काठमाडौं । रुसमा शनिबार एकाएक चर्किएको विद्रोह तत्कालका लागि शान्त भएको छ ।
रुसी निजी सेना कम्पनी वाग्नर ग्रुपले सेना र रक्षामन्त्रीसँगको असन्तुष्टिलाई लिएर विद्रोह सुरु गरेको भनिएको छ ।
विद्रोह सुरु भएपछि तत्काल बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले वाग्नरका नेता येभगेनी प्रिगोजिनसँग वार्ता गरेका थिए । लुकाशेन्कोले रुसीपक्ष र वाग्नरको मध्यस्थकर्ताका रूपमा महत्वपूर्ण सम्झौता गराएपछि स्थिति शान्त बनेको हो ।
सम्झौताअनुसार वाग्नरका नेता प्रिगोजिन रुस छोडेर बेलारुस जानेछन् र रुसले उनीविरुद्ध तोकेको आरोप एवं सजाय फिर्ता हुनेछ । यद्यपि, उनी अहिले कहाँ छन् भन्ने पनि खुलेको छैन ।
प्रिगोजिनमाथिको फौजदारी अभियोग खारेज हुने क्रेमलिनका प्रवक्ताले बताएको सीएनएनले उल्लेख गरेको छ ।
यस्तै, वाग्नर लडाकुहरूले कुनै थप आक्रमणको गतिविधि गर्ने छैनन् र उनीहरूले शनिबार गरेको विद्रोहलाई लिएर कुनै कानुनी कारबाही भोग्नुपर्ने छैन ।
यस्तै, वाग्नर ग्रुप रूसी रक्षा मन्त्रालयसँगको सम्झौतामा हस्ताक्षर गर्नेछ । यसअघि प्रिगोजिनले यो कदम अस्वीकार गरेका थिए ।
शनिबार वाग्नरले रोस्तोभ सहर नियन्त्रणको ल्याएपनि अहिले उनीहरू त्यहाँबाट हटिसकेका छन् । करिब ३६ घण्टासम्म रुसमा आन्तरिक तनावपूर्ण स्थिति बनेको थियो ।
सुरुमा शुक्रबार प्रिगोजिनले रुसी सेनाले वाग्नर क्याम्पमा आक्रमण गरेको र आफ्ना लडाकुलाई मारेको आरोप लगाएका थिए । उनले बल प्रयोग गरेर त्यसको बदला लिने भनेका थिए ।
बेलारुसी राष्ट्रपति लुकाशेन्को पुटिनका नजिकका सहयोगी हुन् । उनले वाग्नर ग्रुपका नेता प्रिगोजिन जो आफै पनि कुनै बेला पुटिनका निकट सहयोगी थिए । उनीसँग पुटिनकै सहमतिमा सम्झौता गरेको हो ।
अहिलेका लागि रुसमा स्थिति शान्त भएको बताइएको छ । पुटिनले यस सम्झौताका लागि लुकाशेन्कोलाई धन्यवाद दिएको बताइएको छ । एजेन्सीहरूको सहयोगमा