काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार सात दिनदेखि उकालो लागेको छ । नेप्से परिसूचकसँग कारोबार रकम पनि लगातार बढ्न थालेको छ ।
बुधबार नेप्से परिसूचक १६.४२ अंक बढेको छ भने पाँच अर्ब एक करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
यसदिन नेप्से परिसूचक ०.८१ प्रतिशतले वृद्धि भएर २०३७.०६ विन्दुमा बन्द भएको हो । मंगलबार परिसूचक ३४.१७ अंकले वृद्धि भएको थियो भने चार अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । एक दिनमा कारोबार रकम ८९ करोड रुपैयाँले बढेको हो ।
सेयर बजारमा पछिल्लो समय एक अर्बभन्दा कमको सेयर कारोबार भएको अवस्था पनि थियो । तर, लगानीकर्ता उत्साहित हुँदा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
कारोबार रकम पाँच महिनापछि पाँच अर्ब रुपैयाँ पार गरेको छ । यसअघि पुस २८ गते पाँच अर्बभन्दा बढीको कारोबार भएको थियो । त्यसयता कारोबार रकम घट्दै आएको थियो ।
यसदिन कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा ‘अन्य’ समूह रहेको छ । यस समूहको परिसूचक २.३५ अंकले वृद्धि भएको छ । सर्वाधिक परिसूचक घट्नेमा विकास बैंक समूह रहेको छ । यस समूहको परिसूचक ०.९६ प्रतिशतले घटेको छ ।
आज म्युचुअल फन्ड, ऋणपत्रलगायत २७५ धितोपत्रको एक करोड २५ लाख ६१ हजार ४४० कित्ता खरिद–बिक्री भएको छ । मंगलबार भने २७० धितोपत्रको एक करोड आठ लाख एक हजार ६९३ कित्ता खरिद–बिक्री भएको थियो ।
खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, सिटी होटलको सेयर मूल्य ९.९५ प्रतिशतले वृद्धि भएको छ । आज राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ । यस कम्पनीको सेयर मूल्य ५.६२ प्रतिशतले घटेको छ ।
यसदिन शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यस कम्पनीको २८ करोड १७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । हिमालयन डिस्टिलरीको २४ करोड ३३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।