site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उपेन्द्र–बाबुरामको टसलले समाजवादी मोर्चामा अटाएन नेसपा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गएको शुक्रबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विचार मिल्ने शक्तिहरूबीच समाजवादी मोर्चा बनाउने सहमति बनेको उद्घोष गरे । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि उनले त्यस्तो उद्घोष गरेका थिए ।

उनले सामाजिक सञ्जालमा लेखेका थिए, “देशमा हालसम्म प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरूको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति, कार्यक्रम, संगठनात्मक विधिलगायतका विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारी ! बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह !”

तर, त्यसको दुई दिनपछि अर्थात् आइतबार बिहान बालुवाटारमा समाजवादी मोर्चा उद्घोषका लागि माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गरी चार दलका शीर्ष नेताहरूको बैठक बस्यो । उक्त छलफलमा नेसपाका अध्यक्ष भट्टराईले निम्तो पाएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

चार दलबीच मोर्चाबन्दी गर्ने सहमति बन्यो । आज अपराह्न ४ बजे प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चाको औपचारिक घोषणा गरिँदै छ ।

करिब एक वर्षअघि नै प्रचण्डले बाबुरामसमक्ष पार्टी एकताको प्रस्ताव गरेका थिए । त्यति बेला बाबुरामले कम्युनिस्ट शब्द नरहने गरी समाजवादी केन्द्र बनाए पार्टी एकताका लागि तयार रहेको जवाफ दिएका थिए ।

Global Ime bank

त्यसपछि गएको मंसिर ४ गतेको निर्वाचनमा नेसपाले माओवादीको चुनाव चिह्नमा आफ्ना केही उमेदवार उठायो । बाबुरामले आफ्नो निर्वाचन क्षेत्र गोरखा–२ प्रचण्डका लागि छाडेका थिए । दुई पार्टीबीच एकता हुने चर्चा समेत व्यापक थियो । त्यो प्रक्रिया अधुरै छ ।

समाजवादी केन्द्र अर्थात् मोर्चाका सूत्राधार बाबुराम नै हुन् । तर, उनीबिनै मोर्चा घोषणा गरिने भएको छ ।

मोर्चा घोषणा गर्न लागेका चार दलका शीर्ष नेता आज बिहान पनि बालुवाटारमा छलफलमा जुटेका थिए । अहिले चार दलको मात्र मोर्चा घोषणा गर्ने र अरू दलबारे पछि निर्णय गर्ने बैठकमा सहमति भएको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।

“आज चार दलको मात्रै मोर्चा घोषणा हुने भयो,” उनले बाह्रखरीसित भने, “त्यसमा थप गर्ने चार दलको सहमतिमा नै गर्ने कुरा भएको छ ।”

नेसपाका नेता एवं वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आज घोषणा हुने मोर्चामा आफ्नो पार्टी नरहने बताए ।

“आज चार दलको मात्रै हुन्छ होला । हामी त्यसमा सामेल हुने सम्भावना देखिएन,” उनले भने ।

प्रचण्डले ‘कन्भिस’ गराएपछि मोर्चामा बस्न तयार भएका थिए बाबुराम 
पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस र नेकपा (एमाले)सँग ‘बार्गेनिङ टुल्स’का लागि मोर्चा बनाउन नहुने बताएका थिए । यही असार १ गते प्रचण्डसित उनले मोर्चालाई सत्तासाझेदारीको बार्गेनिङ टुल्स बनाउन नहुनेमा जोड दिएको बाबुरामका सहयोगी समेत रहेका नेसपाका केन्द्रीय सदस्य रोशन पोखरेलले जानकारी दिए ।

“मोर्चाले अहिलेको आर्थिक संकटको विकल्प के खोज्छ ? राष्ट्रिय, अन्तर्राष्ट्रिय नीति के बनाउने ? न्यूनतम कार्यक्रम कस्तो बनाउने भन्ने किटान गरौँ,” बाबुरामले प्रचण्डसमक्ष राखेको प्रस्ताव उद्धृत गर्दैै पोखरेलले भने, “त्यसले अर्थ राख्छ । ५०–५२ सिट बनाएर एमाले–कांग्रेससँग सत्तासाझेदारीको बार्गेनिङ टुल्स बनाउने भए नगरौँ ।”

प्रचण्डले बार्गेनिङका लागि नभई साँच्चै मोर्चा बनाउन लागिएको बताएपछि बाबुराम त्यसमा रहन ‘कन्भिन्स’ भएको पोखरेलको भनाइ छ ।

“यो बार्गेनिङ टुल्स होइन, तपाईं (बाबुराम)ले भनेअनुसार नै यो देशको आवश्यकता छ । हामीले पनि ढिलै भए पनि महसुस गर्‍यौँ भनेपछि उहाँ तयार हुनुभएको हो,” पोखरेलले भने ।

तर, मोर्चा घोषणा गर्ने आइतबारको बैठकमा आफूहरूलाई निम्तो नदिएको उनी बताउँछन् । त्यसैले मोर्चासँग आफ्नो पार्टीको साइनो समेत नरहेको भन्दै उनले असन्तुष्टि जनाए ।

“हिजो जानकारी नगराई घोषणा गरौँ भनेपछि चटकेजस्तो भो । उहाँहरूले गर्दा समाजावादी मोर्चाको आफैँमा बदनाम भयो,” उनले भने, “त्यसमा हाम्रो कुनै साइनो छैन ।”

समाजवादी मोर्चामा विप्लव भित्रिँदा बाबुरामको बहिर्गनलाई विविध कोणबाट विश्लेषण गर्न थालिएको छ ।

उपेन्द्रसँगको टसल 
बाबुरामलाई मोर्चामा ल्याउन प्रचण्डले प्रयत्न गरे पनि जसपाका अध्यक्ष उपेन्द्र यादवसँगको तुषले काम गरेको बालुवाटारनिकट नेताको बुझाइ छ ।

“प्रधानमन्त्रीले ल्याउन कोसिस गर्नुभएकै हो । प्रधानमन्त्रीले उहाँसँग कुरा गर्दा आउन तयार हुनुभएको पनि हो । तर, उपेन्द्र–बाबुरामबीचको पार्टी एकताको तुषले काम गरेको भन्ने हाम्रो बुझाइ हो,” प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले भन्यो ।

नेसपाका एक नेताले पनि बाबुरामलाई मोर्चामा ल्याउन नहुने भन्दै यादवले असन्तुष्टि व्यक्त गरेको जानकारी आफूहरूले पाएको बताए ।

“उपेन्द्रजीले बाबुरामलाई ल्याउन मान्नु भएन भन्ने जानकारी पाएको हो,” ती नेताले भने, “किन ल्याउन मान्नु भएन भन्ने थाहा भएन ।”

तर, नेसपाका केन्द्रीय सदस्य पोखरेल त्यस्तो तर्क गर्नु गलत भएको बताउँछन् । “त्यस्तो पनि तर्क हो र ? नयाँ ढंगबाट अघि बढ्न लागिसकेपछि पहिलेको कुराले रोक्ने भन्ने कुरा राम्रो होइन,” उनले भने ।

माओवादी केन्द्रका महासचिव गुरुङले भने दुई नेताहरूबीचको सम्बन्ध आफूहरूलाई थाहा नभएको प्रतिक्रिया दिए । “दुई नेताहरूको व्यक्तिगत सम्बन्धका बारेमा हामीलाई थाहा हुने कुरा भएन,” उनले भने, “आज चार दलको मात्रै मोर्चा घोषणा हुन्छ ।”

टसल शृंखला
०७६ वैशाखमा यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता गरेर समाजवादी पार्टी, नेपाल बनाइएको थियो । त्यसमा भट्टराई संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए । यादव पार्टी अध्यक्ष थिए । त्यति बेला उनीहरूबीचको सम्बन्ध राम्रै थियो ।

०७७ वैशाख १० गते केही सांसदहरूले समाजवादी पार्टी फुटाएर एमालेमा प्रवेश गर्ने तयारी गरेका थिए । त्यसको सुइँको पाएपछि समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच रातारात एकता गरियो । पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखियो । त्यो एकतापछि निर्वाचन आयोगमा दल दर्ता गराउँदा बाबुरामको नाम वरिष्ठ नेताका रूपमा थियो ।

पछि पार्टीमा उपेन्द्र यादव–महन्थ ठाकुुरबीच टसल सुरु भयो । त्यो असन्तुष्टि पार्टी विभाजनको तहसम्म पुग्यो । ०७८ भदौमा जसपा टुक्रिएर ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) गठन गरियो । जसपा यादव र बाबुरामको नेतृत्वमा रह्यो । त्यति बेला पार्टी विभाजनका लागि ठाकुरलगायत नेताहरूलाई बाबुराम र यादव पक्षले नै सहयोग गरेको थियो ।

त्यसपछि जसपामा पनि यादव र बाबुरामबीच टसल देखियो । तिक्तता बढ्यो । बाबुरामले यादव पक्षका नेतालाई पनि आफूतिर तानेर बहुमत जुटाउने प्रयास गरे । तर, बाबुरामनिकट नेतालाई नै आफूतिर ल्याउन यादव सफल भए । बाबुराम निकै कमजोर देखिए । त्यसपछि केही नेताहरूका साथ बाबुरामले जसपा त्यागे । नेसपा बनाए । ०७९ भदौमा बाबुरामले नेसपा गठन गरेका हुन् ।

विगतका यिनै कारणले यादवले बाबुरालाई मोर्चामा ल्याउन नहुने अडान राखेको कतिपय नेताहरूको जिकिर छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा चारदलीय मोर्चाका तर्फबाट ५४ सांसद हुनेछन् ।

एमाले फर्कने तयारीमा वामदेव 
समाजवादी मोर्चामा वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पनि रहने चर्चा थियो । शीर्ष नेताहरूले गौतमलाई मोर्चामा आउन आग्रह गरेका थिए । तर, उनले अस्वीकार गरे । आफूले राखेको दस्तावेजमा चासो नदेखाएको भन्दै उनले मोर्चामा रहन अस्वीकार गरेका हुन् ।

त्यसो त गौतम एमालेमा फर्कने तरखरमा छन् । आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमबीच च्यासलमा भेटवार्ता भएको थियो ।

भेटमा गौतमले ओलीपछिको वरीयता पाए र आफ्ना केही नेताहरूको ‘सम्मानजनक’ व्यवस्था भए एमालेमा फर्कने प्रस्ताव राखेका छन् ।

“म पार्टी एकताका लागि तयार छु, मलाई तपाईं (केपी ओली)पछिको दोस्रो वरीयताको कार्यकारी भूमिका चाहिन्छ,” उनले भेटमा राखेको आफ्नो मागबारे बाह्रखरीसँग भने, “अरू साथीहरूको सम्मानजनक व्यवस्थापन हुनुपर्छ ।” यसबारे ओलीले पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement