काठमाडौं । सन् २०१७ मा अंगोलाका राष्ट्रपति भएयता जोआओ लोरेन्कोले अर्थतन्त्रलाई विधिकरण गर्न तेल र चीनमाथिको निर्भरता घटाउन खोजेका छन् । यसका लागि लोरेन्कोले संयुक्त राज्य अमेरिका र युरोपसँग निकटता बढाएका छन् ।
उनका पूर्ववर्ती सन् २०२२ मा मृत्यु भइसकेका जोसे एडुआर्डोले २६ वर्षको गृहयुद्ध अन्त्यपछि २००२ मा अर्थतन्त्रको पुनरूत्थानका लागि चिनियाँ लगानी आकर्षित गरेका थिए । तर, चीनमाथिको निर्भरता घटाउन अंगोलालाई दशकौँ लाग्ने पर्यवेक्षकको आकलन छ ।
अंगोलाको क्रुड तेल, पेट्रोलियम ग्यास र एस्फाल्टको मुख्य निर्यात केन्द्र नै चीन हो । “तेल र चीनमाथिको निर्भरता हटाएर अर्थतन्त्रको विविधिकरण गर्न दशकौँ लाग्नेछ । तर, सरकार सही मार्गमा छ,” दक्षिण अफ्रिकाको अक्सफोर्ड इकोनोमिक्स अफ्रिकाका अर्थशास्त्री गेरिट भ्यान रुयनले भने ।
अंगोलामा अमेरिकाको पछिल्लो लगानी सौर्य ऊर्जा प्लान्टका लागि ९० करोड अमेरिकी डलर छ ।
यस्तै, अमेरिकाले लोबिटो एटलान्टिक रेलवे करिडोरका लागि २५ करोड अमेरिकी डलर लगानी गर्दै छ । अंगोलाको लोबिटो बन्दरगाहबाट यो बन्दरगाह डेमोक्रेटिक रिपब्लिक अफ कंगोको सीमासम्म पुग्छ ।
मध्य अफ्रिकी मुलुक अंगोलाले यो महादेशमै सबैभन्दा धेरै चिनियाँ ऋण लिएको छ । अंगोलाले चीनबाट ४२.६ अर्ब अमेरिकी डलर ऋण लिएको छ । यो ऋण सन् २००० देखि २०२० सम्म अफ्रिकामा चीनले गरेको कुल लगानीको एकचौथाइभन्दा बढी हो ।
अंगोलालाई अझै पनि महत्त्वपूर्ण पूर्वाधारका लागि चिनियाँ लगानी आवश्यक छ । चीनले निर्माण गरेको दुई हजार १७२ मेगावाटको काकुलो–काबका हाइड्रोपावर एउटा उदाहरण हो । यो आयोजनालाई इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना (आईसीबीसी)ले अनुदान दिँदै छ ।
यस्तै, एट्लान्टिकको तटमा रहेको लोबिटो तेल प्रशोधन केन्द्रलाई चाइना नेसनल केमिकल इन्जिनियरिङले निर्माण गर्दै छ ।
यद्यपि, अहिले स्थिति सुधारतर्फ अघि बढेको देखिएको छ । सन् २०२० मा तेलको मूल्य ३० अमेरिकी डलर प्रतिब्यारेलसम्म पुग्दा अंगोलाको ऋणको अवस्था संकटमा पुगेको थियो ।
अंगोलाको ९० प्रतिशत निर्यात तेल हो । त्यसैले मूल्य घट्दो स्थिति संकटपूर्ण हुन जान्छ ।
कोभिड–१९ महामारीका बेलाको संकटमा चाइना डेभलपमेन्ट बैंक (सीडीबी)ले अंगोलालालाई तीन वर्षका लागि ऋण भुक्तानी छुट दिएको थियो । त्यो अवधि सन् २०२३ को दोस्रो ‘क्वार्टर’मा सकिन्छ ।
उक्त सम्झौतामा तेलको मूल्य ६० अमेरिकी डलरभन्दा बढी पुगेमा फेरि भुक्तानी गर्नुपर्ने बुँदा पनि उल्लेख थियो ।
गत वर्ष तेलको मूल्य बढेर १३० अमेरिकी डलर प्रतिब्यारेल पुग्दा अंगोलाले ऋण भुक्तानी बढाएको थियो । यसरी अंगोलाले चीनलाई तिर्नुपर्ने ऋण सात वर्षयताकै न्यून विन्दुमा झरेको बैंको नेसिओनल डी अंगोला (बीएनए)को तथ्यांक छ । देशको कुल बाह्य ऋण ५१ अर्ब अमेरिकी डलर छ ।
अंगोलाका अर्थमन्त्री भान रायनका अनुसार देशले तेलको मूल्य उच्च हुँदा ऋण तिर्ने गति बढाउनेछ । उनले त्यति बेला ऋण तिर्दा अहिले तेलको मूल्य कम भएका बेला सरकारलाई खर्च गर्ने सामर्थ्य दिएको बताएका छन् । उक्त निर्णयलाई अर्थमन्त्री रायनले ‘विवेकपूर्ण’ भनेका छन् ।
सन् २०२३ को पहिलो त्रैमासमा बाह्य ऋणमा आएको कमीले बैंकहरूको ऋणमा १.३ अर्ब अमेरिकी डलरले कमी आएको छ । द्विपक्षीय ऋणदाताको ऋण २३ करोड १० लाख अमेरिकी डलरले घटेको बीएनए तथ्यांकले देखाएको छ ।
चिनियाँ ऋणको करिब २५ प्रतिशत हिस्सा रहेको एक्लै सीडीबीको ऋण भुक्तानी अवधि रोकिएका कारण अंगोलाको तिर्नुपर्ने ऋण घटेको आकलन गरिएको छ ।
आरईडीडी इन्टेलिजेन्सका एक वरिष्ठ क्रेडिट अनुसन्धान विश्लेषक मार्क बोहलुन्डले नयाँ परियोजनाले ऋण बढाए पनि चिनियाँ एक्सपोर्ट क्रेडिट इन्सुरेन्सको ऋण सीमा ननाघ्ने बताएका छन् ।
चिनियाँ ऋण घट्नुले अंगोलामा चिनियाँ ‘एक्सपोजर’लाई स्थिर राख्न खोज्ने संकेत देखिएको उनले बताएका छन् ।
उपसहारा अफ्रिका भू–आर्थिक विश्लेषक अलीखान साचुले लोरेन्को प्रशासनअन्तर्गत अंगोलाले चिनियाँ ऋणको गतिलाई लगाम लगाउन खोजिरहेको बताएका छन् ।
“वर्तमान प्रशासनले अंगोलाको ब्यालेन्स सिटलाई नियन्त्रणमा राख्न र अर्थतन्त्रलाई बलियो बनाउन ठूलो काम गरेको छ । सुधारको यो कामले निरन्तरता पाउने अपेक्षा छ,” साचुले भने ।