
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश बनाउन माओवादीलाई बहुमत दिनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा श्रेष्ठले माओवादीलाई सशक्त बनाउन आमनागरिकको सहयोग आवश्यक रहेको बताए ।
"हामीले जनतालाई अपिल गरेका छौँ, यो देशलाई बनाउने हो भने तपाईंहरूले फेरि नेकपा (माओवादी केन्द्र)लाई एकपटक बहुमतको सरकार बनाउने गरी समर्थन गर्नुपर्छ । यो पार्टीलाई सशक्त बनाउन पनि तपाईंहरूले सहयोग गर्नुपर्छ," उनले भने ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भ्रष्टाचारीलाई संरक्षण गर्न र भ्रष्टाचार गर्ने प्रक्रिया थप अघि बढाउन माओवादी केन्द्र नेतृत्वको सरकार ढालेको आरोप लगाए । अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको उनको भनाइ छ ।
उनले शान्ति प्रक्रियाका बाँकी काम रोक्ने प्रयत्न भइरहेको पनि बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो पूरा गर्न दबाब दिनुपर्ने उनको भनाइ छ ।