काठमाडौं । खाडी मुलुक साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)ले इंग्लिस प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेडको स्वामित्व खरिद गर्दा विश्वभरबाट मिश्रित प्रतिक्रिया पायो ।
केही ठाउँमा समर्थक सडकमै निस्किएर खुसियाली मनाएका थिए । मानवअधिकारवादी संस्थाहरूले भने साउदी अरेबियाको शासन तथा नेतृत्वनजिकका व्यक्तिहरू गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनमा जिम्मेवार रहेको भन्दै विरोध गरे । किनकि, पीआईएफका अध्यक्ष मोहम्मद बिन सलमान साउदी अरबियाको युवराज र हालै चुनिएका नयाँ प्रधानमन्त्री समेत हुन् ।
प्रिमियर लिगकै पुरानोमध्ये एक क्लब न्युक्यासलको स्वामित्व खरिद, एलआईभी आमन्त्रित गल्फ शृंखला र प्रो लिग क्लब अल–नासरमा क्रिस्टियानो रोनाल्डोको अनुबन्धपछि खेलकुदसँग साउदीको बढ्दो संलग्नता ठूलो चर्चाको विषय बनेको थियो । मंगलबार मात्र साउदी प्रो लिगमा विश्व फुटबलको अर्को ठूलो नाम करिम बेन्जेमा पनि जोडिएका छन् । फ्रान्सका स्ट्राइकर बेन्जेमा रियाल मड्रिडबाट फ्री–एजेन्टमार्फत अल–इत्तिहादसँग अनुबन्ध भएका हुन् ।
यस्तै, एलआईभी गल्फ, पीजीए टुर र डीपी वर्ल्ड टुर मर्जर हुने समाचार सार्वजनिक भएको छ । यसले फेरि एकपटक खाडी मुलुक विश्व खेलकुदको केन्द्रमा छ ।
खेलकुदमा साउदीको बढ्दो लगानीलाई ‘स्पोर्ट्सवासिङ’ अर्थात् यसको माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा देशको छवि सुधार्ने प्रयासका रूपमा लिइएको छ । साउदी शासकका लागि खेलुकद मानवअधिकारसम्बन्धी खराब पाटोलाई छायामा पार्ने प्रयास मात्र भने होइन । यो उनीहरूका लागि राष्ट्रिय विकास रणनीति ‘भिजन २०३०’ को प्रमुख पक्ष हो । खेलकुद उनीहरूका लागि अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धमा सुधार, कूटनीतिक सम्बन्ध स्थापना र लगानीको प्रमुख पाटो पनि हो ।
त्यसैले त साउदीको पीआईएफले घरेलु लिगमा शीर्ष चार क्लबको स्वामित्व लिएको छ । ती चार क्लब हुन्, अल अह्ली, अल इत्तिहाद, अल हिलाल र अल नासर । पीआईएफले साउदीका यी चार क्लबको ७५/७५ प्रतिशत सेयर खरिद गर्नेछ । बाँकी २५/२५ प्रतिशत सेयर गैरनाफामूलक संस्थाका नाममा रहनेछ । उक्त संस्थाको नेतृत्वमा तिनै क्लबका सदस्य रहनेछन् ।
हुन त साउदीका सबै क्लब पहिल्यैदेखि त्यहाँको खेलकुद मन्त्रालयको अधीनमा छन् । अहिले यिनको सञ्चालन पद्धतिमा परिवर्तन गरिएको हो । तर, स्वामित्व परिवर्तन प्रक्रियाका बारेमा धेरै जानकारी सार्वजनिक गरिएको छैन ।
जे होस्, साउदीको मुख्य उद्देश्य घरेलु लिगलाई आकर्षक बनाउने नै हो । जसका कारण विश्व फुटबलमा ख्याति कमाएका खेलाडी साउदीका क्लबबाट खेल्न तयार होऊन् । र, तत्कालका लागि बनाइएको योजना हो – चर्चित २० खेलाडीको अनुबन्ध ।
साउदी पुग्ने कतिपय खेलाडीलाई विश्व खेल इतिहासमै सबैभन्दा धेरै तलब दिइनेछ । उनीहरूलाई तलब दिन मात्र एक अर्ब अमेरिकी डलर आवश्यक पर्ने देखिन्छ ।
साउदीको योजना घरेलु लिगलाई युरोपका ठूला लिगको उचाइमा पुर्याउने होइन । बरु, विश्व खेलकुद मञ्चमा आफ्नो प्रभाव बढाउने हो । ताकि विश्वकप २०३० को आयोजना अधिकार पाउन सकियोस् ।
फुटबलमा साउदी सरकारको प्रतिबद्धता
न्युक्यासल युनाइटेडको स्वामित्व लिनेदेखि पछिल्ला घटनाक्रमले खेलकुदमा साउदी अरबले गरेको लगानी स्पष्ट देखाउँछ । यो कुनै नौलो कुरा भने होइन । फुटबलमै गरिएको लगानी पनि अनौठो होइन । फुटबलका धेरै इतिहासकारलाई सन् १९९० को दशकको मध्यतिर सुरु गरिएको किङ फहद कपका बारेमा पक्कै पनि जानकारी हुनुपर्छ । तत्कालीन साउदी शासक फहद बिन अब्दुलअजीज अल साउदको नामबाट प्रतियोगिताको नामकरण गरिएको थियो ।
साउदीले सुरुमा प्रतियोगितामा सहभागी सबै टिमको खर्च व्यहोरेको थियो । ६ महादेशीय विजेता टिमलाई सहभागी गराउन सफल भएको थियो । राजधानी रियादमा उक्त प्रतियोगिताले तीन संस्करणसम्म निरन्तरता पायो । त्यसपछि फुटबलको सर्वोच्च निकाय फिफाले १९९७ मा आयोजना अधिकार आफूले लिएर यसको नाम परिवर्तन गर्यो । अहिले फिफा कन्फेडेरेसन कपका नामबाट यो निरन्तर सञ्चालित छ ।
तर, छिमेकी मुलुक यूएई र कतारलाई पछ्याउँदै युरोपियन फुटबलमा प्रवेश गर्न साउदीलाई दशकै लाग्यो । यूएईले २००८ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी र कतारले २०११ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को स्वामित्व खरिद गरेको थियो ।
२००८ मा सरकारी स्वामित्वमा रहेको साउदी टेलिकम कम्पनीले तत्कालीन प्रिमियर लिग र च्याम्पियन्स लिग विजेता म्यानचेस्टर युनाइटेडसँग दीर्घकालीन साझेदारी गरेको थियो । जब युनाइटेडले २०१७ मा साउदी अरबको जनरल स्पोर्ट्स अथोरिटी (जीएसए)लाई रणनीतिक साझेदार घोषणा गर्यो, बेलायती फुटबलमा सबैभन्दा सफल क्लब र साउदीबीचको सम्बन्ध अझ बलियो भयो । त्यसानुसार २० पटकको लिग विजेता युनाइटेड फुटबल उद्योगको विकासका लागि जीएसएलाई सघाउन राजी भयो । त्यो भिजन २०३० कै एक अंग थियो ।
सन् २०१९ मा सार्वजनिक एक रिपोर्टमा साउदीका युवराज मोहम्मद बिन सलमान म्यानचेस्टर युनाइटेडको स्वामित्व खरिद गर्न इच्छुक रहेको उल्लेख थियो । पछि पीआईएफका गभर्नर यासिर अल–रूमायानले पनि सलमानले कुनै नियन्त्रण नरहने गरी इंग्ल्यान्डको एउटा क्लबको ३० प्रतिशत सेयर किन्न प्रस्ताव गरेको खुलाए । त्यसका लागि ७० करोड पाउन्डको प्रस्ताव गरिएको थियो । उक्त क्लब म्यानचेस्टर युनाइटेड हो भन्ने विश्वास गरिन्छ ।
साउदीका खेलकुदमन्त्री युवराज अब्दुलाजिज बिन तुर्की अल फैजलले म्यानचेस्टर युनाइटेड वा लिभरपुलका लागि देशका कुनै पनि निजी क्षेत्रबाट बोली लागे सरकारले समर्थन गर्ने घोषणा गरेका थिए । २०२२ अक्टोबरको अन्त्यमा गरिएको त्यो घोषणाले पनि युनाइटेडमा साउदी लगानीको चर्चामा थप बल पुगेको थियो ।
साउदीमा निजी क्षेत्रको लगानीको अर्थ त्यहाँका शासकवर्गको प्रभाव रहँदैन भन्ने होइन । साउदीमा निजी क्षेत्रबाट शासकवर्गलाई छुट्ट्याउन निकै मुस्किल रहेको द एथलेटिकले खुलाएको थियो । साउदी राजपरिवारका धेरै सदस्य निजी क्षेत्रका कम्पनीमा सक्रिय रहेको तथ्य उक्त आलेखमा उल्लेख छ ।
शाही अदालतका सल्लाहकार र साउदी अरेबियाको सामान्य मनोरञ्जन प्राधिकरणका अध्यक्ष तुर्की बिन अब्दुल मोहसेन अल–शेखले २०२० मा स्पेनिस क्लब अल्मेरिया किनेका थिए । शाही परिवारका सदस्य अब्दुल्लाह बिन मुसैद अल साउद र साउदी अरेबियाको जनरल स्पोर्ट्स अथोरिटी (अहिले खेल मन्त्रालयका रूपमा चिनिन्छ)का पूर्वमहासचिवले पनि फुटबल उद्योगमा लगानी गरेका छन् । उनी सबैभन्दा धेरै अंग्रेजी क्लब शेफिल्ड युनाइटेडबाट परिचित छन् ।
आफ्नो आर्थिक र राजनीतिक परियोजनामा खेलकुदको प्रयोग गर्न चाहने कुनै पनि राष्ट्र र शासकका लागि निःसन्देश फुटबल पहिलो रोजाइ हुने गरेको छ । किनकि, खेलको ठूलो विश्वव्यापी पहुँच र हप्तैपिच्छे लाखौँ दर्शकलाई आकर्षित गर्ने क्षमता फुटबलले राख्छ । तसर्थ, साउदी अरबले २०१८ र २०१९ मा विश्वकै सबैभन्दा लोकप्रियमध्येका दुई प्रतियोगिता क्रमशः इटालियन सुपर कप र स्पेनिस सुपर कप आफ्नो देशमा आयोजना गर्न सम्झौता गरेको थियो । साउदीका लागि त्यो एउटा ‘स्कुप’ थियो ।
स्पेनिस फुटबल संघले साउदीसँग तीन वर्षका लागि स्पेनिस सुपर कप आयोजना गर्ने सम्झौता गरेको छ । हालै उक्त सम्झौता २०२९ सम्मका लागि नवीकरण गरिएको छ । त्यसका लागि वार्षिक तीन करोड ४० लाख अमेरिकी डलर स्पेनिस फुटबल संघलाई दिइने भनिएको छ । यी घटनाक्रमले क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा जस्ता सुपरस्टार साउदी पुगेका छन् ।
फिफासँग घनिष्ठ सम्बन्ध
२०२१ मेमा साउदी अरबले पुरुष र महिला विश्वकप प्रत्येक दुई वर्षमा गर्नका लागि फिफासामु प्रस्ताव गर्दा विश्वभरका खेलकुद सञ्चारकर्मीले यसलाई प्राथमिकताका साथ छापेका थिए । उक्त प्रस्तावलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले खुबै मन पराएका थिए ।
तर, यसको चर्को विरोध गरिएको थियो । विशेष गरी युरोपेली फुटबल महासंघ (यूईएफए), अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, दक्षिण अमेरिकी महासंघले उक्त प्रस्तावको विरोध गरेका थिए । सोही कारण इन्फान्टिनो तत्कालका लागि उक्त प्रस्तावलाई थाती राख्न बाध्य भए । तर, कतारमा विश्वकप २०२२ को समापन हुनासाथ फिफा अध्यक्ष इन्फान्टिनोले हरेक तीन वर्षमा पुरुष विश्वकप आयोजना गर्ने प्रस्ताव अघि सारेका छन् ।
पछिल्ला दुई वर्ष साउदीका शासक फिफा अध्यक्षसँग आफ्नो सम्बन्ध विस्तार गर्न सक्रिय छन् । र, २०२१ मा इन्फान्टिनो साउदी खेलकुद मन्त्रालयको एक प्रचारप्रचार भिडियोमा सामेल भएका थिए । यो विषयलाई लिएर एम्नेस्टी इन्टरनेसनलले इन्फान्टिनाको चर्को आलोचना गरेको थियो ।
२०२२ मार्चमा इन्फान्टिनोले फेरि एकपटक साउदी अरबको भ्रमण गरे । त्यति बेला उनले खेलकुदमन्त्री मोहम्मद बिन सलमान, राजकुमार अब्दुलअजीज बिन तुर्की अल–फैसल र साउदी अरब फुटबल महासंघका अध्यक्ष यासेर अल–मिशालसँग भेटेर ‘साउदी फुटबलको थप विकास र सम्भावित अवसरमा सहयोग गर्न सक्ने क्षेत्रहरूको समीक्षा’ गरेका थिए ।
२०२२ अगस्टमा इन्फान्टिनोले जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा बक्सर अलेक्जेन्डर उसिक र एन्थोनी जोशुआबीचको हेवीवेट बक्सिङ फाइटमा पनि सहभागी भएका थिए । इन्फान्टिनो त्यहाँ अतिथि मात्र थिएनन्, उनी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको छेउमै बसेका थिए । यी तथ्यले पनि फिफा अध्यक्ष र साउदीका शासकबीचको घनिष्ठ सम्बन्ध झल्किन्छ ।
यी भेटघाट यस्तो समयमा भए, जति बेला साउदी अरबले इजिप्ट र ग्रीससँग मिलेर २०३० को फिफा विश्वकप आयोजनाको दाबी पेस गर्ने तयारी गरिरहेको छ । र, साउदी अरब फुटबल संघले एएफसी महिला एसियन कप २०२६ को आयोजनाका लागि दाबी पेस गरेको छ । यस्तै, भारत बाहिरिएपछि २०२७ को एसियन कप आयोजनाका लागि साउदी एक मात्र दाबेदार बनेको छ ।
साउदीले आफ्नो महत्त्वाकांक्षी योजनालाई अघि बढाउने क्रममा विश्वकप विजेता अर्जेन्टिनाका सुपरस्टार लियोनल मेसीलाई पर्यटनदूत बनाउन सफल भएको छ । शाही परिवारबाट निकै प्रभावित क्लब अल–नासरले क्रिस्टियानो रोनाल्डोसँग दुई वर्षको सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
२०३० को फिफा विश्वकपका लागि साउदी अरबको दाबेदारीलाई लिएर पहिले नै धेरै आलोचना गरिएको छ । यो विषयमा ह्युमन राइट्स वाचका निर्देशक मिन्की वर्डेनले द गार्जियनसँगको अन्तर्वार्तामा भनेका छन्, फुटबलमा सबैभन्दा धेरै हेरिने प्रतियोगिता साउदीलाई दिनु हुँदैन । महिला, पत्रकार, तेस्रोलिंगी समुदाय र खेलका सबै प्रशंसकले आफ्नो अधिकारको सम्मान नहुने देशमा कसरी यति ठूलो प्रतियोगिता आयोजना हुनसक्छ भनेर विरोध गर्नुपर्छ । जहाँ मानवअधिकारको पूर्ण रूपमा उल्लंघन गरिएको छ, त्यहाँ खेलाडीहरूले प्रतिस्पर्धा गर्ने अपेक्षा गर्नु हुँदैन । यदि, साउदीले विश्वकपको सहआयोजक पाउँछ भने त्यसले फिफाको मानवअधिकार नीतिहरूलाई हानि पुर्याउनेछ । र, साउदी अरबको बढ्दो दमनलाई पुरस्कृत गर्नेछ । साउदी यो प्रस्ताव रातो कार्ड देखाउन योग्य छ ।”
तेलमा धनी, खेलकुदमा धनी
साउदी अरेबियाको ‘भिजन २०३०’ को एउटा प्रमुख उद्देश्य तेलको राजस्वमाथिको निर्भरता घटाउन आफ्नो आर्थिक संरचनालाई रूपान्तरण गर्नु पनि हो । सरकारी स्वामित्वको तेल कम्पनी अरामकोले रुसको आक्रमणपछि धेरै पैसा कमाएको छ । युक्रेनको तेल र ग्यासको मूल्यले आकाश छोएको छ । सन् २०२२ को दोस्रो त्रैमासिकमा अरामकोको नाफा ९० प्रतिशतले बढेको छ ।
२०२० मा अरामकोले फर्मुला वनसँग दीर्घकालीन विश्वव्यापी प्रायोजन सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । यो कम्पनीको एस्टन मार्टिन रेसिङसँग रणनीतिक साझेदारी पनि छ । एस्टन मार्टिनमा पनि पीआईएफ प्रमुख सेयर होल्डर हो ।
फर्मुला वनबाहेक साउदी अरबले हालैका वर्षहरूमा फर्मुला ई, एक्स्ट्रिम ई, र प्रतिष्ठित डकार र्याली आयोजना गर्ने सम्झौताका साथ मोटर स्पोर्ट्सका अरू क्षेत्रमा पनि उल्लेखनीय लगानी गरेको छ ।
खेलकुदमा साउदीको महत्त्वाकांक्षामा एलआईभी गल्फ अन्तर्राष्ट्रिय शृंखला र गल्फ फ्ल्यागसिप पनि एक हो । यसमा पनि अरामको र पीआईएफ दुवैको धेरै स्वामित्व छ । साउदीले महिला गल्फ प्रतियोगिता आयोजना गर्ने र महिला खेलकुदलाई प्रवर्द्धन गर्ने दृढ इच्छा देखाएको छ । यसबाट साउदीले देशमा महिला अधिकारसम्बन्धी प्रश्नका जवाफ दिने प्रयास गरेको छ ।
खेलकुदको राजनीतिक रणनीतिमा निकै सक्रिय भूमिका खेल्ने अरामकोले क्रिकेटमा पनि हात हालेको छ । २०२२ अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलसँग अरामकोले प्रायोजन सम्झौता गरेको थियो । अरामकोले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पनि प्रायोजन सम्झौता गरेको समाचार बाहिरिएको छ ।
यसकारण साउदी अरब अर्थतन्त्रलाई विविधिकरण गर्न चाहन्छ । खालि तेलको मात्र भर पर्न चाहँदैन । त्यसकारण उसले फुटबलबाहेक अरू खेलमा पनि ठूलो लगानी बढाएको छ ।