site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साफ च्याम्पियनसिपमा नेपाल : दाबेदारिता प्रमाणित गर्न नसकेको सदाबहार दाबेदार
Sarbottam CementSarbottam Cement

काठमाडौं । “यसपटक दुई नयाँ टिम थपिएकाले अझ धेरै चुनौती छ । उपाधि जित्छौँ भन्न सक्दिन । योजनाअनुसार एक परिवार भएर प्रतिस्पर्धा गर्नेछौँ । सुखद नजिताका लागि लड्छौँ । उपाधि जित्छौँ भनेर अहिले भन्न सकिँदैन,” फिलिपन्ससँगको मैत्रीपूर्ण फुटबल र भारतमा हुने दक्षिण एसियाको विश्वकप अर्थात साफ च्याम्पियनसिपका लागि बिदाई कार्यक्रममा नेपाली टिमका कप्तान किरण चेम्जोङले दिएको प्रतिकृया यस्तो थियो ।

उसो त नेपाल साफ च्याम्पिनयसिपको साविक उपविजेता हो । गत संस्करणको फाइनलमा भारतलाई ३–० ले नजिता सुम्पिएपछि नेपाल उपविजेता भएको थियो ।

फुटबलको सर्वव्यापी सिद्धान्तअनुसार साविक उपविजेताको हैसियतले पनि नेपाल प्रतियोगिताको दाबेदार हो । तर, नेपाली टिमका कप्तान किरणले भने नेपाललाई दाबेदारको सूचीमा राख्न चाहेनन् । किरणको प्रतिकृयाले नेपाली फुटबल पछ्याउनेहरूलाई भावनात्मक आहत पुर्‍याए पनि यो नेपालको वास्तविकता हो । तितो तर यथार्थ ।

Prabhu Bank
Agni Group
NIC Asia

सहिद स्मारक ‘ए’ डिभिजन लिग चलिरहेका कारण नेपाली टिमले अभ्यासका लागि नेपालमा दुई दिनमात्र पायो । लिगका दौरान एन्फाले खेलाडीलाई राष्ट्रिय टिमको बन्द प्रशिक्षण बोलाए पनि क्लबहरूले विरोध गरे ।

राष्ट्रिय टिमको अभ्यासका कारण लिगको प्रदर्शनमा असर पर्ने भन्दै क्लबहरूले खेलाडी लिग नसकिँदासम्म नछोड्ने अडान लिए । क्लबहरूको यो निर्णयप्रति एन्फाको जोर चलेन । एन्फाले लिग नसकिँदासम्मका लागि बन्द प्रशिक्षण स्थगित गर्‍यो ।

Global Ime bank

nepal 41686764357.jpg

किरणले नेपाली टिम उपाधि दाबेदार नहुनुको कारण पनि प्रस्ट्याए । “यसपटक दुई बलिया टिम (कुवेत र लेबनान) पनि थपिएका छन् । यसले गर्दा विगतको भन्दा प्रतिस्पर्धा अझ राम्रो हुन्छ । टिममा नयाँ खेलाडी छन् । अभ्यास राम्रो भएको छैन । टिममा तालमेल छैन । समूह पनि कठिन छ ।”

च्याम्पियनसिपमा यसपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा सात टिम रहे पनि यसपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ । तर, मध्यपूर्वका दुई आमन्त्रित मुलुक लेबनान र कुवेतको पहिलो सहभागिताले यसपटक च्याम्पियनसिप किरणले भनेजस्तै प्रतिस्पर्धा अझ रोचक हुने अनुमान छ ।

सहभागी आठ टिम एक समूहमा चार टिम रहनेगरी दुई समूहमा विभाजित छन् । समूह ‘ए’ मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । साविक विजेता, उपविजेता र बलियो कुवेतको उपस्थितिलाई हेर्दा यो समूहलाई ‘ग्रुप अफ डेथ’ पनि मान्न सकिन्छ । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपाली फुटबल भावनाबाट माथि उठेर हेर्ने हो भने कठिन समूहमा रहेकाले नेपाललाई दाबेदारको हैसियतमा नराख्ने किरण केही हदसम्म सान्दर्भिक पनि छन् । तर, नेपाल उपाधि दाबेदार बन्न नसक्नु यो एकमात्र कारण भने पक्कै होइन ।

विरक्तलाग्दो फुटबलको घरेलु संरचना र अझ डरलाग्दो ‘खेलाडी पलायन’ले नेपाली टिम च्याम्पियनसिपको दाबेदार बन्नै नसक्ने अवस्थामा पुगेको हो । खेलाडी विदेशिदा एक खेलाडी र टिमको कप्तानको रूपमा किरण आफै पनि विरक्तिएका छन् । सरकारले खेललाई प्राथमिकतामा नराख्दा र गतिलो योजना नहुनु खेलाडी पलायनको मुख्य कारण भएको बुझ्छन् किरण ।

kiran chemjong1686764361.jpg

उनी भन्छन्, “पटकपटक भनेका छौँ । गाह्रो छ । दिनप्रतिदिन खेलाडी विदेशिदै छन् । समय परिस्थितिअनुसार खेलाडी गए । सम्झन्दा दुःख लाग्छ । राष्ट्रिय टोलीको सदस्य बाहिर जाँदा अब के ? भन्ने लाग्छ । पीडा हुन्छ । प्रशिक्षकले खेलाडीलाई विश्वास गरेर टोली बनाएको छ । त्यो खेलाडी फेरि जान्छ कि भन्ने डर छ । कता कता के हुन्छ भन्ने डर लाग्छ । यस्तो अवस्थामा समर्थकले साथ दिएका छन् । अझै हौसला दिनुस् । सरकारबाट पनि समर्थन पाएन । योजना भएन । त्यसैले पनि विदेश गए । समर्थनले गर्दा खेलिरहन मन लाग्छ ।”

एन्फाले घरेलु फुटबलको संरचनालाई योजनाबद्ध र चुस्त नबनाउँदा ‘फुटबलमा भविष्य छैन’ भन्ने दृण मान्यताकै कारण नेपाली फुटबल खेलाडी पलायनको समस्याले आक्रान्त बनेको विषयमा दुईमत छैन ।

यसमा एन्फाको गम्भीर कमजोरी रहेको सर्वविदितै छ । यसैकारण एन्फा नेतृत्व अहिले प्रश्नै–प्रश्नहरूबाट घेरिएको छ । र, एन्फाका महासचिव किरण राई पनि संघ प्रश्नहरूबीच घेरिएको कुरा नकार्न सक्दैनन् ।

“नेपाली फुटबलमा एक खालको समस्या देखा परेको छ । प्रश्न आएको छ । खेलाडी र एन्फाले बोलेर भन्दा काम गरेर जवाफ दिनुपर्छ । कामले सबै जवाफ दिनुपर्छ । साफ सबैभन्दा ठूलो प्रतियोगिता हो । सिंगो देशले हेरेको छ,” महासचिव राई भन्छन्, “एन्फामाथि प्रश्न बढ्दा मानसिक तनावमा पर्नुपर्ने छैन । लिग सुरु गर्दा साफको मिति टुंगिएको थिएन । लिग सुरु भयो । ब्रेक गर्न ढिला भयो । मिति सार्न प्रस्ताव गरेका थियौ । भएन । तर खेलाडी फिट्नेसमा समस्या छैन । तालमेल अभाव हुन सक्छ तर अहिले सबै अनुभवी छन् ।”

nepal football1686764365.jpg

दाबेदारिता प्रमाणित गर्न नसकेको सदाबहार दाबेदार
साफ च्याम्पियनसिप सुरु भएकै तीन दशक पूरा भइसक्यो । सन् १९९३ देखि सुरु भएको प्रतियोगिताका हालसम्म १२ संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन् ।

च्याम्पियनसिपको हरेक संस्करणमा नेपाल दाबेदारको रूपमा गनिन्छ । तर, च्याम्पियनसिपको सुरुआतदेखि नै दाबेदारमा उभिएको नेपालले हालसम्म उपाधि घर ल्याउन सकेको छैन । यसअघि सन् २०२१ मा माल्दिभ्समा भएको १२औँ संस्करणको फाइनल पुग्नु नै च्याम्पियनसिपको ३० वर्षे इतिहासमा नेपालले पाएको सबैभन्दा ठूलो सफलता हो ।

यसबाहेक नेपाल एक पटक तेस्रो, दुई पटक चौथो स्थान (सन् १९९५, १९९९) र तीन पटक (२०११, २०१३ र २०१८) सेमिफाइनल प्रवेश गरेको छ । साफ च्याम्पियनसिपको उपाधि जित्नु नेपाली टिमको स्वर्णिम सपना हो । अझ नेपाली समर्थकका लागि त यसले ‘विश्वकप’ जत्तिकै महत्व राख्छ ।

कप्तान किरण भन्छन्, “मेरो मात्र हैन सबै नेपालको सपना हो साफ जित्ने । सरकार र संघबाट पाएको जति साथ र समर्थनका कारण पनि हाम्रो सोच साफ हो । एसिया कप सोच्न सकिन्छ तर टिम अझ, राम्रो हुनुपर्छ । सपना पूरा गर्न लडिरहेका छौँ । टाढिएको छैनौं ।”

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले पनि नेपाललाई दाबेदार राष्ट्र भन्न सकेनन् । उनी च्याम्पियनसिपमा राम्रो नतिजा निकाल्ने लक्ष्य रहेको बताउछन् ।

vinchenso alberto annes1686764357.jpg

“च्याम्पियनसिपमा ध्यान हुनेछ । हामी राम्रो नतिजा निकाल्ने प्रयास गछौँ । हामीसँग अझै अभ्यास गर्न पुग्दो समय छ । प्रतियोगिताअघि भारतमा तीन दिन अभ्यास गछौँ । मानसिक रूपमा तयार हुने प्रयास गछौँ,” प्रशिक्षक अल्बर्टो एनेस भन्छन्, “हामी राम्रो प्रदर्शन र नतिजा निकाल्न चाहन्छौँ । छनोट गरेको खेलाडीलाई विश्वास गर्छु । टिममा अनुभवी खेलाडी छन् । च्याम्पियनसिप मेरो लागि पहिलो हो । यसैकारण प्रतियोगिता मेरो लागि पनि महत्वपूर्ण छ ।”

उनले च्याम्पियनसिपमा खेलाडीले नेपालको प्रतिनिधित्व गरिरहेकाले समर्थकलाई टोलीको समर्थन गर्न आग्रह समेत गरे ।

अल्बर्टो एनेस थप्छन्, “सधै नेपाललाई समर्थन गर्नुस् । हामी तपाईको समर्थनमा विश्वास गछौँ । खेलाडीले राष्ट्रको प्रतिनिधित्व गर्दैछ । समर्थन गर्नुस् ।”

च्याम्पिनयसिपको लागि हाल नेपालले फिलिपिन्समा तयारी गरिरहेको छ । त्यहाँ नेपालले आज घरेलु टिमसँग एक अन्तर्राष्ट्रिय खेल खेल्दै छ ।

त्यसपछि नेपाली टिम फिलिपिन्सबाटै च्याम्पिनयसिपका लागि भारतको बैंग्लुरु प्रस्थान गर्नेछ । प्रतियोगिता असार ६ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालले असार ६ गते कुवेतसँग, असार ९ गते भारतसँग र असार १२ गते समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement