काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा आइसकेका जलविद्युत् आयोजनालाई एकपटकको लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीहरूसँग विद्युत् प्राधिकरणको कार्यालयमा भएको भेटवार्तामा कार्यकारी निर्देशक घिसिङले हाइड्रोलोजी अनुमान गर्न नसकिने विषय भएकाले तोकिएभन्दा कम विद्युत् उत्पादन गरिरहेका आयोजनालाई एकपटकको लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका हुन् ।
इप्पान अध्यक्ष गणेश कार्कीले ग्लोबल वार्मिङका कारण जलविद्युत आयोजनाको इनर्जी क्याल्कुलेसनमा ग्लोबल वार्मिङ कारक बन्दा क्याल्कुलेसन भरपर्दो नभएकोले प्राधिकरणले आयोजना सञ्चालनमा आएको पाँच वर्ष नपुगेपनि इनर्जी टेबल परिवर्तन गर्नदिनुपर्ने माग राखेका थिए । उक्त मागमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहमति जनाएका हुन् ।
“मौसम परिवर्तनका कारण विद्युत् प्राधिकरणका आयोजनाबाट समेत गत वर्ष ३० प्रतिशत कम विद्युत् उत्पादन भएको थियो” घिसिङले भने, “निजी क्षेत्रका आयोजनाहरू झन् धेरै प्रभावित भएका छन् । त्यसैले सञ्चालनमा रहेका आयोजनालाई इनर्जी टेबल परिमार्जन गर्नदिन हामी तयार छौ ।”
सबै आयोजनालाई जथाभावी परिमार्जन गर्न दिँदा यसको दुरुपयोग हुन सक्ने भएकाले सञ्चालनमा आएका आयोजनालाई मात्रै परिमार्जन गर्न दिनुपर्ने पनि घिसिङले बताए ।
नेपाल विद्युत प्राधिकरण, विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले जलविद्युत आयोजना बनाउँदा १००/२०० वर्ष अघिदेखिको पानीको इतिहास हेरेर इनर्जी क्याल्कुलेसन गरिएको तर, ग्लोबल वार्मिङका कारण हरेक वर्ष पानीको सतह घट्दै गएकोले हिजो भन्दा पनि भोलिको अनुमान गरेर इनर्जी क्याल्कुलेसन गर्न सुझाव दिए ।