site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेसँग नजिकिएपछि वामदेवले अस्वीकार गरे समाजवादी मोर्चा
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)सँग पार्टी एकताका लागि नजिकिएपछि नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले समाजवादी मोर्चामा रहन अस्वीकार गरेका छन् ।

सत्तारुढ तीन दलले गौतमलाई पनि मोर्चामा ल्याउन पहल गरेका थिए । तर, गौतमले उक्त मोर्चामा रहन अस्वीकार गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मात्रै रहने गरी सोमबार मोर्चा घोषणा हुँदै छ ।

पार्टी प्रचार विभाग प्रमुख निमकान्त पाण्डले नेताहरुबाट मोर्चामा रहन प्रस्ताव आएको तर समाजवादका विषयमा आफूहरुले राखेको प्रस्तावमा मोर्चामा रहेका दलहरुले चासो नदेखाएको बताए ।

पार्टीको तर्फबाट एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपालाई अवधारणा पत्र दिइएको उनले बताए । जसमा एमालेले भने चासो देखाए उनको भनाइ छ ।

“समाजवाद प्राप्ति गर्नका लागि कृषि कार्यक्रम के गर्ने ? औद्योगिक कार्यक्रम के गर्ने ? जलसम्बन्धी नीति कस्तो बनाउने ? रोजगारी सिर्जना कसरी गर्ने ? लगायतका विषयमा अवधारणा पत्र दिएका छौँ,” उनी भन्छन्, “हाम्रो अवधारणापत्रमा तीन दल उदासिन भएको छ । त्यसमा चासोका साथ एमाले अघि आइरहेको छ । एमालेसँग वार्ता चलिरहेको छ ।”

पार्टीले राखेको अवधारणापत्रमा सहमति नभएपछि मोर्चामा नजाने पाण्डेले बताए ।

“अवधारणापत्रमा सहमति भएपछि समाजवादी केन्द्रमा जाने कुरा हुन्छ । त्यहाँ सहमतिको लक्षण देखिएको छैन । उहाँको गन्तव्य भनेको संविधानको रक्षा, संविधानकै प्रस्तावनामा लेखिएअनुसार समाजवादको गन्तव्य पछ्याउने, त्यसो भए समाजवादी मोर्चा किन चाहिएको छ र ? गठबन्धन छँदै छ,” उनी भन्छन् ।

पार्टी कम्युनिस्ट पार्टीको एकताका पक्षमा रहेकाले एमालेबाहेकको मोर्चा अस्वीकार्य रहेको पाण्डे बताउँछन् ।

“हाम्रो उद्देश्य कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने हो । एमालेलाई एक्लो बनाएर यिनीभन्दा एमाले ठिक–बेठिक भन्ने कोणबाट हाम्रो दृष्टिकोण हुन सक्दैन,” उनले भने ।

एमालेले पार्टी विधानमा रहेको ७० वर्षे उमेरहद निलम्बन गरेपछि गौतम अहिले पार्टीमा फर्कने र आफूसँग रहेका नेताहरुको व्यवस्थापनका विषयमा छलफलको तयारीमा छन् ।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro