site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाबारे ओलीको टिप्पणी : नचिनेका नेता हुन् र डराउन ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरेका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका नेता, कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले फरक उद्देश्य भएका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति निर्माण नहुने टिप्पणी गरे ।

Argakhachi Cement Island Ad

“हामी एउटा यस्तो राष्ट्रिय शक्ति निर्माण गर्नुपर्छ, जो देश, जनता, विकासप्रति समर्पित छ । चारतिर फर्किएका चारतिरका फरक उद्देश्यका तत्वहरु एक ठाउँमा जम्मा भएर राष्ट्रिय शक्ति बन्दैन,” उनले भने, “एकछिन एमालेलाई सरकारबाट बाहिर राख्ने हुनसक्छ, २०८४ सम्म हुनसक्छ । हामी अब मिसन ८४ को तयारीमा छौँ । हामीलाई कसैले राष्ट्रिय शक्ति बन्नबाट रोक्न सक्दैन ।”

समाजवादी मोर्चा बनाउने नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायतका पार्टीहरुको निर्णयप्रति इंकित गर्दै उनले समाजवादी मोर्चा बनाउने कुरा एमालेसँग मुकाबिला गर्न र नेपाली काँग्रेसलाई तर्साउन मात्रै भएकोले डराउनु आवश्यक नरहेको बताए ।

“अब गठबन्धन मात्रै नपुगेर एउटा समाजवादी मोर्चा बनाउने रे । समाजवादी मोर्चा किन बनाउनेभन्दा एउटा नेकपा (एमाले)सँग मुकाबिला गर्न र अर्को काँग्रेस तर्साउन,” उलने भने, “समाजवादी मोर्चा बनाएर हुन्छ के ? किन बनाउने, तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेको हो, लिभिङ टुगेदर चलेकै थियो छ त ।”

अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरुलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे । आफ्नो ५८ वर्षे राजनीतिक जीवनमा कुनै र कसैप्रति पनि झुटो आरोप नलगाएको र तथ्यमा आधारित आरोपमात्रै आफूले लगाउने गरेको दाबी गर्दै उनले आफूले लगाएका हरेक आरोपको जवाफ दिन आफू तयार रहेको बताए ।

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १४:५५
प्रतिक्रिया दिनुहोस्