फरक देखिन्छ । उदाहरणका लागि नेकपा (एमाले)मा अध्यक्ष खड्गप्रसाद ओलीविरुद्ध उभिन खोज्नेहरू सबै किनारा लगाइए । त्यसैले होला अहिले एमालेभित्र विरोधको स्वर मन्द हुँदै गएको छ र असन्तुष्टि प्रकट गर्न खोज्नेहरूले पनि अमूर्त शब्द र शैली प्रयोग गर्न थालेका छन् । 

Dabur Nepal
NIC Asia

माओवादीभित्र त सबै रुष्ट सबै सन्तुष्ट देखिन्छन् । यदाकदा त पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै सबैभन्दा चर्का आलोचक बनिदिन्छन् । सायद, माओवादी नेताहरूले अध्यक्ष माओले सन् १९५६ मा चलाएको ‘सयौं फूल फुल्न दिऊँ’ भन्ने अभियानपछिको त्रासद इतिहास बढी नै हेक्का राखेका छन् । यसैले यो चर्चा नेपाली कांग्रेसमा केन्द्रित गरौँ ।

नेपाली कांग्रेसका नेता कार्यकर्ताको विशेषतामध्ये एउटा आफ्नाै नेताको कटु आलोचना गर्नु पनि हो । गाउँका सामान्य कार्यकर्ता पनि नेताको निन्दा गर्न रमाउँछन् । यत्ति हो, अरूले आफ्नो नेताको आलोचना गरेको भने सुन्न सक्तैनन् । प्रतिवादमा उत्रिन्छन् । कांग्रेसभित्रको असन्तुष्टिको अर्को विशेषता चाहिँ ‘सत्ता एलर्जी’ हो । विपक्षमा हुँदा कांग्रेसका कार्यकर्ताले आफ्ना नेताको धेरै खोइरो खनेको सुनिँदैन । सत्तामा पुगेपछि चाहिँ किन हो कुन्नि तिनको पेट पोल्न थाल्छ । यो प्रवृत्ति २००७ सालदेखि सुरु भयो २०१७, २०४७ हुँदै अहिलेसम्म पनि कायमै छ । यसैले हो कि कांग्रेसभित्रको असन्तोषलाई नेताले कहिल्यै सम्बोधन गर्न खोजेको पनि देखिएको छैन । 

अहिले पनि नेपाली कांग्रेसभित्रको आक्रोश र असन्तोष सार्वजनिकरूपमै प्रकट भएको छ । विशेषगरी पार्टी सभापति शेरबहादुर देउवाका समवयी नेता अर्जुननरसिंह केसीले निकै गम्भीर विषय उठाएका छन् । उनले  ‘नेपाली कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षक’ मान्न थालेको सकारेका छन् । यसैगरी नेता केसीले ‘कांग्रेसलाई जनताले विकृति र मनपरीतन्त्रको संवाहकका रूपमा चिनेको’ र ‘यथास्थितिको प्रतिनिधि ठानेको’कटु यथार्थ पनि व्यक्त गरेका छन् । नेता केसीका अनुसार अहिलेकै नेतृत्व र विचार लिएर अगाडि बढेमा नेपाली कांग्रेसको भविष्य चुनौतीपूर्ण हुनेछ । उनले आफ्नो पार्टीको नीति, नेतृत्व, विचार, बानी र प्रवृत्तिलाई ‘बासी’ भनिदिएका छन् । 

नेता केसीले जस्तै तर अलि बेग्लै शैलीमा नेपाली कांग्रेसका महामन्त्री द्वयले पनि पार्टीमा देखिएको ‘जडता’प्रति असन्तोष प्रकट गर्दैआएका छन् । महामन्त्रीहरू नै यति निराश र निरीह छन्  भने सभापतिका चाटुकारबाहेक सायद अरू नेता कार्यकर्ता बिरलै सन्तुष्ट होलान् । हालै केही दिन यता महामन्त्री गगन थापाले कांग्रेस बदल्ने ‘पार्टी सुधार्न आवश्यक भए आफू महामन्त्री पद त्याग्न पनि तयार’ रहेको बताउन थालेका छन् । महामन्त्री थापाले त ‘दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो । सबै तयार हुनुपर्छ’ सम्म भने ।

महामन्त्री थापा बढी नै मुखर छन् । कांग्रेसी वृत्तबाहिर पनि उनीप्रति आकर्षण देखिन्छ । हुनत, महामन्त्रीका रूपमा उनको भूमिका अपेक्षा गरिएजति सन्तोषप्रद नभएको देखेर निराशा पनि बढ्दो छ । तैपनि, उनले हाँक्न पाए भने देशमा केही परिवर्तन हुन्छ कि भन्ने आशा सायद अझै बलियै छ । यसैले हो कि असन्तुष्टि प्रकट गर्दा पनि गगन अपेक्षाकृत आशावादी  हुन्छन् र यदाकदा कटु यथार्थ प्रकट गर्न हिचकिचाउँछन् । 

नेता केसी पनि ‘कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति’का पक्षमा उभिएका छन् ।  कांग्रेसले ‘नयाँ विचार र दृष्टिकोणसहित सुध्रिएको सन्देश’ दिनुपर्छ भन्ने उनको मान्यता स्पष्ट शब्दमा प्रकट गरेका छन् । ‘चौतारामा सभापतिको विरोध गरेर पार्टी सुध्रिदैन’ भन्नेहरूले काँध थापुन्जेल केसी वा थापाका कथनले सभापति देउवालाई खासै असर नपर्ला तर नेता पार्टीको छवि नराम्ररी बिग्रेको र ठूलै शल्यक्रिया नगरेर समाप्त हुने चेतावनी भने कांग्रेसजनले मनन गरे हुने हो । प्रश्न पुरानै हो । उत्तर नपाउँदासम्म सायद दोहरिइरहन्छ - कांग्रेस बचाउने कि देउवाको नेतृत्व ?  


देशमा भएका सबै राजनीतिक र आर्थिक परिवर्तन नेपाली कांग्रेसकै नेतृत्वमा भएको छ । त्यही कांग्रेस अहिले ‘यथास्थितिको प्रतिनिधि’ बन्न पुग्नु राजनीतिक विडम्बना नै हो । यथास्थितिमा रमाउन थाल्नु यसैले कांग्रेसको मौलिक चरित्र र प्रवृत्ति गुमाउनु हो । सायद, मौलिकता छाडेकै कारण कांग्रेसको जनाधार खुम्चिन थालेको हुनुपर्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro