गाउँलेहरूले भ्यागुताको बिहे धुमधामसँग गरे ।
जन्ती गएर आएपछि दुखीरामले निधारको पसिना गम्छाले पुछ्दै भन्यो, “हेर् धनेकी आमा, अब त पानी पर्छ होला, बाँझो खेत पानीको घुट्को नपाएर चिराचिरा परेर खङ्ग्रङ्ङ भएको छ । यसपटक बारीमा मकै पनि छर्न पाइएन । असार सुरु भइसकेको छ, बिउ राखेको पनि छैन । यसपालि समयमा धान रोप्न पनि नपाइने हो कि खै !”
दुखीरामले दुःख बिसाउँदै बुढीलाई जम्मै पीडाहरू एकैपटक ओकल्यो ।
साँझपख आकाशमा बादल मडारियो । दुखीरामको चिन्ता बादलसँगै आकाशमाथि उडिसकेको थियो ।
धनेकी आमा खुसी हुँदै बाहिर निस्किई र आकाशतिर हेर्न थाली, “आज त पानी पर्लाजस्तो छ । साँच्चै भ्यागुतोको बिहे गरेपछि पानी पर्दो रहेछ है धनेको बा !”
उसको अबोध आश्चर्यजनक जिज्ञासाको जवाफ दुखीरामसँग थिएन ।
“खै कसरी पर्छ के थाहा ! पानी परे त भइ’गो नि, किन तँलाई खोजीनिती चाहियो ?”
दुखीरामले बुढीलाई आफ्नो अज्ञानता लुकाउने प्रयत्न गर्दै सम्झाउन खोज्यो ।
रातभर हुरीबताससहित ठूलो पानी दर्कियो । दुखीरामको घरको छानो उडायो । घरभित्र पानीको आहाल जमेको थियो । भ्यागुताहरू उफ्रेर रमाउँदै थिए । घरनजिकै उर्लिएर सुसाउँदै बगेको खहरेको आवाजले दुखीरामको कान नराम्रोसँग चिमोट्यो ।
(हेटौँडा–४)